काठमाडौं– सरकारले नेपाली सेनाका उपरथी प्रभुराम शर्मालाई रथी पदमा बढुवा गरेको छ।
आज बसेको मन्त्रिपरिषद् बैठकले बढुवा गरेसँगै शर्मा भावी प्रधानसेनापति बन्ने पक्का भएको छ ।
हालका बलाध्यक्षरथी गौरव टण्डुल उमेर हदका कारण यही वैशाख १९ मा अवकास लिँदैछन् । उनैको ठाउँमा सैनिक मुख्यालयले उपरथी शर्माको नाम सिफारीस गरेको थियो ।
शर्मा रथीमा बढुवा भएसँगै प्रधानसेनापति पूर्णचन्द्र थापाको अवकासपछि प्रधानसेनापति बन्नेछन्। हालका प्रधानसेनापति थापाले २०७८ भदौ २४ मा अनिवार्य अवकास पाएसँगै शर्मा उनको ठाउँमा नेपाली सेनाको प्रधानसेनापति बन्नेछन् ।
नेपाली सेनाको युद्धकार्य महानिर्देशकको समेत जिम्मेवारी सम्हालिसकेका उपरथी शर्मा हाल सम्भाररथी विभागको प्रमुख छन् ।
सेनामा व्यवसायिक सैनिक अधिकृतको छवि बनाएका शर्माले भारतबाट ‘नेशनल डिफेन्स कोर्स’ (एनडिसी) गरेका छन् ।
शर्माको रथीको दुई वर्षे पदावधी २०७८ पुष सम्म कायम रहनेछ । हालका प्रधानसेनापति थापा शर्माभन्दा ४ महिनाअघि नै अनिवार्य अवकासमा जाने भएपछि शर्मालाई सेनापति बन्न कुनै समस्या हुनेछैन ।
सेनामा दुई जना रथीको दरबन्दी रहेको छ । अर्का रथी शरद गिरीले पनि आगामी असार ०६ गते अनिवार्य अवकास पाउनेछन् ।
श्री पूरानो गोरख गणका गणपति समेत रहेका शर्माले नम्बर ६ बाहिनी अड्डा बैरेनी तथा मध्य पृतना हेडक्वाटर सुपारिटार ब्यारेक हेटौँडा कमाण्ड गरिसकेका छन् ।
नेपाली सेनामा स्वच्छ छवि बनाएका शर्मा कंगोमा शान्ति सेना मिसनको कमाण्ड सफलतापूर्वक सम्हालिसकेका अधिकृत हुन् ।
हाल कोरोनाको महामारीबाट बच्न सावधानीस्वरुप सरकारले खरिपाटीमा निर्माण गरेको क्वारेन्टाईनमा सुरक्षादेखि सरसफाइसम्मका पूर्वाधार व्यवस्थापनमा पनि उनैको नेतृत्वमा नेपाली सेना खटेको थियो ।
यस्तै नेपाली सेनाले १ करोड ८४ लाख ४१ हजार ७ सय ६ दशमलब ३५ अमेरिकी डलर बराबरको (२ अर्ब २० करोड रुपैयाँ बढी) स्वास्थ्य सामग्री खरिद गर्न चिनियाँ कम्पनी ‘चाइना साइनो फर्म इन्टरनेसनल कर्पोरेसन’ सँग सम्झौता गरेको गरेको छ । यो प्रक्रिया पनि उनैको नेतृत्वमा हुँदैछ ।
स्वच्छ छवी, ईमान्दार, सरल व्यक्तित्वका अधिकृतको परिचय बनाएका शर्माका दुई छोरी र एक श्रीमती छन् । उनको स्थायी घर धादिङ हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया