डा. भिम रावलसँग अन्तर्वार्ता : महामारीसँग लड्न सरकारको ‘पर्फमेन्स’ चित्तबुझ्दो छ ?

काठमाडौं – सत्तारुढ नेकपाका स्थायी समिति सदस्य डा. भीम रावल नेकपाभित्र फरक मत राख्ने र सत्ता पक्षभित्रकै प्रतिपक्षको रुपमा समेत परिचित नेता हुन्। देश लकडाउन भएको २५ दिन पुगेको छ । महामारीबाट बच्नको लागि सरकारले लगातार लकडाउनको समयावधि थप गरेको छ र आगामी वैशाख १५ गतेसम्म लकडाउनमा नै रहने छ ।

कोरोना भाइरसको संक्रमितहरुको संख्या दिनानुदिन बढ्दो छ । देशैभरबाट क्रमिक रुपमा संक्रमितहरु पहिचान हुन थालेका छन् । हरेकको मनमा संशय बढ्न थालेको छ कतै कोरोना भाइरस वरपर त छैन यसैगरी लगातारको लकडाउनको प्रभाव पनि समाजमा देखा पर्न थालिसकेको छ ।

एकातिर गरिब र दैनिक ज्यालादारीमा निर्भरहरुको जीवन दिनप्रतिदिन कष्टकर हुँदै गएको छ अर्कोतर्फ बजारमा न्यूनतम उपभोग्य वस्तुहरुको बिस्तारै अभाब देखिन थालेको छ । सरकारले र्‍यापिड टेष्ट बढाउने प्रयास त गरेको छ तर साधन श्रोतको अभाव छ । यसका कारण आजसम्म सरकारले आवश्यक स्वाथ्य सामग्री भित्र्याउन सकेको छैन ।

लकडाउनको समयमा राहत वितरणमा समेत सरकारको व्यापक आलोचना भैरहेको छ । बालुवाटारमा लगातार बैठकहरु जारी छन् । प्रधानमन्त्रि र मन्त्रिहरुको ठुला ठुला आश्वासन आइ नै रहेका छन् । आश्वासनले पेट नभरिने हुनाले नै सायद लकडाउन र सरकारी निषेधको अवज्ञा गर्दै दिनहुँ हजारौँ मजदुर र गरिब तहका नेपालीहरु पैदल नै आफ्नो आफ्नो थातथलो तर्फ लागि रहेका छन् ।

इतिहासकै बलियो भनिएको सरकारको पर्फर्मेन्स लाइ डा भीम रावलले कसरी मुल्यांकन गरिरहनु भएको छ ? लोकपथ डटकमले उहाँको मत बुझ्ने प्रयास गरेको छ । प्रस्तुत छ, नेकपाका स्थायी समिति सदस्य डा. भीम रावलसँग लोकपथ डटकम ले गरेको विशेष अन्तर्वार्ताको पूर्ण अंश : 

कोरोना भाइरसको संक्रमणको कारणले अहिले नेपाल एउटा अत्यन्त नाजुक ‘क्राइसिसमा’ पुगेको छ र यस्तो बेला नेपाल सरकारले यसलाई व्यवस्थित गर्न चालेका कदम र हालसम्म भएका पहलहरु लाई यहाँले कसरी हेर्नु भएको छ ?

अहिलेको यो विश्वव्यापी महामारी कुनै देशको मात्रै समस्या रहेन । अहिलेसम्मको तथ्याकं हेर्ने हो भने २१ लाख ८३ हजार बढी व्यक्तीहरु संक्रमित भएका छन् । एक लाख ४६ हजार बढीको मृत्यु भइसकेको छ । विश्वव्यापी रुपमा नेपालीहरु पनि संक्रमणमा रहेको थाहा पाएको छु । देशभित्र पनि संक्रमितको संख्या थपिँदो क्रममा रहेका देखिरहेका छौँ । यस्तो स्थितिमा सरकारले जुन बन्देजको अवस्था (लक डाउन)घोषणा गरेको छ । यो बाहेक अन्य उपाय पनि थिएन । र सँगसँगै यो बन्दको अवस्थामा स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने तयारी, खासगरी स्वास्थकर्मीलाई देशव्यापी रुपमा व्यवस्थापन गर्ने, ती स्वास्थ्यकर्मीहरुलाई व्यक्तीगत सुरक्षा उपकरण उपलब्ध गराउने, त्यस क्षेत्रमा खटिने कर्मचारीहरुलाई सुरक्षित रुपमा खटाउने, ती क्षेत्रमा खटिने सुरक्षाकर्मीहरुलाई कसरी सुरक्षित खटाउन सकिन्छ, त्यसका लागि के कस्ता उपकरणहरु आवश्यक पर्छन् त्यसको व्यवस्थापन गर्ने, यस्ता उपकरणहरु कहाँबाट ल्याउन सकिन्छ ल्याउँदा कुनै प्रश्न नउठ्नेगरी नियमित प्रक्रिया अगाडि बढाएर समुचित प्रबन्ध गर्ने र सँगसँगै आपूर्ति प्रणाली अस्तव्यस्त नहोस् भनेर यसलाई व्यवस्थीत बनाउने कामहरुलाई एकीकृत रुपमा अगाडी बढाउनुपर्छ भन्ने मेरो धारणा हो । सरकारले गरेका कतिपय कामहरु यसतर्फ उन्मुख छन् । तर अझै कतिपय सुधारहरु गर्नुपर्ने, कतिपय कामहरु व्यवस्थित गर्नुपर्ने कुरा कतिपय ठाउँमा घटेका घटना र भइरहेका कामहरुबाट देखिन्छ ।

अहिलेसम्म सरकारले औपचारिक रुपमा मेडिकल उपकरण समेत ल्याउन सकेको छैन सय दिन बढी भैसक्यो कोरोना प्रकरणको । यत्रो गौरवशाली ईतिहास भएको तपाइहरुको पार्टी र इतिहासकै बलियो भनिएको सरकार छ । तपाईको पार्टीको यो भन्दा कमजोर पक्ष के हुनसक्छ ?

यसलाई पार्टीको कमजोरीका रुपमा लिन मिल्दैन । किनभने पार्टीले सामान किन्ने होईन, पार्टीले स्पष्ट रुपमा देशको स्वाधिनता, स्वतन्त्रता, जनताको हितमा काम गर्ने भनेर राजनितिक प्रतिवद्धता घोषणा गरिसकेको छ । यो काम सरकारले गर्ने हो। सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गर्ने नेतृत्व गर्ने व्यक्तीहरुले गर्नुपर्ने काम हो । अब यसमा सरकारले किन ल्याएन, सरकारको नामबाट किन भएन, यस सम्बन्धमा तपाईले सरकारलाई नै सोध्नुहोस्, मैले थाहा पाउने कुरा भएन । हामीले बाहिरबाट के कुरामा जोड दिन्छौँ भने सम्बन्धित व्यक्तिलाई सुझाब दिन्छौँ, जुन हामीले अहिले समय पाएका छौँ, अझै हाम्रोमा महामारीको रुपमा व्यापकता भएको छैन । यो सुखद पक्ष हो । सुखद पक्ष छ भन्दैमा चुप लागेर बस्ने वा प्रभावकारी रुपमा काम नगरेर भोलि ठूलो समस्या आइसकेपछि कर्तव्यविमुख हुने त्यस्तो स्थिति हुन दिनुहुँदैन भनिराखेका छौँ । अब सरकारले किन ल्याएन किन विलम्ब भयो यो सम्बन्धित व्यक्तिहरुलाई सोध्नु भएदेखि तपाईहरुबाट हामीले पनि सूचना पाउथ्यौँ ।

आज यस्तो घडिमा यत्रो ठूलो संघर्ष गरेर आएको पार्टीको सबैभन्दा ठुलो त्रुटि नै भनेको आन्तरीक सञ्चार (इन्टरनल कम्युनिकेशन ) राम्रो हुनुपर्नेमा यो बेलामा ‘कम्युनिकेशन ग्याप’ देखिएको छ । बालुवाटार ग्रुप भर्सेस अदर्श जस्तो यो के हो त ?

यसका दुई वटा पक्ष छन् । एउटा पक्ष के भने यस्तो अफ्ठयारो परेको बेलामा हाम्रो पार्टीका जिम्मेवार नेताहरुबाट सामुहिक विवेक, वुद्धि लगाउने र त्यसको माध्यमबाट यस्तो बेलामा सम्पूर्ण पार्टीलाई के गर्न सकिन्छ र के गर्नपर्ने हो दिशानिर्देशित गर्ने र सँगसगै राजनितिक दलहरु र अरु क्षेत्रलाई पनि यसबाट दिशा निर्देशित गर्ने काम प्रभावकारी रुपमा गर्नुपर्छ भन्नेमा कुने शंका छैन। कसैको मतभेद हुन सक्दैन । यसको लागि मैल धेरै अगाडि के भनेको थिए भने सचिवालयको बैठक बस्नुपर्छ, त्यहाँ गहन छलफल हुनुपर्छ । सरकारले यस सम्बन्धि गरेका सम्पूर्ण राम्रा कामहरुको प्रंशसा गर्नुपर्छ, जहाँ कमजोर र सुधार गर्नुपर्ने देखिन्छ त्यस सम्बन्धमा छलफल गर्ने र त्यो अनुसार जाने र यस्तो बेला सरकारले जुन निकायहरुलाई परिचालन गरेको छ । अहिले संसारभर कोरोनाको महामहारी फैलिरहेको छ र विभिन्न देशले विभिन्न अनुभवहरु बटुलिरहेका छन् । अहिले भारतमा एघार हजार बढी संक्रमित पुगेका छन् । झण्डै चार सय जनाको निधन भइसकेको छ । अहिले हाम्रो सिमाना अन्तर्राष्ट्रिय कानून बमोजिम नियमन नभइरहेको अवस्था हो । यद्यपी अहिले बन्द छ । यो स्थितिमा जुन तपाइले भन्नु भएको स्थिति छ, त्यसलाई सामुहिक बल वृद्धिबाट सामना गर्नका लागि जसरी हामी जानुपर्ने हो, त्यसरी भइराखेको छैन । तर यो बेलामा धेरै टिप्पणी गर्ने वा समिक्षा गर्ने भन्दापनि मैले आफ्नो ठाउँबाट देखेको समस्या र कमीहरु सम्बन्धित व्यक्ती र निकायको ध्यानकर्षण गराउने काम गरेको छु ।

यो लोकपथ डटकमले तपाईसँग गरिरहेको अन्तवार्ता नेकपाको नेताको रुपमा भन्दा पनि एउटा राम्रो पफरमेन्स गरेको पावरफूल पूर्व गृहमन्त्रीको रुपमा पनि गरिरहेको छ । आजको दिनमा हामी ‘क्राइसिस’मा परिसकेका छौ, क्राइसिस म्यानेजमेन्टको फर्रम्याटमा यो सरकार गइरहेको छ कि छैन? 

अब मैले राजनैतिक जीवनमा जे जस्तो जम्मेवारी लिएर अनुभव हासिल गरेको र एउटा देशभक्त नागरिकको रुपमा भन्नुपर्दा कुनै पनि संकट आएको बेलामा अत्यन्त गम्भिर भएर आफ्नो सम्पूर्ण क्षमता, विवेक र वृद्धिको प्रयोग गर्नुपर्छ । त्यो भनेको एक पार्टीको शक्ति र क्षमतालाई परिचालन गर्नुपर्छ जति सकिन्छ, सीमाभित्र रहनुपर्ने अवस्था त होला अहिलेको अवस्थामा । अनि राष्ट्रिय क्षमता कति छ रु त्यो सम्पूर्ण रुपमा व्यवस्थित रुपमा परिचालन गर्नुपर्छ । राष्ट्रिय हित र जनताको हित र सुरक्षालाई सर्वोपरी राखेर अगाडि जानुपर्छ । अब त्यो दिशामा कसरी कार्यन्वयन भइरहेको छ मलाई वृस्तित जानकारी नभएकाले भन्न सक्ने अवस्था छैन। समाचार माध्यमबाट जे जति प्राप्त गरेको छु । सम्बन्धित जिम्मेवार निकायका व्यक्तीहरुसँग कुराकानी गर्दा त्यहाँबाट थाहा पाएका जानकारीका आधारमा मात्र विचार बनाउनसक्छु । यस्तो अवस्थामा मैले बन्देजलाई उल्लंघन गरेर काँही गएर केही गर्ने अवस्था पनि आएन। म अनुशासनमा बस्नुपर्छ । निर्देशन मान्नुपर्छ । अहिले मेरो सुझाब के छ भने सरकारले अहिले विशेष रुपमा देश बाहिर भएका काम र देशभित्र भएका कामको ठन्डा दिमाखले समीक्षा गर्ने, टिप्पणीकार के भन्दैछन् ? जनता के भन्दैछन्? आलोचकहरु के भन्दैछन्? त्यसको विश्लेषण गर्न एउटा प्रभावकारी टिम बनाउने, किनकी मन्त्रीहरु आफ्नै काममा व्यस्त हुनुहुन्छ, । यो विश्लेषणको आधारमा तथ्यको आधारमा सरकारलाई सुझाब दिने काम गर्यो भने राम्रो हुन्छ । सरकारले गरेको पनि हुनसक्छ, मलाई थाहा नभएको पनि हुनसक्छ। यदि गरेको छैन भने यसो पनि गर्यो भने राम्रो हुन्छ। यो भित्र जनस्वास्थयसँग सम्बन्धि कुरा, उपकरणपूर्ती गर्ने देखि लिएर जनशत्ती परिचालान र व्यवस्थित गर्नेदेखि लिएर आपूर्ति व्यवस्थादेखि राष्ट्रिय सुरक्षासम्म यसभित्र पर्छ ।

जनस्वास्थ, राष्ट्रिय सुरक्षा र आपूर्ति व्यवस्था र क्राइसेको समय यसको लागि गृहमन्त्रालय अन्तर्गत डिजास्टर मेकानिजम हाम्रो छ । अहिले त्यसलाई चलाइरहेको छैन । त्यो पो चलायमान बनाउनु पर्ने थियो होइन र ? पोलिटिकल हाइट भन्दा एक्स्पिरियन्स पो काम लाग्ने हुन्थ्यो नि ! 

त्यो त अवश्य चलाउनुपर्छ, त्यसको नामै विपत् व्यवस्थापन समिति, विपत्तको बेला परिचालन हुँदैन भने कहिले हुने ? मैले यस सम्बन्धमा सम्बन्धित व्यक्तीहरुसँग कुरा पनि गरेको थिए। जस्तो प्रधानमन्त्री स्वयंम्बाट एउटा बैठकको आह्वान गरेर एउटा बैठक त गर्नुभयो। जसमा विपक्ष दलको नेता शेर बहादुर देउवा पनि हुनुहुन्थ्यो भन्ने हामीले समाचारबाट थाहा पायौँ । त्यो छलफल भएको राम्रो हो। त्यो सँगसँगै प्रधानमन्त्रीको माथिल्लो तहको नेतृत्व र त्यो अन्तर्गत गृह प्रशासनले विपत् व्यवस्थापनको लागि संचालन गर्नुपर्ने जुन कुरा छ , त्यो कुरालाई पनि सँगसँगै अगाडि बढाउनुपर्छ, यसलाई अघि बढाउन सकिएन भने विपत् व्यवस्थापनको बेला निर्वाह गर्नुपर्ने भुमिका पुरा हुन सक्दैन ।

अर्को कुरा हाम्रो देशभरको प्रशासन यन्त्र गृह प्रशासनबाटै संचालिन हुने हुँदा त्यहाँ प्रमुख जिल्ला अधिकारीहरु हुनुहुन्छ ।

जिल्ला जिल्लाका प्रहरी प्रमुखहरु हुनुहोला । क्षेत्र क्षेत्रमा प्रदेश प्रदेशमा हेर्ने प्रहरी प्रमुख हुनुहुन्छ । अब उहाँहरुलाई राम्ररी परिचालन गर्नका लागि पनि बरु अहिले यो कोराना विपत्तिसँग ज’ध्नको लागि जुन उच्चस्तरीय समिति बनाइएको छ । बरु उहाँहरुले विपत्त व्यवस्थापनको माध्यमबाट त्यसलाई पनि समन्वय गरेर जानुभयोभने मलाई लाग्छ विपत् व्यवस्थापनमा छुट्टै बजेट पनि हुनुपर्छ ।

किनभने गत आर्थिक बर्षमा त्यो बजेट विपत् परिआउँदा कहाँ कहाँ कति लाग्छ भनेर त्यहाँ रकम पनि होला । त्यसकारण त्यहाँ समन्वय गरेर आफूसँग भएका संयन्त्रलाई परिचालन गरेर अगाडि जानु नै राम्रै हुन्छ ।

अब आपूर्ति र राहतमा यहाँको ध्यानाकर्षण गर्न चाहन्छु । सामान्यतया यो गर्ने भनेको वाणिज्य मन्त्रालयले हो। तर क्राइसेसमा कसले गर्नुपर्छ र कसरी गर्नुपर्दछ या हामी भारतको जस्तो लाखौँ लाख मान्छे सडकमा उत्रने जस्तो स्थिति कुरीरहने ? हामीसँग तरीकाहरु त छन् ? र देश म्यानेजेवल छ ? 

हामीले आपूर्ति प्रणालीलाई सुव्यवस्थीत गर्नका लागि सम्बन्धित मन्त्रालय, त्यसमा आवश्यक पर्ने अन्य निकायहरु, संकटको बेलामा अन्तरमन्त्रालय समन्वयको आवश्यक पनि हुनेगर्छ, एउटा मन्त्रालयले मात्र गरेर नहुने पनि हुनसक्दछ, यदि त्यो मन्त्रालयले गरेर हुने स्थिति छ भने त्यसले गर्ने एक्लै गरेर संभव छैन भने अरु मन्त्रालयलाई पनि समन्वय गर्नेुपर्छ ।

पहिलो कुरा त के हेर्नुपर्यो भने हाम्रो देशको समग्र उत्पादनको स्थिति अहिले के छ हामी बेलाबेलामा सम्बन्धित मन्त्रीले भनेको सुन्छौ । जनताका दैनिक उपभोग्य वस्तुहरुमा हामीसँग यति यति मौज्दात छ, भनेको सुन्छौ। उहाँहरुलाई सबै जानकारी होला, भयो भने राम्रो। अहिले गहुँबाली काट्ने बेला भो अब हामी हाम्रा उत्पादनहरुलाई कति परिचालन गर्न सक्छौ विराटनगरको भर्खर मैले समाचार सुनेको थिए ।

भारतबाट तरकारी आइरहेको छ । तर आफ्नै मोरङ जिल्लाको तरकारी सडिरहेको छ। यो स्थिति हुनु भएन। मैले कैलालीको केराको कुरामा पनि सम्बन्धित मन्त्रीहरुको ध्यानकर्षण गराएको थिए । हामी भारतबाट तरकारी फलफूल ल्याइरहेका छौ, चीनबाट पनि आइरहेको छ । तर आफ्नै देशको टिकापुरको केरा लाखौँको क्षति भएको उत्पादकहरुले भनिरहेका छन् । त्यस्तै कुखुरा दाना उत्पादकहरुले भनिरहनु भएको छ । कुखुरापालक, दुध उत्पादक भनिरहनु भएको छ । यसकारणले गर्दा आपूर्ति प्रणालीलाई हाम्रो मौज्दात र हाम्रो देशभित्रको उत्पादनलाई कसरी जनताको घरदैलोमा पुग्ने वातावरण बनाउने पहिला प्राथमिकता दिनुपर्यो । अनिमात्र दोस्रोमा बाहिरबाट ल्याउन कुरालाई सोच्नुपर्छ ।

मान्नुहोस् कि भोलि यो संकट अझै एकदमै व्यापक भएर गयो भने त भारतबाट आउने सामान नआउने स्थिति पनि हुनसक्दछ । अनि आफ्नो देशको उत्पादन कहाँ कहाँ छ त्यसलाई कसरी बजारमा पुर्याउने, कसरी जनताको घरदैलोमा पुर्याउने निश्चित योजना त हुनपर्यो नि । यसकारण यो आपूर्ति प्रणाली भनेको रोगसँग ज’ध्नको लागि मान्छेले सँगसँगै अन्नपानी त खानुपर्यो । अब अहिले कुखुरापालक, माछापालक, गाईभैसीपालक, बाख्रापालक उहाँहरुको स्थिति के छ भन्ने कुराको अध्ययन गरेर के भइरहेको छ भन्नेमा पत्रकार साथीहरुले पनि खोतलखातल पारेर बाहिर ल्याएको कमै पाएको छु। यो मान्छेको जीवनसँग जोडिएको कुरा हो। आपूर्ति प्रणालीलाई यी सबै कुरालाई ध्यान दिएर एकीकृत रुपमा भयो भने भोलिको अफ्ठयारोमा पनि जुद्धने सामथ्र्य राखौँला ।

यद्यपी चुनौती कुन रुपमा आउँछ त्यो भन्न सकिँदैन। सँगसँगै एउटा कुरा सम्बन्धित व्यक्ति र निकायमा मैले यो भन्दा पहिलो पनि के भन्दै आएको छु भने अब अहिले गहुँ बालि भित्राउने बेला भयो । त्यो गहुँबाली भित्र्याउनका लागि सरकारले सहजीकरण त गर्दिनुपर्यो नी।

कतिपय ठाउँमा अहिले धानको बिऊ राख्नुपर्ने बेला भयो, कतिपय ठाउँमा मकै छर्ने बेला भयो, यि सबै बिषयलाई सम्बन्धित मन्त्रालय आपूर्तिले गर्ने हो की, कृषिले हो कि, एकिकृत समन्वय आवश्यक पर्ने हो कि त्यो गनुपर्छ । गरेको हो भने राम्रै हो गरेको छैन भने यसतर्फ सम्बन्धितले ध्यान दिनुपर्छ ।

एक महिनाको लकडाउनमा परिसक्यौ हामी,  बैशाख १५ सम्म । तपाई आफैँले भन्नुभयो आपूर्ति र राहत कुरो जुन निक्कै कमजोर देखिएको छ । रोग भन्दा भोकको डर छ । यदि सहि ढंगले राहत प्रदान गर्न नसके आज लुरुलुरु आफ्नो घर फर्किदै गरेको जनता नै विरोधमा ओर्लिनेछन् । देशभरि राहत व्यस्थापन त्यो पनि लामो समयसम्म सुरक्षा निकाय कसरी कुन मोडालिटीमा परिचालन गर्नुपर्ने हुन्छ सबै खाले संकटको पुर्वानुमान र आँकलन त अहिले नै गर्नुपर्ने होइन र ? 

मैले तपाईंलाई अघि नै राष्ट्रिय सुरक्षाको कुरा गरेँ । त्यो जहिले पनि प्राकृतिक प्रकोप र अप्ठ्यारो आयो भने सुरक्षाको चुनौती सँगसँगै गाँसिएर आउँछ । त्यो बुझ्नुपर्छ ।

यो जुनसुकै देशमा हुन्छ । आफ्नै अनुभवबाट हामीले बिगतमा बुझिसकेका छौँ । यो प्रमाणित कुरा हो । त्यसका लागि एक त सुरक्षा स्थितिमा चुनौती नआवस् भन्नका लागि अहिले हामीले भनेका कुरालाई निर्देशति गरेर लैजानुपर्यो र जनताको सरकार माथिलो भरोसा र विश्वास टुट्ने गतिविधि कहिँ कतै पनि हुनु भएन । चाहे त्यो भ्रष्टाचार सँग सम्बन्धित भएर आवस् चाहे त्यो आपूर्तिसँग सम्बन्धित भएर आओस् ।

जनताले सरकारले गर्दा गर्दै यो हुन नसकेको हो भन्ने बुझे भने चित्त बुझाउँछन् । जस्तो नाकाबन्दि भयो । भारतले नाकाबन्दि गरेको छ । त्यहाँबाट सामान ल्याउन दिएको छैन । औषधि छैन, पेट्रोलियम पदार्थ छैन भनेर जनताले हामी पटुका कस्छौ सरकारले खुट्टा टेकोस् भनेर एकजुट भए ।

जनता त्यसरी दृढ भए। अब अहिले पनि सरकारले सबै कुरा व्यवस्थित रुपले लगेर जनतालाई सबै कुरा जानकारी गराएर यो महामारी हामीले जुन छलफल गर्यौँ, तदनुरुप गयो भने जनताले एक छाक खान नपाएर दुख पाए भने पनि गर्दागर्दै भएन त भनेर चित्त बुझाउँछन् । त्यसकारण राष्टिय सुरक्षा र सामाजिक सुरक्षाको कुरा गर्दा सबै भन्दा पहिले अघि मैले औँल्याएको कुरा ध्यान दिनु पर्यो ।

दोस्रो हाम्रो जुन सुरक्षा प्रणाली छ । जसभित्र प्रशासन , सेना, प्रहरी, अनुसन्धान विभाग ति सबै पर्छन् । यी सबै हाम्रो जति क्षमता छ, सिमानादेखि लिएर हाम्रो सिमानादेखि लिएर समाजमा त्यस्तो परिहाल्यो भने के के हुन् सक्छन त भन्ने कुरालाई ध्यानमा राखेर हामीले त्यस अनुरुपको योजना बनाउनुपर्छ ।

म रक्षा मन्त्रालयमा रहँदाखेरि वर्तमान प्रधानमन्त्री नै प्रधानमन्त्री हुनुहुन्थ्यो । हामीले त्यतिखेर राष्ट्रिय सुरक्षाका नीतिको योजना घोषणा गर्यौँ। अब, पछिल्लो समयमा उपप्रधानमन्त्रि हुनुहुन्छ रक्षामन्त्री उहाँले त्यसलाई पुनरावलोकन गरेर जारी गरिएको छ, भनेर भनिएको छ । यद्यपि मैले त्यसलाई हेर्न पाएको भने छैन । मैले उक्त योजना हेर्नलाई मागेको थिए । अहिलेसम्म मेरो हातमा परेको भने छैन । अब त्यो राष्ट्रिय सुरक्षा जस्तो कुराहरुलाई सक्रिय पार्ने जुन तपाइले जुन संरचना, कुन खाकाभित्र काम गर्ने भन्नुभयो । त्यो राष्ट्रिय सुरक्षा नीति के का लागि रु यस्तै अफ्ट्यारोका बेला हाम्रो सम्पूर्ण राष्ट्रिय सुरक्षालाई खाका भित्र राखेर हेर्नका लागि न त्यो सुरक्षा नीति चाहिएको हो ।

अब त्यो राष्ट्रिय सुरक्षा नीति कहाँ छ त अहिले ?

हामीले त्यतिबेला राष्ट्रिय सुरक्षाको नीति अघि सार्यौँ । म आफैँ त्यसमा व्यापक रुपले संलग्न थिए । जसमा राष्ट्रिय सुरक्षा भन्नाले महामारीसँग जुध्नेदेखि लिएर आपूर्ति प्रणालीदेखि लिएर हाम्रा सबै सुरक्षा निकायलाई आपत परेका बेला परिचालन गर्ने कुरादेखि लिएर प्राकृतिक प्रकोपसँग जुध्ने र हाम्रो राष्ट्रिय सम्पतिको सुरक्षा गर्ने सम्पूर्ण कुरा पर्दछन् । राष्ट्रिय सार्वभौँमसत्ता, राष्ट्रिय स्वाधीनता, अखण्डताको कुरा त पर्ने नै भयो ।

त्यो खाका त हामीसँग छ नि त । हामी सँग कानूनका खाकाहरु छन् । हामी सँग बिभिन्न सुरक्षा प्रणालीले बिभिन्न समयमा बनाएका उनीहरुका सुरक्षा खाकाहरु छन् ।

त्यो खाकाहरुलाई वर्तमान संकटलाई ध्यानमा राखेर र कुनै कुरा मिलाउनु छ भने त्यसलाई मिलाउनुपर्यो । हैन भने स्पष्ट रुपमा सरकार अगाडी बढ्दा दुविधा हुनुभएन । दुविधा रहित हिसाबले सरकार अगाडी बढ्नु पर्छ ।

राहतमा कुहिएको चामल बाँडिएको छ । पाउनुपर्नेले पाएका छैनन् । नेकपा जस्तो एक एक जनताको घरदैलोको रेकर्ड राखेर जनसम्पर्कको कारण विशाल भोट ल्यायौ भन्ने पार्टीको सरकार हुँदा समेत राहत वितरण को सुरुवाती चरणमै यस्तो कमजोरी कसरी ? 

तपाइले भनेको कुरा अवश्य पनि हो । नेपाल कम्युनिष्ट पार्टीको व्यापक रुपमा जनस्तरमा सम्बन्ध, संगठनशक्ति , सामुहिक बल बुद्धि भएरै त्यसले आफुलाई यहाँसम्म अगाडी बढेको हो र त्यसमा जनताले पनि साथ दिएका हुन् । त्यसमा दुइ मत छैन ।

अहिले जहाँसम्म ठाउँठाउँमा कुहिएको खाध्यान वितरण गरेको कुरा आएको छ । सम्बन्धित ठाउँको हाम्रो पार्टीलाई अवश्य पनि त्यसको जानकारी हुनुपर्ने हो । र अब त्यसको लागि त मैले सुरुमा अघि भने हाम्रो केन्द्रिय नेतृत्वले जुन निकाय र संयन्त्र छ त्यसले हाम्रा पार्टीका सम्पूर्ण अगुवाहरुलाई त्यस अनुसारको दिशा निर्देशित गर्ने हो । या सामुहिक छलफल हुनुपर्ने हो । सामुहिक बल ब’द्धिबाट कामहरु अगाडी बढाउनुपर्यो ।

मैले अघि आरम्भ मै भने । दोश्रो, यो कुरा अगाडी आइसके पछि यो सहि हो भने । तथ्यका अधारमा सम्बन्धित निकायले यस्तो गर्नेहरुलाई तत्काल कानूनी कार्बाही गर्नुपर्यो । कार्बाही गरेर देखाउनु पर्यो र त्यो नेपाली जनताले थाहा पाउनुपर्यो ।

प्रष्ट कुरा गरौँ न । सरकारले अहीलेसम्म गरेको कामलाई दश नम्बरमा कति नम्बर दिन हुन्छ तपाई ? 

म अहिले यस्तो संकटको बेला सरकारको मुल्याङ्कन गर्न चाहन्न । यो त्यसका निम्ति उचित समय हैन । मैले यो संकट आउनुभन्दा अगाडी यस बिषयमा पर्याप्त बोलेको छु । जतिबेला केन्द्रिय कमिटिको बैठक बसेको थियो, त्यसबेला र त्यो भन्दा अगाडी पनि सरकारका सम्पूर्ण काम र गतिबिधिका बारेमा हामी समिक्षा गरौँ भने मैले भनेको थिए । अब अहिले यो यस्तो बेलामा म हामी कोहि पनि त्यसरी सरकारको समिक्षा गरेर समय खेर नफालौँ भन्छु ।

सरकारले गरेका असल कामहरुलाई हामी समर्थन गरौँ । जहाँ कमीकमजोरी हुन्छ, त्यसलाई औल्याऔँ । भ्रष्टाचार हुन्छ भने त्यसलाई कारबाहीको माग गर्न आवाज उठाउ ।

ठिक छ, आलोचना वा समिक्षा नगर्नुहोस् तर नागरिकको हक र हित रक्षाको लागि दबाब त दिनुहोस् ।

त्यो त अहिले मैले तपाईंसँग सुरुदेखि बोलिरहेका जतिपनि कुराहरु छन् । त्यसलाई दबाब भनौन । सरकारले राम्रो काम गरोस् भन्ने आशय बाट अहिलेको यो संकटको चुनौतीसँग जुध्नको लागि हामी सक्षम बनौ भनेर मैले त्यत्रो सुझाबहरु दिएको हो ।

लोकपथको माध्यमबाट सम्पूर्ण जनतालाई के सन्देश दिन चाहनुहुन्छ ? 

हामीले गत २०७६ सालको अन्त्यमा आईपुग्दा यत्रो ठुलो महामारीको सामाना गर्नुपर्यो । हामी अहिले २०७७ आरम्भमा प्रवेश गरेका छौँ । यो स्थितिमा म सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई सबैभन्दा पहिले यो कोरोना संक्रमण कसैलाई नलागोस् । यसबाट सबैजना मुक्त हौँ र यो वर्ष विगतको जस्तो अनेक प्रकारका चुनौती, अनेक प्रकारका आलोचना गरिरहनुपर्ने स्थिति अबको वर्षमा नहोस् ।

हामी हाम्रो राष्ट्रिय हितलाई सर्वोपरी राखेर, जनताका भावना, सुरक्षालाई सर्वपरीमा महत्व दिएर सबैजना अगाडी बढौँ ।

यो चुनौतीको घडीमा हामी एकजुट भएर आफू पनि बच्ने र अरुलाई पनि बचाउने भावना लिएर सबै नेपाली जनता अगाडी बढौँ भनेर हार्दिक आग्रह गर्न चाहन्छु ।

र यो, चुनौतिको क्षणमा नेपाल सरकार राज्यका सम्पूर्ण अंगहरु सबै राजनैतिक दल तथा सम्पूर्ण जनसमुदाय कोरोनाको संक्रमण बाट हाम्रो सिंगो देशलाई बचाउनको लागि हामी सबै सफल बनौ यहि मेरो हार्दिक शुभकामना छ र यहाँ र यहाँको संचारमाध्यमलाई पनि म यहि सुभेक्षा दिन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?