काठमाडौं – कोरोना भाइरस संक्रमणको त्रास र यसबाट बच्न अहिले देश पूर्ण लकडाउनमा छ । यसको विकल्प पनि छैन तर ४ हप्ता लामो लकडाउनको ठुलो ‘साइड ईफेक्ट’ भनेको गरिब एवम् दैनिक ज्यालादारी र मजदुरी गरेर जीवन गुजारेका मानिसहरुको भोक देखिएको छ । सरकारले वडा वडाबाट राहत वितरणको प्रयास गरेको त छ तर यो सहज र व्यवस्थित हुन सकिरहेको छैन। एकतिर जनतामा भोक र अभावको कारण चरम असन्तुष्टि बढ्दो छ अर्कोतर्फ सहि व्यस्थापन गर्न नसक्दा जनप्रतिनिधिहरुसँग चरम अविश्वास र आक्रोश पैदा हुन थालेको छ ।
हजारौँ जनता लकडाउनको बेवास्ता गर्दै पैदल हिँडेर आफ्नो थातथलोतिर लागेका छन्। भोकै बस्नु भन्दा पैदल हिंड्न विवश भएका छन्, मानिसहरु। अर्कोतर्फ बाँडिएका राहतमा पनि अनियमितता र भ्रष्टाचारको आरोप लागेका छन् । सडेगलेका खाद्य सामग्री र कुहिएको चामल वितरण भएका समाचार देशैभरिबाट आइरहेका छन् ।
सरकार किन मौन छ ? किन निरिह जनताको दुखमा ? राहतको मलम लगाउनबाट किन यति नराम्ररी चुक्दैछ सरकार ? यो गम्भीर प्रश्न भएर उठ्न थालेको छ । लोकपथ डटकमले उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडसँग यसको जवाफ माग्ने प्रयास गरेको छ । राज्यमन्त्री दुगड भन्छन् – कोहि नेपाली भोकै रहनुपर्दैन ११८० र ११३१ नम्बरमा जानकारी दिनुस् सरकारले राहत पुर्याउँछ ।
प्रस्तुत छ, उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडसँग लोकपथ डटकमले गरेको अन्तर्वार्ताको सम्पादित अंश :
मन्त्रीज्यू, लकडाउनमा देश गएको पनि अब त ४ साता पुग्न थालिसक्यो । अझैसम्म पनि सरकारले राहत वितरणलाइ सुव्यबस्थित पार्न सकेको छैन, हरेक दिन सरकारको आलोचना तिव्र हुँदै गएको छ , दुर्गमको त के कुरा राजधानी लगायत मुख्य सहरमा नै राहत वितरणमा चुकेको देखिन्छ । सरकार किन संवेदनसिल हुन सकिरहेको छैन ?
काठमाडौँ महानगरपालिकाले ४८ हजार मानिसलाई राहत बाँडेको छ । अहिले पनि २ लाखभन्दा बढीलाइ उपत्यका भित्रका १८ वटा नगरपालिकाले राहत दिएको छ । कोहि भोकै परेको छ भने ११८० र ११३१ नम्बरमा जानकारी दिन सक्नुहुन्छ । तपाईहरु जस्तो पत्रकार मित्रहरुले समस्या परेको हैन कि समस्या समाधानको उपाय बताउनुहोला । यदि भएन भने स्थानीय सरकार मार्फत जानकारी गराउनुहोला, मेरो अनुरोध छ ।
तपाई बिजनेस कम्युनिटीबाट आउनुभएको र तपाईलाई डिस्ट्रिब्यूसन म्यानेजमेन्ट राम्रोसँग थाहा भएको हुनाले प्रश्न यो थियो कि आजको दिनसम्म आइपुदा पनि उचित तरिकाले डिस्ट्रिब्युसन किन गर्न सकिरहेका छैनौँ ?
म्यानेज नभएको कुरा तपाईले मात्र भनेर भएन, दुइ लाख भन्दा बढी मान्छेलाई उपत्यका भित्रका १८ वटा नगरपालिकाले राहत दिएको छ । जनताले अहिलेको राहतमा नपाउने केहि मान्छे छन् भने ल्याउनुहोस् । त्यसमा एक छाक खानको लागी तपाईलाई अफ्ठ्यारो छ भने त्यो पनि समाधान गर्न तयार छु । त्यसको लागी तपाईहरुले धेरै ठाउँ हैन, काठमाडौं उपत्यका भित्र १८ वटा नगरपालिका छन् । यहाँनेर चाहिँ यो कुरा महत्वपूर्ण छ भनेर इन्डिकेट गर्नुहोस् । घर धनि को हो ? वडा नम्बर र उसको डिटेल्स सोध्नुपर्यो ।
काठमाडौंको मात्रै होईन समग्र नेपालको कुरा गरौँ न ।
ओभरअल नेपालमा पनि म तपाईलाई के भन्छु भने, ६ हजार ७ सय ४३ वटा वडाहरु छन् । २९३ वटा नगरपालिकाहरु छन् र ४६० गाउँपालिकाहरु छन्। यसमा पनि कोहिँ त्यहाँ त्यस्तो समस्यामा परेका छन् भने मलाई जानकारी गराउनुहोस् । यकिन चाही तपाइले गर्नुहोस् । एउटा घरधनि चाहियो । घरधनि बसेको वडा चाहियो । नगरपालिकाको नाम चाहियो । त्यो चाहि ल्याउनुहोस् । म त्यो ठाउँबाट सजिलो हुनेगरि प्रयास गर्छु ।
त्यसोभए स्टकको कुरा गरौँ न । नेपाल सरकारले अहिले कमन, मिनिमम फुड ग्रेन को स्टक कसरी राखेको छ कुन लेवलको फुड स्टक कसरी गरिरहेको छ र त्यसको म्यानेजमेन्ट कसरी भैरहेको छ र तपाइको कुरो लाई पत्याउने आधार के हो ?
अहिले सम्म यति जना भोकै बसिरहेको छ भनेर तपाई र सबै मिडियाले भन्दै आएको छ । तर गाह्रो छ । म भोकै बसे भनेर कसैले भनेको छैन अहिलेसम्म । त्यसकारण जुन स्टकको कुरा गर्नुभयो खाद्यवस्तुको तपाईले याद गर्नुहोला सरकारले ४ महिनासम्म पुग्ने खाद्यवस्तु हामीसँग छ । दसैँ र तिहार आएजस्तो खाने र मोजमस्ती गर्ने बेला हैन यो । यसको लागी अलिकति चाहि धैर्य राख्नुपर्छ । यो धैर्य भनेको के हो भने लकडाउनमा बसीदिने र खाना कहाँनेर पुग्दैन प्रत्येक वडाको प्रत्येक टोलमा प्रत्येक गाउँमा तपाईको सरकार छ ।
सरकारलाइ तपाइहरुले जानकारी गराउनु पर्नेछ घरमा बसेर मलाई चाहिँ केहि पनि ल्याइदेन भन्ने कुरा नगर्नुहोला । ७५३ वटा स्थानीय सरकारको ६७४३ वटा वडा छन् । ति वडामा तपाईहरु आ आफ्नो वडामा जानकारी गराउनुहोस् । कुनै ठाउँमा त्यसरी नपुगेको खण्डमा तपाईले त्यहाँनेर आइडेण्टिफाई नै गर्नुहोला । कति कहा, के र कुन वडा यहाँ यो भएन भनेर भन्नुभयो भने म सम्बोधन गर्छु । तर आजको दिनमा अफ्ट्यारो छ भने पहिला वडा अध्यक्षलाइ सम्पर्क गर्नुस् हुँदै भएन भने मलाई फरवार्ड गर्नुहोस् म समाधान गर्छु।
।
सडेगलेको समानहरु वितरण भैरहेको छ नि, कुहिएको चामल बाँडीएको छ । त्यसमा खुसी हुनुहुन्छ तपाईहरु यो खबर तपाइँसम्म आईपुग्दैन कि, फिल्टर भएर जान्छ ?
दुइचार जना भ्रष्टाचारी हुन्छन् । त्यो भ्रष्टाचारीको मात्र कुरो होइन सिङ्गै जनप्रतिनिधि लागेका छन्, यसलाई व्यवस्थित गर्न । एकदुई ठाउँमा त्यस्तो भएको छ । भएको छैन भन्दिन म । यो चाहिँ आमरुपमा बिश्वब्यापी रुपमा सत्य चलाउनुभएन । त्यस्ता ठाउँलाई हामीले निरुत्साहित गर्नुपर्छ । त्यस्तो नहोस् भन्ने चाहना राख्नु पर्छ । तपाई हामी सबै पत्रकार मित्रहरु मिलेर यसलाई निरुत्साहित गरेर रोक्नुपर्छ । त्यस्तो गर्नेलाई तत्काल सरकारले कारबाही गर्छ ।
यदि लकडाउन लामो समयसम्म गर्नुपर्ने अवस्था भएमा राहत प्रदान गर्ने कि, जिन्सी राहत दिने कुन सहि हुन सक्छ, यसमा तपाइको राय के छ ?
अहिले लकडाउनको विषयमा हामीले गर्न सकेको मात्र गर्नुपर्छ । यो मुलुकको मात्र हैन । विश्वको लागी लकडाउन नै छ अहिले , यसलाई राज्यले चाहि एक छाक कसरी मान्छेलाई खान नपाईकन बस्ला कि, भन्ने चिन्ता छ । यो चिन्ताको बिषयमा पुर्याउन या त लिन आउने त्यसकारण वडा वडामा बाढी रहेको हो । अहिलेसम्म तपाईले सुन्नु भएको छैन होला मलाई लाग्छ, केहि ठाउँमा चाही निस्तेज भएको कुरा तपाइले सुन्नुभएको होला । आम नागरिकहरुले अहिले भोकै बस्न परेको छैन । त्यो यदाकदा भएको कुरालाई हामी ठुलो नभनौँ । त्यस्तो रहेछ भने त्यसलाई सम्बोधन गरौँ । घर पुर्याउँदा पनि अहिले सबैभन्दा नजिकको रुपबाट अभिभावकको रुपबाट स्थानीय सरकार नै हो । स्थानिय सरकारलाई नै परिचालन गर्न सरकार एकदम मजबुतिका साथ लागिपरेको छ । उपत्यका भित्रमात्र सबैभन्दा धेरै जनसंख्या भएको यो ठाउँमा दुई लाख भन्दा बढी परिवारलाई राहत वितरण गरिसकिएको छ । यसरी चाहि देश भरिको सबै वडाहरुमा करिब कुनै वडामा २० होला कुनैमा १० होला कुनैमा ५ होला, १०० भन्दा काम कुनैमा राहत वितरण गरेको छैन । यसरी हेर्दा अहिले मलाई लाग्छ सबैले पर्याप्त रुपमा नभए पनि अहिले बाच्ने अधारमा चाहि स्थानीय सरकारले गरेको काम छ ।
मिस लिडिङ इन्फर्मेसन हो की, हामी चाहि मिसलिड भैरहेको हो । एउटा हाँस्यास्पद स्थिति के हो भने टोल टोलमा भएको पसल खोल्न सकिएको छैन । पुलिसले बन्द गर्दिन्छ । यहि बेलामा भाटभटेनी भने २४ घण्टा खुल्छ भन्ने सूचना आउँछ। यो मेरो प्रश्न होइन प्रत्येक घर घरमा अहिलेको विषय नै यहि छ । कस्तो म्यानेजमेन्ट प्लानिङ्ग हो यो ?
अब यस्तो हो, हेर्नुहोस् अलिकति समय दियो ७ बजे देखि ९ बजेसम्म त्यो त खुल्लै छ । त्यो पर्याप्त भएन भनेर सरकारले सोचेको छ । केहि कुरा अगाडी पछाडी लाने कुराहरु हुँदैछन् । यो पसलको व्यवस्था चाहीँ अहिले ९ बजे खुलिरहेको पसलको व्यवस्थापन पुगेन भने पनि कहाँकहाँ पुगेन त्यसको पनि रेखदेख गर्नुपर्यो हेर्नुहोस । अब छरपस्टै खोल्यो भने पनि संक्रमण फैलिएला कि भन्ने सबैभन्दा ठुलो डर छ । यो सवालमा केहि समय बिस्तारै केहि अफ्ट्यारोहरु आउन सक्ला त्यो भन्दा खेरि समय अनुसार यसलाई सुलभ बनाइन्छ र तोकिएको समयको सदुपयोग गर्नुपर्छ जस्तो मलाई लाग्छ ।
अब म नेपालको उद्योग व्यवसाय जगततर्फ तपाइको ध्यानाकर्षण गराउन चाहन्छु, एफएनसिसिआइ, सीएनआइ र च्याम्बर लगायतका प्रतिनिधिहरुसँग तपाईको कत्तिको छलफल र कुराकानी भैरहेको छ ? उनीहरुले जुन माग गरिरहेका छन् ? अब त ‘स्यालरी टायम ‘पनि भइसक्यो । स्यालरी दिन सक्दैनौ भन्ने कुरा पनि आइरहेको छ । यसमा तपाइले कुन किसिमको भूमिका खेल्दै हुनुन्छ । तपाइको बुझाइ कस्तो छ ?
यो बिषयचाहिँ अब, माथिको कमिटिबाट जान्छ । प्रधानमन्त्रिको स्तरबाट जाने हुन्छ । देशभरिकै उद्योग वाणिज्यहरु छन् ,अरु अरु पनि छन् । अब, निर्यात आयातका मानिसहरु छन, व्यापारीहरु छन, ठुलठुला उद्योगपतिहरु छन् । र विश्वकै इतिहासलाई हामीले आफूलाई जोगाईरहनुपर्ने अवस्थामा मलाई लाग्छ, सम्पूर्ण आम नागरिकले ध्यान दिनुपर्छ । मान्छे रहे पो व्यापार गरौँला केहि हुन्छ भन्ने हुन्छ । रोगको संक्रमणले देश नै तहसनस हुन्छ भने, कसैले पाउने नपाउने सँग सरोकार नै हुँदैन । मलाई लाग्छ, धैर्य पूर्वक बसौ । सबै निर्धारण गर्दा हाम्रो मात्र देश हैन। शक्तिशाली राष्ट्रहरु, युरोप र अमेरिका जस्तो देश त आज लकडाउनमा छ । उहाँहरुले गरेका क्रियाकलापहरु अध्ययन गर्दाखेरि उहाँहरुले गरेजस्तो गर्नुपर्छ भन्ने हाम्रो धारणा छ तर हाम्रो आफ्नै स्रोत साधनले सक्नेगर्ने हो ।
त्यहि भएर मलाई के लाग्छ भने यसलाई ध्यानपूर्वक सबै आम नागरिकले आ आफ्नो जिम्मेवारी लिनुपर्छ । चाहे त्यो एफएनसीसीआइ होस् या उद्योगपति होस् चाहे ब्यापारी होस् चाहे त्यो घर घरको कामकाज गर्न बस्ने मान्छे होस् । यो रोग गरिब वा आममान्छेलाई मात्र लाग्ने हैन । यो संक्रमण चाहिँ अहिले बेलायतको प्रधानमन्त्रिलाई लागीसकेको छ । धेरै ठुल्ठुला शक्ति सम्पन्न राष्ट्रका मान्छेहरुलाई लागीसकेको छ । सबैभन्दा अगाडी गएर सबैभन्दा अमेरिका जस्तो सम्पन्न देशलाई सबैभन्दा बढी लागीसकेको छ । त्यसकारण पहिला रोगलाई फैलिन नदिन र रोक्न प्रयासरत हुनुपर्छ । उद्योगहरुको सवालमा तपाइले कुरा गर्नुभएजस्तै अनिकालमा बिउ जोगाउनु, हुलमुलमा जिउ जोगाउन यो हाम्रो लागि महत्वपूर्ण कुरा बुझ्नुपर्छ । देशमा सम्पूर्ण मान्छे आक्रान्त भईसकेको अवस्था छ । नागरिक भोकै बस्नु पर्ला कि भन्ने सरकारको चिन्ता छ । यस्तो अवसरमा एउटा प्रकारको काम गर्नु ठिक हो । यसलाई व्यवस्थापन गर्ने सवालमा प्रत्येक उद्यमी व्यवसायीहरुको जायज मागको सम्बोधन हुने नै छ अहिले को फोकस जीवन जोगाउने हो ।
देशभित्र कलकारखाना बन्द छन् अलिअलि हुने खाद्यान्नको उत्पादन पनि हुन सकिरहेको छैन यस्तो अवस्थामा छ । अर्कोतर्फ हामी आयातमा निर्भर देश, भारतमा पनि उत्पादन ठप्प छ के समयमै भारतसँग जी टु जी लेभलमा इम्पोर्ट गर्ने व्यवस्था गर्नुपर्छ कि अहिले पनि आयातको अवस्था के छ केहि जानकारी राख्न भएको छ ?
खाद्यान्न र हामीलाई आवश्यक पर्ने सामान आउँछन् । हाम्रा पनि केहि कुराहरु भारत जान्छन् । त्यसमा चिन्ता छैन । जे होस् भोकै चाहि कोहि पनि नमर्ने किसिमको सरकारले एउटा रणनीति अपनाएको छ । यो रणनीतिलाई चाही सम्पूर्ण नेपालीले लकडाउनमा बसेर सहयोग गर्नुपर्छ । यसरी बस्दा हामीले रोगलाई जित्न सक्छौ । नेपालको इतिहास भनेको विश्वको इतिहास चयन गर्ने दिन हो । यो रोग र संक्रमणसँग हामीले जित्न सक्यौँ भने नेपालमा भोलिको हाम्रो दिन सुखद हुन्छ । यो दुखद मात्र नभएर सुखद ल्याउने दिन पनि भएको भएर अलिकति धैर्य गरे चाहिँ अब, बसौँ । र कम खाऊ । आज हामी बिहान चिया, खाने कुरा भन्दा नखाऊ आज हामी भातै खाउ । बेलुका पनि एकैचोटी भातै खाउ । त्यसरी खाँदा चाहीँ मलाई लाग्छ केहि आपत्ति पर्दैन । र यो संक्रमणमा हाम्रो नागरिकको दायित्व चाहीँ बहन गर्नुपर्ने दिन आएको छ । त्यसकारण यसलाई व्यवस्थापन गर्ने सवालमा सरकार त्यो बेलामा चाहि केहि समस्या पर्यो भने चाहि फेरि ‘जी टु जी’ ब्यालेन्स गर्छौ । अहीले सुलभ भई रहेको छ । चार हमिनाको लागी चाहि तपाइँ हामीसँग रहेका खाद्यान स्टक छन् । यो स्टकलाई चाहिँ व्यवस्थापन गरेर चलाउन पायो भने कोहि नेपाली चाहि भोकै चाहिँ मर्दैनन् ।
लकडाउन लम्बिँदै जाने हो भने तपाइले भनेको जस्तै जीवन जोगाउनु नै मुख्य चुनौती हो, न्युनतम खाद्य बस्तुको वितरणको अहिलेको वडामा जानुस भन्ने पनि सफल साबित नहुन सक्छ एउटा बैज्ञानिक आधार त तयार गर्नु पर्ला नि डिमाण्ड क्यालकुलेसन डिस्ट्रिब्युसन च्यानलको ?
सरकारले त गरि रहेको छ अब यो भन्दा राम्रो कसरि गर्ने ल तपाई नै सिकाउनुस् न त हामीलाई । मैले बुझे तपाइको सुझाब तर त्यसको आवश्यकता अहिले आइसकेको छैन ।
सरकारले सामान्य ग्यासको डिमाण्ड र सप्लाईको त क्यालकुलेसन बुझेन र केहि दिन अगाडी सम्म फुल सिलिन्डर र हाफ सिलिन्डर गर्दै काठमाडौँ जस्तो बजारमा त झुकियो, ठुला नेटवर्क भएको क्रेडेवल बिजनेस ग्रुपहरुको एक्सपर्ट ओपेनिअन लिँदैमा के हुन्छ ?
मैले बुझे, हो धेरै ब्यवसायीहरुको खाद्यान वितरणको राम्रो नेटवर्क छ, राम्रो रिसर्च बेस पनि छ आवस्यक परे सम्पर्क र समन्वय गरेर सरकार जान्छ, कसैले पनि भोकै बस्नु पर्ने अवस्था सरकारले आउन दिँदैन ।
हामी सबै पनि यहि चाहन्छौ । र कामना पनि गर्छौ । सरकर पूर्ण सफल रहोस यो अभियानमा । अन्त्यमा तपाई लोकपथको माध्यमद्वारा नेपाली जनतालाई के संदेश दिन चाहनुहुन्छ ?
मेरो अनुरोध हो, लकडाउनमा बस्नुहोस् । धैर्य गर्नुहोस् । धैर्य पनि सबै भन्दा कोरोनाको रामबाण हो । यसको औषधी नभए पनि हामी जस्तो गरिब देशका सबै एक भएर अगाडी बढ्नु पर्छ । यसरी अगाडी बढेको खण्डमा यो कोरोना केहि समय बस्छ र त्यसपछि हामी जित्छौ भन्ने संदेश दिन चाहन्छु ।
लोकपथ : समय र सन्दर्भको लागि धन्यवाद ।
धन्यवाद ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया