चितवनका २ कोरोना संक्रमितसँग सम्पर्कमा आएकाहरुको पहिचान शुरु

काठमाडौं । शुक्रवार दुई जनामा कोरोना संक्रमण देखिएसँगै जिल्ला प्रशासन कार्यालय चितवनले उनीहरुको सम्पर्कमा आएका अन्य मानिसहरुको पहिचान गर्न लागेको छ । कोरोना संक्रमित दुई जना गत चैत ३ गते कतार एयरवेजमार्फत बेलायतबाट हङकङ हुँदै नेपाल आएका थिए ।

उनीहरु नेपाल आएसँगै दुई दिन काठमाडौंमा नै बसेको पत्ता लागेको छ । उनीहरु जिल्लाको राप्ती नगरपालिकाका बासिन्दा हुन् । उनीहरु नेपाल आएर सम्पर्क गरेका मानिसहरुको पहिचान थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यस्तै संक्रमणको जोखिम थप जोखिम नहोस भन्नको लागि जिल्लामा लकडाउन थप कडा बनाइने पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

साथै कोरोना संक्रमितका परिवारको सदस्य संख्या ठुलो भएका कारण पहिचानको लागि कठिन भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

संक्रमितको परिवारका सदस्यलाई अहिले होम क्वारेन्टाइनमा बस्न भनिएको र बुद्ध शान्ति कलेजमा छुट्टै क्वारेन्टाइन बनाएर राखिने तयारी भएको छ ।
उनीहरुको बुधबार ¥यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा शङ्कास्पद देखिएको थियो । उनीहरुलाई तत्कालै भरतपुर अस्पताल ल्याइएको थियो ।

बिहीबार उनीहरुको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण गर्दा राति शङ्कास्पद नतिजा आएसँगै शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पुनः परीक्षण गरिएको थियो ।

पुनःपरीक्षणका क्रममा दुबै जनामा नै कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?