यादव पुगे बालुवाटार: एकतिर फुट, अर्कोतिर जुटको बैठक !

काठमाडौं । समाजवादी पार्टी लगभग फुटको संघारमा पुगेको छ । यद्यपी बुटबाट बचाउने प्रयासमा नेताहरु लागिरहेकै छन् ।

अहिले राजधानीको एक स्थानमा राजका र समाजवादी पार्टीका नेताहरुको बैठक बसिरहेको छ । बैठकमा एकताबारे छलफल भइरहेको छ ।

यसैबीच जनकपुरबाट ‘अपहरण’ मा परेका दावी गरिएका समाजवादी पार्टीका नेता पूर्व राज्यमन्त्री डा सुरेन्द्रकुमार यादव केहीबेर अघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । उनी पार्टी फुटाउने लाइनका हुन् ।

जनकपुरबाट साँझ ५ बजे यादवलाई गाडीमा हालेर नेकपा निकटका केही व्यक्तिहरु काठमाडौंतर्फ प्रस्थान गरेका थिए।

बर्दिबासबाट हिँडेका उनीहरु साढे १० बजे राति बालुवाटार पुगेका थिए। यस्तै समाजवादीका केही सांसद पनि बालुवाटारमा रहेको स्रोतको भनाइ छ । अहिले फुट पक्षधर एकठाउँमा र एकता पक्षधर अर्को ठाउँमा भएको बेला राजनीति रोचक देखिएको छ ।

सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि कोरोनाको महामारीमा पनि यस्तो रोचक परिदृश्य देखिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?