कांग्रेस नेताहरुको एकै स्वरः अब पार्टी बलियो बनाउनु पर्छ

काठमाडौँ , २६ माघ– नेपाली कांग्रेसका नेताहरुले अब संगठन निर्माणमा लागेर पार्टीलाई बलियो बनाइनुपर्नेमा जोड दिएका छन् । पार्टी पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री स्व सुशील कोइरालाको दोस्रो स्मृतिको अवसरमा नेविसंघ प्रदेश नम्बर ३ ले राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेताहरुले यस्तो बताएका हुन् । उनीहरुले पार्टीलाई शुद्घीकरण, सुदृढीकरण र नयाँ दिशामा लैजान युवा बर्ग जुट्नुपर्नेमा पनि जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्दै नेता प्रकाशमान सिंहले पार्टी विधि प्रक्रिया र विधानअनुरुप सञ्चालन हुन नस्कँदा कार्यकर्तामा निरासा उत्पन्न भएकाले पराजय व्यहोर्नु परेको दाबी गरे । यस्तै अर्का नेता अर्जुननरसिंह केसीले स्व कोइराला निष्ठा, पारदर्शी र समाजवादी नेता रहेको धारणा राखे । केन्द्रीय सदस्य प्रदीप पौडेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले कांग्रेसलाई हेर्ने दृष्टिकोण सकारात्मक रहेको चर्चा गर्दै काँग्रेसले आगामी पाँच वर्षसम्म पार्टीलाई गुट–उपगुटबाट मुक्त बनाउन लाग्ने हो भने नेपालमा कम्युनिष्ट पार्टीको अस्तित्व नै नरहने दाबी गरे । केन्द्रीय सदस्य चन्द्र भण्डारीले संसारबाट फालिएको र तिरस्कृत भएको कम्युनिष्टसँग काँग्रेस डराउन नपर्ने भन्दै पार्टीभित्र मौलाउँदै गएको विकृति र विसंगतिविरुद्ध पार्टीलाई एक ढिक्का बनाउनुपर्ने बताए । कार्यक्रममा केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रजातान्त्रिक पार्टीमा फरक मत राख्ने स्वतन्त्रता हुने बताए । कार्यक्रम नेविसंघका केन्द्रीय उपाध्यक्ष रामप्रसाद अधिकारीको समापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?