काठमाडौं – विचारका चराहरु जति नै उडेपनि वर्तमान प्रायः अभावमा नै रहन्छ । वर्तमान यथार्थ भित्रै मनुष्यले भावको सृजना गर्छ। त्यसमा आफ्नो भोगाइको फेहरिस्त भित्र भावको महत्व बढी राख्दछ । मान्छे पनि के हो र एउटा विकसित ‘किट’ न हो ।
यो ‘लक डाउन’ भित्र मान्छेले आफूलाई कतै पाल्तु कतै फाल्तु अनुभव गर्दैछ । अनि सुताइ पनि दुई रुपमा हुँदो रहेछ— एउटा प्रेमपूर्वक अर्को थकाईपूर्वक । समयले हामीलाई कसरी काटिरहेको छ । मुसाले लुगा काटे जस्तो वा चङ्गाले चङ्गा काटेजस्तो वा खुकुरीले काटेजस्तो काट्न त काटिरहेको छ। यही समय काटिने कहरमा मर्नेहरु वा आत्महत्या गर्नेहरु स्वभाविकतामा होइन अभावमा हुँदो रहेछ तर त्यो बोलेरै आजको दुनियाँ खान्छ, बोलेर कमाउँछ, अनि कलम विवेकभन्दा बढी जिब्रो चलाउँछ ।
विनिर्माण नवकेन्द्रको कुरा गर्छ । मानवताविहीन यान्त्रिक मानव बन्छ— बोल्छ, सकिन्छ । उसका मानवीयता, संवेदना, मन मुटु सबै एकै ठाउँमा पोको पर्छ । उसमा ‘अहं’ र ‘म’ ठूलो हुन्छ । अरु सबै साना फिक्का ।
दुःख पीडा देख्दैन अझ यसो भनौँ त्यो पीडा दुःख हेर्दा हेर्दा र सुन्दा सुन्दा उसको मन बलियो भएको छ । मर्नुको खास अर्थ छैन । आफू कसरी सफल हुने, त्यो पनि स्वार्थको सफल । अनि दुःखमा पीडित प्रतिका संवेदनामा खेल्छ— र ‘एक छाक खाना खुवाएर ’ मैले ठूलै सेवा गरेँ भनेर कोकोहोलो मच्चाइरहेको हुन्छ । यो दिगोपन भन्दा प्रचारमुखीपनमा केन्द्रित प्रश्नै प्रश्नमा जीवन छ । अनि कता कता लोकको हार भएको तोकको जित भएको जीवन अनुभूति गरिरहेछ ।
मित्रता र आत्मीयता मेरको बेला एक सन्तले भनेको सम्झना आउँछ । मानिस हुनु नै मानिसको मूल समस्या हो । जब मानिस समस्यामा हुन्छ प्रतिभा कमजोर र आकांक्षा डाइनोसोरिक हुन्छ । अनि विषयको आदि अन्त्य तोक्नुको कुनै अर्थ छैन यो निरन्तर चलिरहन्छ ।
राजनीति हेर्ने हो भने संवाद दिवास मनाउनु पर्ला जस्तो छ । अन्त्यहीन अन्त्य भए जस्तै छ । न श्रमको पसिनाको मूल्य छ न प्रतिभाको प्रयोग । उपाधिरहित वस्तु पवित्र देखिन्छ तर दृश्यभित्रको कारोबार अझ आर्थिक कारोबार अदृश्य भइरहेको छ । फलस्वरुप कमिशन र घुसले वर्तमान युगमा सर्वाधिक महत्व पाइरहेको छ । किनकि घुस कमिशन हिसावभित्रको लेखा स्रेस्तामा नअटेको आवश्यकता र नियम भन्दा माथि लोभमा हुन्छ ।
त्यसैले वर्तमान जस्ले जहाँ भेट्यो त्यहीँ लिइदिने प्रकरणमा रहेको छ — घुस र कमिशनको नाता—मित्रता । अनि आफ्नो घर फर्किएका जनताको संवेदनशील सामाजिक दुःखेसो छ— ‘घरमा त पुग्यौँ तर पस्न पाएनौँ ….
कोरोनाको वहस र पैरवी भित्र नागरिक छ । अर्थविदहरु विभिन्न विषयमा ऋणात्मक वृद्धि भइरहेको फेहरिस्त सार्वजनिक गरिरहेका छन् । कुल गार्हस्थ उत्पादनको वृद्धिदर ८.५ प्रतिशत हुने भनेकोमा स्वयं केन्द्रिय तथ्याङ्क विभागले २.२७ हुने अनुमान सार्वजनिक गरेको छ । जसमा विशेषगरी खानी उत्खनन्, उद्योग, होटल, निर्माण, यातायातलाई ऋणात्मकतामा देखाइरहेको छ ।
करिब २० क्षेत्रमा ऋणात्मक हुने आँकलन गरिएको छ । यो गम्भीर अनि विकट परिस्थिति भोकमरी र महामारी हुने खतराभित्र आउने बजेट र त्यसबाट निस्कने समाधान नै जीवनयापनको आधार बन्ने कुरा निश्चित छ । समाज विचौलियाले पीडित छ । संस्कृति नैतिक संकटमा परेको छ । यो चुनौतिको पहाडभित्र सुझबुझपूर्ण समाधान निकाल्न सक्नु नै बुद्धिमतापूर्ण हुन्छ ।
किनकि डरलाग्दो बेरोजगारी, विश्वअर्थतन्त्रमा आएको आर्थिक मन्दि, रेमिट्यान्सको शून्य स्थिति, चलायमान अर्थतन्त्रको अवस्था भन्दा निस्कृयता निकै ठूलो चुनौति रहेको छ । हाम्रो देशमा करिब ५४ लाख गरिबीको रेखामुनि छन् ।
करिब ६० लाखले रोजगारी गुमाएको अवस्था छ । करिब २ करोड ९३ लाख जनसंख्या भएको यो मुलुकमा प्रतिव्यक्ति १२२ रुपैयाँ आम्दानी छैन भने करिब २,००० भन्दा बढिको क्यालोरी बराबरको खानपिन पाउँदैनन् ।
कुल हेर्दा लकडाउन भित्र पनि लगभग १० % प्रतिशतले राहत पाए पनि अरुको हात–मुख रित्तो भएको तथ्याङ्क सार्वजनिक भइरहेको छ ।
टाउकोमा हात राखेर चोक–चोकमा उभिएका ती करुण मुहारहरु समानवाद वा समाजवाद जे भए पनि उनीहरुको अनुहारमा हाँसो मिश्रित मुस्कान कहिले फर्किने हो प्रतीक्षाकै विषय छ ।
देशको मुहार फेर्न सकिन्छ । चुनौतिको पहाड फोर्न सकिन्छ । एकान्तमा घोत्लिँदा परिवर्तन पनि देख्न सकिन्छ । शान्ति, सुशासन, विकास र समृद्धिलाई जोड्न पनि सकिन्छ । जति खेर जति चाहियो पानी निकाल्ने रोहरपम्प जस्तै मायाको प्रयोग पनि चाहे अनुसार गर्न सकिन्छ । वस्तुविहीन, धनविहीन, शरीरविहीन, युनिक प्रोजेक्ट के हुन सक्छ त्यो पनि खोज्न सकिन्छ ।
इम्युनिटी पनि बढाउन सकिन्छ ।
परिकल्पनाको संसार मीठो हुन्छ सुन्दा हुन्छ । सुनौलो घाम पनि हुन्छ । सुन्दर याम पनि बन्छ । त्यति मात्र कहाँ हो र म्याकवेथ वर्नाम जङ्गल हिँडु जस्तो लाग्ने, ताजमहल र नृसिंह अवतारका परिकल्पना सबै आउलान् तर चाहेको पाएन भने केही पनि आएन । एक व्यापारिले भनेका थिए रे मेरो काम त व्यापार बढाउनु हो, व्यापारले राम्रो गरी हाँगाविँगा हालेर फल दिन थालेपछि आफू पनि खाने अरुलाई पनि खुवाउने, यौटैैलाई खुशी पार्ने धेरैलाई रुवाउने काम एक मात्र रहन्छ— नाफा खानु, कमिशन आदरपूर्वक खुवाउनु तर ती व्यापारीलाई एक वृद्धाले उत्तर दिएका थिए रे – ”तिमी बुढो भएर त हेर— त्यहाँ तिम्रा यी सबै कुराको तुजुक फिक्का हुन्छ न सफलता, न महान एक दुई दिनको रामछायाँ त हो नि”
तिम्रो सफलताको अर्थ रहन्न, रहन्छ त केवल तिम्रो असलपन मात्र ।
त्यसैले सफलताले असलपन जोड्न निकै कठिन छ । कुरा बुझ व्यापी बुझ त्यसैले आफूले आफूलाई नै खोज ।
चुरो समस्या हो — इमान्दारिताको । अब देखिने आर्थिक समस्या हो—उत्पादन र पूँजी निर्माणमा अभाव, खर्च नघट्ने, रोजगारीमा उल्लेख्य ह्रास, गरिबी, मुद्रास्फिति, पूँजीगत खर्च नहुने साधारण खर्च वृद्धि हुने, आयत नघट्ने निर्यात नबढ्ने, सोधान्त स्थितिमा धक्का सुस्त आर्थिक गतिविधि, मध्यम वर्गको परिवारलाई पनि मजदुर र निम्नवर्ग झैँ हातमुख जोर्न धौ–धौ हुने, आय आर्जनको ह्रास मुख्य कारणका रुपमा रहेका छन् ।
प्रश्न जीवन्त छ— यी यावत चुनौति पार गर्न व्यवहारिक, कार्यमूलक बन्नैपर्छ । जसको लागि बजेटको कटौति र फजुल खर्च रोक्नुपर्छ । हाल सांसद विकास कोष, स्थानीय पूर्वाधार विकास साझेदारी कोष, स्वदेश भ्रमण अति आवश्यक बाहेक भत्ता कटौती, गोष्ठी सेमिनार, सवारी साधन, मदिरा आयत, उपहार चन्दामा गरिने खर्च पूर्ण रुपमा कटौति गरी समाधान खोजिनुपर्छ ।
निराश र हतार मनस्थितिमा बसेका कोरोना भित्रका कम आय आर्जन गर्ने नागरिकलाई राहत प्याकेजको व्यवस्था गर्ने, मनोवैज्ञानिक उपचार पद्धतिलाई प्रोत्साहन दिने, वृद्धाभत्ता एक भत्तालाई निरन्तरता दिने, गरिबीका रेखामुनी रहेकालाई बास, गाँस र कपासतर्फ जोड्न, एककृत वस्ति निर्माणतर्फ उन्मुख हुने, कमिशन ठेक्कापट्टा प्राप्ति गर्न हुँदा ‘राम्रा र काम चलाउ भवन पर्खाल भत्काइ, पुनर्निर्माण गर्ने अपराधिक मनसायलाई ठ्याम्मै प्रोत्साहन नदिनेतर्फ उन्मुख भइहाल्नुपर्छ ।
सामाजिक सुरक्षालाई प्रोत्साहन, सुरक्षा र स्वास्थ्यमा जोड, उत्पादन र उत्पादकत्वमा वृद्धि, कृषि प्रणालीलाई सुधार र नतिजामुखी बनाउन उत्पादन र प्रोत्साहनमुखी अनि बजार व्यवस्थापनमा ध्यान दिन अति आवश्यक छ । हाते र साना तथा घरेलु उद्योगलाई तत्काल प्रोत्साहन दिन र कच्चापदार्थको व्यवस्थापन गर्न जरुरी छ । ठूलो संख्यामा बाहिरबाट आउने व्यक्तिहरु र यहाँ रहेका मजदुरहरुलाई तत्कालै रोजगारीको व्यवस्थापन गर्न पनि त्यत्तिकै जरुरी छ । पशुपालनलाई त्यत्तिकै प्रोत्साहन दिन सक्नुपर्दछ ।
आपूर्ति व्यवस्था चुस्त, ऋणको सहजीकरण, व्याजमा नियन्त्रण, तीनै तहको सरकारको समन्वयमा विधि र सुशासनका आधारमा खर्च गर्ने प्रवृत्ति हुन जरुरी छ । बजेटमा राख्ने, समय रहुन्जेल कुनै कार्य नगर्ने अनि पहुँचवालाको तोकमा लोकका नाममा अर्पित बजेट रकमान्तरण गरी हतारमा गरिने खर्चलाई निषेध गर्नैपर्छ । उपभोक्ता समितिको नाममा हुने चलखेल रोक्नैपर्छ । सकेको फाइदा उठाउने कुनियत भण्डाफोर गर्दै इमानदारीपूर्वक, कर्तव्यनिष्ठ भइ पाएको जिम्मेवारीलाई वफादारीपूर्ण रुपमा सम्हाल्न सक्ने परिस्थिति सृजना हुनैपर्छ । प्रकृतिको नियम पनि छ बिग्रेपछि बन्ने, हाम्रो सोच पनि यस्तै तर्फ सकारात्मक बन्नैपर्छ ।
हाम्रा पुर्खाको भनाइ नै छ— जीविकाको बाटो र जीवन बच्ने बाटो सोच्नुपर्छ । जस्को बोलिमा ढुङ्गो छैन, विचारमा स्थायित्व छैन, छल्नु र ढाँट्नु अनि चर्चित बन्नु जसको चाहना रहन्छ, तिनीहरुको विश्वास नगर्नु भर नपर्नु ‘किनकि तिनीहरु जनचाहना अनुसारको शान्ति, सुशासन वा सुव्यवस्था र विकास निर्माण समृद्धि नहुन सक्छ । त्यसैले हामीलाई यस्तो दिगो विकासतर्फ उन्मुख राष्ट्र चाहिएको छ ।
जहिले पनि कति विकासोन्खुम मुलुक लेख्नु विकसित मुलुक लेख्न हाम्रै पुस्तामा पाउँ है— त्यसको लागि कहीँ पनि कतैँ पनि तोकादेशमा उठ्ने टिप्पणीभित्र हुने रकमान्तर खर्च बन्द हुनुपर्दछ । लोकको जीत र तोकको हार हुनैपर्छ नेपाली अर्थतन्त्रमा पनि ।
क्रमश…
(यस आलेखमा प्रयोग गरिएको तस्वीर गुगलबाट लिइएको हो ।)
यसअघि लोकपथमा प्रकाशित लेखकबाट थप :
आलेख : प्रश्नै प्रश्नको घेरामा आर्थिक जिन्दगी !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया