सरकारले जारी गरेको अध्यादेशप्रति प्रतिपक्षी दल कांग्रेसको यस्तो धारणा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले गरेको काम कारवाही प्रति आपत्ती जनाएको छ । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले जारी गरेको संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश राष्ट्रपतिबाट पास गरेको विषयमा एक विज्ञप्ती जारी गर्दै आपत्तिजनक कदम, गैह्र जिम्मेवार प्रवृत्तिको संज्ञा दिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनासँग लढ्नु पर्ने अवस्थामा त्यस्ता किसिमको अध्यादेशले जनताको रक्षामा नलाग्नु खेदपुर्ण भएको जनाएको छ । प्रतिपक्षी दलले समेत सरकारसँगको विमती र आग्रहहरुबाट माथि उठेर कुरा स्मरण गराउँदै यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना भएको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा भनिएको छ, “कोरोनाको संक्रमण बाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथि उठेर नेपाली कांग्रेसले सरकारलाई हरसंभव सघाउंदै आएको छ । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो । यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बांसुरी’ हो ।”

साथै पार्टीले अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई आग्रह समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?