काठमाडौं – एकै हुनुभन्दा भिन्दाभिन्दै हुनुमा नै जीवनको सार्थकता भेटिन्छ । सबैलाई आफूजस्तै बनाउनु वा बनाउन खोज्नु त गलत हुनजान्छ । हाम्रा भौतिक वस्तुहरु बालुवा, रड, तार, सिमेन्ट, इँटा, ढुङ्गाहरुसँग मानव समुदाय अर्थात् प्रकृति र माटोसँग लाप्पा खेलिरहेको हुन्छ । त्यसभन्दा भिन्न केहीछिन सुस्ताउँदा पनि सृजनाहरु मन मस्तिष्कमा सुशेलिन्छन् ।
प्रकृतिले ती ऊर्जाहरु सृजनामा परिणत गरिदिन्छ । अनि विचार जन्मिन्छन् । रचनाहरु सिर्जना हुन्छन् ।
वहुविचार, वहुवाद, बहुदल, सर्वदलीय, सर्वपक्षीय आदि अनेक शब्दहरुले समाजमा श्रृङ्खलाको निर्माण गर्दछ ।
कुण्ड कुण्डको पानी, मुण्ड मुण्डको बुद्धि भन्ने कुरा बजारमा छिरालिन्छ । यो छिरालिनु नराम्रो होइन होला तर तर तिनीहरुले दिने अभिप्रेरणा र विचार प्रमुख हो भन्ने कुरा शास्वत पक्ष हो । किन कि त्यो वास्तविक जीवनमा कार्यान्वयन हुनुपर्छ । कोरा कल्पनामा रमाउनुको कुनै तुक र अर्थ छैन । यहाँसम्मको यो अमूर्त लेखनले खासै अर्थ नदेला ?
परिवर्तनकारी शक्तिहरुले बाटो नसमात्दा देखिने विल्लिबाठ र अवस्था एक अर्कामा देखिएको घोचपेच, दाउपेचको श्रृङ्खला नै हो । कित्ताकित्ताका बीच नै हो ? विचारको संयोजनमा गतिमा विकास र समृद्धि अघि बढ्न सक्छ । त्यस श्रृङ्खलाको विकास नेपालमा कोर्दै प्रश्नै प्रश्न बीचको लकडाउनको एक महिना….।
नेपाली भाषामा पारिभाषिक शब्दहरु छन् । तिनले पनि नसमेटेको आयातीत अँग्रेजी शब्दहरुले भरमार प्रयोग भई जनता जनाद्र्धनको घरभित्रको कोठाभित्र उकुस मुकुस भएर बाँच्न विवश वर्तमान मान्छे अभ्यास विनाको चिन्तनका छचल्काहरु छल्किएर एक असफल आख्यानको आरम्भ गरेको अनुभूति गरिरहेको छ ।
समाचार माध्यमका सार्वजनिक माध्यमले वाक्क दिक्कै लाग्ने एकोहोरो रटान र फलाकोले झनै थुनिएका ती घरकै कैदी वन्दीहरुको मुहार हेर्न लायक पीडा बोकिरहेको देखिन्छ । कहिले सकिने कोराना, कहिले पाउने मुक्ति ? यो छटपटी भित्र ज्यादा स्वास्थ्य सम्बन्धी सुनिएका शब्दहरु हुन्— कोरना भाइरस, मास्क, पिपिइ, आरडिटी, पिसीआर, कोभिड १९, भ्याक्सिन, पोजेटिभ, नेगेटिभ, लकडाउन, क्वारेन्टाइन, आइसोलेसन, सङ्क्रमित, फिबर, खोप, रेड जोन, डिस्चार्ज, औषधी, डाक्टर, नर्स, सुरक्षाकर्मी आदि आदि ।
अनि शुरु मै आएको लकडाउन र सेनिटाइजर, सावुनपानीले विस सेकेन्डसम्म हात राम्ररी धोऔँ, आफू पनि सुरक्षित बनौँ, अरुलाई सुरक्षित बनाऔँ, त्यतिले पुगेन विदेशबाट आएकाले १४ दिन क्वारेन्टाइनमा बसौँ । नत्र भने सङ्क्रमित फैलदो छ । व्यक्ति सिल , घर सिल , समाज सिल , सङ्क्रमित थपिने र निको भएर घर फर्किने यस्तै यस्तैमा बितेका कोरानाको चिच्याहटका यी शब्दहरुले आजित छ वर्तमान मानव समुदाय ।
थपिएको छ । घर, गाउँ जाने नजानेको लर्काे, जान पाइने नपाइनेको द्वन्द्व, पहुँचवाला घुमिरहने, घुमाइरहने, पुग्ने पु-याउने, राहत पाउने, अरु भोक–भोकै मर्नेसम्मका पीडाहरु । राहत यसरी उर्लिएर आयो राहतका नाममा हुनेखाने र शक्तिशालीकै बालवाल भयो कि दशैसम्म भण्डारन गरियो भन्नेसम्म एकातर्फ घिनलाग्दो समाचार सुनियो भने अर्कातिर ५ जनाले दुई कोसा केरा राहत दिएको तस्विर समेत सामाजिक सञ्जालमा पोष्ट गरियो । कुहिएका चामल, दाल वितरण गरेका वितण्डा मच्चिरह्यो । जनता लकडाउन छ अनि एकाएक बजार–शहर समाचारमाध्यम गुन्जिन्छ अध्यादेशको भुमरी ।
झन्डै–झन्डैको यो दुईतिहाइको सरकारको यस्तो संविधान च्यात्ने फोहोरी खेल र अध्यादेश आउने जाने क्रम चलिरह्यो । कोरोना एकातिर सरकार कुम्लो बोकी ठिमीतिर लाग्यो भन्ने उखान उर्लिरह्यो । मिडियामा कुर्लिरहे । अनेक शब्दका अभ्यास भए । प्राप्ति लगभग हातमा लाग्यो शून्य…..। अध्यादेशको परिणाम । दल जोडियो त्यसलाई प्राप्ति मान्नेले भने के पाए त कोरोना भित्रका जनताले प्रश्न जन्मीन्छ ।
बेरोजगारी यति भव्य हुँदो रहेछ बल्ल ज्ञान हुँदैछ । बेरोजगारीको परिणाम भौतारिनु वा लठुवा हुनु हो । एक टुक्रा बेरोजगार हुँदा के हुन्छ कल्पनाले भ्याएसम्म सोचे हुन्छ । इन्साफ मञ्जरीका अँध्यारा कोठाका खेलहरु भत्कँदै छन् । अपहरण र कारवाही शब्दहरु भेलजत्तिकै उर्लंदो छ । नैतिकता शब्दको अर्थ नबुझे पनि कता–कता ‘नैतिकता’ बोलिँदै छ, व्यवहारमा पोलिँदै छ ।
कोरोना पछि देश कसरी भोकमरीबाट बच्ने, कृषि, उद्योग, व्यापार, पशुपालन, पर्यटन, कुन क्षेत्रबाट कसरी आफूलाई उभ्याउने ? अनेक भुमरीमा छ देश । फजुल खर्चले सरकारी ढुकुटी रित्तो छ । पूँजी निर्माण र आम्दानीको स्रोत लगभग शुन्य छ । अस्थायी कोरोना क्याम्पहरुमा गरिएका खर्चहरु भुसको आगो जस्तै हुँदै छ । घाटा–नाफाको कुरा भइरहेको छैन ।
अब कोरोना मुक्त भएपछि गर्ने के ? अर्थविदहरु के सोच्दै होलान् ? कृषिका कुरा ग-यो– दुई रुप भन्दछन् । एकथरी परम्परागत भनेको के हो ? अर्काे आधुनिक कृषि भनेको के हो ? मलखाद, बिउ, विजन र सामुहिक खेतीप्रणाली नै आधुनिक हो भने परम्परागतमा पनि घटी बढी होला । यही प्रणाली नै देखिन्छ तर कृषि उत्पादनको उत्पादकत्वमा वृद्धि नगरी बाँच्ने कसरी ?
आयातीत हाम्रो अर्थतन्त्र, चाहे हातमुख जोर्नेदेखि, लगाउने, बस्नेसम्म अर्थात् गाँस, बास र कपास सबै विदेशबाट आएका सामग्री प्रयोग गरेर बाँच्न विवश मान्छे अब रेमिट्यान्स हराएको वेला, प्रतिकूल मौसम भइरहेको वेला, अन्नवाली लगाउने र थन्क्याउने वेला कोरोनाको कहरमा जब ताल्चा लागेको छ मान्छेको जिन्दगी….।
त्यस परिस्थितिमा सरकारको शक्तिको अवतरण जनतामा हुनुपर्दछ । ऊ जनताको अभिभावक हो । ठोस व्यवहारमूलक कार्य सम्पादन गर्न सकिने उत्पादनमुखी आँखा भएको र कम आय आर्जन गर्ने रोग, भोक र शोकले पीडितहरु सम्म पुग्न सक्ने अर्थतन्त्र यदि यथार्थमा परिणत गर्न सकिएन भने चिल्ला गाडीमा चढेर मसलदो गफले नेपाली अर्थतन्त्रले सही गति कहाँ लिन सक्छ र ? सबै प्रष्टै देखिन्छ पर्यटन क्षेत्र ऋणमा डुबेको, व्यापार जोखिममा रटेको, उद्योग टाट पल्टिने परिस्थितिमा रहेको, आर्थिक वृद्धिका भविष्यवाणी अलमलमा परेको यो पीडातर्फ ध्यान सबैको केन्द्रित गरौँ ।
नत्र बयान मै समय सकिएला, फैसला त मरेपछि मलामी मात्र हुने हो कि ? प्रश्नै प्रश्नमा छ जिन्दगी ।
क्रमश…
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया