काठमाडौं । पुरानो जमानामा पनि लकडाउन र महामारी प्रतिरोधका कामहरू हुने गरेको भेटिन्छ । मानिसहरू महामारीबाट बच्न केकस्ता उपाय अपनाउने गर्थे ? आज त्यसको सोधखोज हुनथालेको छ ।
पुरानो काठमाडौँमा महामारी
राजधानी काठमाडौँमा पुरानो जमानामा हैजा फैलिरन्थ्यो भनी इतिहासले बताउँछ । वि.सं. १९४० ताका काठमाडौँ ‘शहर’ भन्नु असन–इन्द्रचोक क्षेत्रको डेढ किलोमिटर सेरोफेरोमा बसोबास गर्ने करिब ५० हजार जनसंख्या थियो । राणाहरूका दरबार बन्न थालेपछि शहर फराकिलो हुँदैगएको हो । साँघुरा गल्लीमा मलमूत्र मिसिएको दुर्गन्धित कालो लेदो बगिरहेको हुन्छ भनी ब्रिटिश रेजिडेन्स (राजदूताबास) मा कार्यरत डाक्टर जी. एच. जिमलेटले उल्लेख गरेको कुरा, ‘कीराले नेपालको इतिहास बदलिदियो’ भनी लेख्ने टोम रोबर्ट्सनले ‘नेपाली टाईम्स’ अँङ्ग्रेजी साप्ताहिक (मार्च २१, २०२०) मा लेखेका छन् ।
वि.सं.१९३० को हैजाले दिनहुँ दुईसयदेखि अढाईसय जनासम्मको ज्यान जाने गथ्र्यो भनी उनले उल्लेख गरेका छन् । वि.सं. १९१३ र १९३० को हैजाबाट सबभन्दा धेरै मानिसको ज्यान गएछ ।
पहिले भारतीय उपमहाद्विपमा हैजाको विश्वब्यापी महामारी थिएन, पहिलो हैजा विश्वमहामारी (पेन्डेमिक) सन् १८२० मा बंगालमा फैलिएको र त्यसले एकलाख मानिसको ज्यान लिएको पाईन्छ । दशहजारको संख्यामा ब्रिटिश भारतका सैनिकहरूकै ज्यान गएको रहेछ । १८६५ देखि १९१७ सम्ममा भारतमा हैजाले मर्नेहरूको संख्या २३ लाख थियो ।
त्यो बेलादेखि १९६२–६६ सम्मको विश्वब्यापी महामारी हैजाका विकराल घटना सातपटक भए जसमा एकैपटक बिसौँलाख मानिसको ज्यान जाने गथ्र्यो ।
त्यो जमानामा व्याप्त भईरहने महामारीमा टाईफाईड, डिस्पेन्सिया, गलगाँडका साथै यौनरोग सिफिलिस भएको इतिहास देखिन्छ भने महामारीमा बिफर, दादुरा, हैजा, आउँ, आदि वर्षेनी भईरहन्थ्यो । २०३४ सालमा आएर मात्र बिफर उन्मूलन भयो ।
त्यसअघि बिफरका दाग मुखभरि भएका र बाबुआमाको आशौच बारेर सम्पूर्ण सेता लुगा लगाएका मानिसहरू प्रशस्तै देखिन्थे । वि.सं. १९४२ को हैजा उत्पातसँग फैलिनुमा अशिक्षा र चरम अन्धविश्वास मूख्यरुपमा छँदैथियो, भारतमा पठाउन जम्मा गरिएको १५ हजार नेपाली सेनाका जवानहरू बिमारी पर्न थालेकोले पनि रहेछ । हैजाको पछिल्लो डरलाग्दो महामारी २००५ सालको महामारी हो । महामारीमा मरेकालाई घाट लैजान मानिसहरू रोग सर्ने डरले मान्दैनथे ।
त्यसताका एकैपटकको महामारीमा काठमाडौँका ५० हजार जनसंख्यामध्ये ९ हजार मानिसले एकैपटकको महामारीमा ज्यान गुमाए । दाहसंस्कार गर्ने घाट र दाउराको समेत भयानक अभाव मच्चियो । दाउराको अभाव वा काँचा दाउरामा लाशहरू आधा जलेकै अवस्थामा नदीमा फ्याँकिदिने विवशता थियो भने जनतामा हाहाकार र रुवाबासी मच्चिएको थियो ।
ब्रिटिश रेजिडेन्स डाक्टर जिमलेटले बिमारी जाँच गर्न ठाउँठाउँमा जाँचकेन्द्र खोल्नुपर्छ अत्यन्त जरुरी आग्रह गर्दा पनि तत्कालीन राणा दरबारले वास्ता नगरेको विवरण जिमलेटका टिप्पणीहरूलाई उद्धृत गर्दै रोबर्ट्सनले लेखेका छन् । दरबारका ३ सय कामदार र परिवारमध्ये धेरैलाई हैजाले भेट्यो र एकैसाँझ २५ जनाको ज्यान गयो । ती सबैजसो नोकर–नोकर्नीहरू थिए । यस्ता महामारीहरू हरेक वर्ष नै उत्पन्न हुनेगर्थे ।
वि.सं. १९९० को महाभूकम्प अर्को महाविनास हो, जसमा नेपालमा करिब आठ हजार मानिसको मृत्यु भयो । घाईते भएकालाई अस्पतालमा उपचार पाउन त के पुरिएका मानिस वा बेवारिश अवस्थाका लाश उठाउने समेत ब्यवस्था थिएन । तर भूकम्पको एकहप्ताभित्रै फर्पिङ्मा स्थापित एकमात्र विद्युत केन्द्रबाट विद्युत आपूर्ति भएपछि मानिसहरूमा आसा र उत्साहको सञ्चार भएको थियो ।
वीर अस्पतालको कथा
वीर अस्पताल एलोप्याथिक विधाको नेपालमा सबभन्दा पुरानो अस्पताल हो । राणा प्रधानमन्त्री वीर शम्शेर रोगी भएकोले बि.सं. १९४५ (सन् १८८८) मा ‘प्राइममिनिष्टर’ भएपछि आफूलाई उपचार गराउनको लागि बिसं. १९४७ मा रानी पोखरीनेर आजको राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थानको भवन) भएको स्थानमा ‘पृथ्वी बीर’ नामसहितको तीस शैयाको एक अस्पताल स्थापना गरे । यो नाम तत्कालीन राजा पृथ्वी बीर बिक्रम शाह र वीर शम्शेरको नामबाट लिइएको थियो ।
१९५६ सालमा तिनले २–३ पिन्ट रगत वान्ता गरेका थिए, जुन रोगलाई बनारसको ‘कच्छा बाबा’ भनिने एक योगीले उपचार गरेका थिए । उनलाई रगत बान्ता हुने बिमार बारम्बार बल्झिरह्यो र ‘एन्युरिज्म्’ फुटेर उनको मृत्यु भएको थियो ।
त्यसभन्दा अघि तत्काल उपचार चाहिए ब्रिटिश भारतीय रेसिडेन्सीमा रहेको सानो अस्पतालबाट सहयोग लिने गरिन्थ्यो । थापाथली दरबारमा आजको सिंहदरबार वैद्यखाना थियो । तर त्यहाँको औषधी र कविराजको सेवा सर्वसाधारणका लागि खुला थिएन । वीर अस्पतालको डाक्टरमा भारतबाट झिकाइएका डा. गाङ्गुली लगायतका अन्य भारतीय थिए ।
बि.सं. १९७८ सालमा कोलकाताबाट सिद्धिमणि आ.दी.ले एम्बीबीएस् पास गरेपछिमात्र पहिलो नेपाली डाक्टर देशले पाएको थियो । बेलायती प्रभावको भिक्टोरियन आर्किटेक्टको शैलीमा वीर अस्पतालको भवन बनाइयो । त्यसैगरी ‘पृथ्वी बीर अस्पताल’ का नाममा देशका अन्य भागमा पनि अस्पतालहरू स्थापना गरिएको थियो ।
बीरगञ्ज, जलेश्वर, हनुमाननगर (राजविराज), नेपालगञ्ज र तौलिहवा यसका उदाहरण हुन् ।काठमाडौँको खोकनामा कुष्ठरोग केन्द्र स्थापना गरियो ।
शुक्रराज ट्रपिकल अस्पताल
टेकुस्थित शुक्रराज ट्रपिकल अस्पताल पहिले वीर अस्पतालको ‘हैजा अस्पताल’ नाममा थियो । कालान्तरमा संक्रामक रोग अस्पतालका रूपमा स्थापित गरियो । बि.सं. १९४७ मै स्थापित उक्त सक्रामक रोग अस्पताललाई २००७ सालपछि शुक्रराज ट्रपिकल तथा संक्रामक रोग अस्पताल भन्ने नामाकरण गरियो र त्यसलाई टेकुमा आज स्थापित स्थानमा ल्याइएको हो । बि.सं १९६१ सालमा चन्द्र शम्शेर शिकारका लागि सिमरा (बारा) जाँदा हैजाले भेट्टाएपछि उनले भक्तपुरमा ‘चन्द्रलोक अस्पताल’ स्थापना गरेका थिए ।
सामाजिक दूरीको ईतिहास
चिकित्सा सेवाका जनक, हिप्पोक्रेट्सले ईसापूर्व ४१२ मा सर्वप्रथम ईन्फ्लूएन्जा (रुघा–खोकी) को वर्णन गरेका थिए । तर यसले महामारीको रुपमा हजारौँ मानिसको ज्यान लिने गरेको ऐतिहासिक रेकर्डमा पाईन्छ । त्योबेलादेखि नै महामारीबाट बच्न घरबाट बाहिर ननिस्कने वा मानिसको संसर्गबाट दूर रहने गरेको पाईन्छ ।
१९१८ तिर क्यानाडा र अमेरिकामा फैलिएको स्पेनिश फ्लूको महामारीका बेला क्यानाडा (ब्रिटिश कोलम्बिया प्रान्त) को दक्षिणवर्ति केलोना शहरका मेयर सदरल्याण्डले स्कूल, कलेज, थिएटर, रंगशाला आदि बन्द गर्न लगाएको यो आपतकालीन सूचनाले पुष्टि गर्छ । यो पनि आजजस्तै आईसोलेसन र एकप्रकार लकडाउन नै हो ।
अर्को यस्तै सूचना हेर्नुहोस चुम्बन गर्न मनाही गरिएको । अमेरिकाको अलाबामा राज्यमा पर्ने मोबाईल सहरले पनि १९१८ कै स्पेनिश फ्लूबाट बच्न चुम्बन (किस) नगर्न निर्देशन जारी गरेको देखिन्छ ।
बसाईँसराईद्वारा नयाँ मुलुकमा आएका मानिसले रैथाने मानिसहरूमा रोग संक्रमण र महामारी फैलाएको इतिहास पाईन्छ । ब्रिटिश सेनाका कमाण्डर जेफ्री एमहस्र्ट र स्वीस–ब्रिटिश अफिसर कर्णेल हेनरी बुके संलग्न भएको भनिएको सन् १७६३ को इन्डो–फ्रेन्च युद्धमा बिफरका संक्रामक कम्बल बाँड्ने (षड्यन्त्रको) पत्राचार भएको उल्लेख पनि ईतिहासमा पाईन्छ ।
अस्ट्रेलियामा बेलायतीहरूको प्रवेश सँगै बिफरलाई त्यहाँका एब्ओरिजिन (आदिवासी) लाई तह लगाउने हतियारका रुपमा उपयोग गरिएको आदिवासी नेताहरू आजसम्म पनि दोष दिने गर्छन् ।
आज त औषधी विज्ञानले चमत्कारिक विकास गरेको, चेतना र ज्ञानको विकास भएको र विश्वस्वास्थ्य संगठन ९ध्ज्इ० जस्ता अन्तर्राष्ट्रिय संगठनहरू क्रियाशील भएकोले कुनै पनि महामारी उपायहिन र असहाय रहँदैन । खाली मानिसको लापरवाही, हठ, अतिआत्मविश्वास र नेतृत्वको मूर्खताले गर्दा परिस्थिति बिग्रन्छ । हालको कोरोना भाईरमा पनि यही विशेषता देखा पर्दैछ । नेतृत्वले लापरवाही गर्दा अमेरिकाजस्तो महाशक्तिमा, जनसमुदायले हठ र हेल्चेक्राईँ गर्दा ईटलीमा यसको बढ्ता मार परिरहेको छ भने भारतमा पनि कतिपय जनसमुदायको मूर्खता र जबरजस्तीको कारणले पनि यति पनि बढ्नु नहुने कोरोना भाईरस महामारी दिनानुदिन बढिरहेको छ ।
भारतीय सञ्चारमाध्यम र अमेरिकाको ट्रम्प प्रशासन आज कोरोना भाईरसको विश्वब्यापी महामारी फैलिने मूख्यकारण चीनको सुनियोजित षड्यन्त्र र विश्वस्वास्थ्य संगठन WHO को चीनपरस्त पक्षपात हो भन्ने आरोपको वर्षा भईरहेको छ भने चीनलेचाहिँ अमेरिकी सेनाले चीनमा सारेको दोष लगाईरहेको छ ।
यसरी यस विश्व महामारीले अबाञ्छित राजनीतीकरण पाउन थालेको छ, जसको दीर्घकालीन असर र पूर्वाग्रही मानसिकता विकसित गर्ने चिन्ता छ ।
(स्वास्थ्यसम्बन्धी विभिन्न स्रोत र आफ्नै टिपोटका आधारमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया