काठमाडौं । उपेन्द्र यादव–बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टी र राजपाबीच फेरि एकताको चर्चाा सुरु भएको छ । यी दुई पार्टीबीच एकताको चर्चा हुँदै आएपनि एकता भने भ्यागुताको धानीजस्तै भएको सन्दर्भमा फेरि एकताको चर्चा सतहमा आएको हो ।
केपी ओली नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्यएसँगै दुई पार्टीबीच एकताले चर्चा पाएको हो । राजपामा ६ जना अध्यक्षमण्डल रहेको छ । जसमा राजेन्द्र महतो, महन्थ ठाकुर, अनिल झा, राजकिशोर यादव, शरदसिंह भण्डारी र महेन्द्रराय यादव रहेका छन् भने हाल अध्यक्षमण्डलको पनि संयोजकमा भण्डारी रहेका छन् ।
नेकपाले समाजवादी र राजपासमेत फुटाउने षड्यन्त्रका साथ अध्यादेश ल्याएको बुझाइका साथ यी दुई दल नेकपाको योजना असफल पार्न एकताका लागि छलफलमा जुटेको स्रोतको भनाइ छ । ‘हामी छलफलमै छौं, अहिले थप कुरा बोल्न सकिँदैन’, राजपाका एक नेताले भने, ‘अहिले यति भन्न सकिन्छ, ओली र नेकपाको षड्यन्त्र सफल हुँन दिँदैनौं ।’
उनका अनुसार दुई पार्टीबीच एकताको विषयमा गम्भीर छलफल भइरहेको छ र छिट्टै यसले आकार लिनेछ ।
दुई दिनअघि सरकारले ल्याएको र राष्ट्रपतिले प्रमाणीकरण गरिसकेको अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा ४० प्रतिशत पुगेको खण्डमा पार्टी विभाजन गर्न सकिने व्यवस्था छ । यही व्यवस्थालाई टेकेर समाजवादी र राजपा विभाजन गर्न खोर्जिएको चर्चा राजनीतिक वृत्तमा हुँदै आएको छ । स्वयम् ओलीले पनि यो नेकपाको लागि नभएको अन्य दललाई लक्षित गरेर ल्याएको पार्टीमा स्पष्टीकरण दिइसकेका छन् । तर यसको विपक्षीदलसहित नेकपाभित्रैबाट आलोचना हुँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया