प्रधानसेनापति थापाद्वारा रथी शर्मालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं- प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी प्रभुराम शर्मालाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

आईतबार जंगीअड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति थापाले उपरथी शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

मन्त्रिपरिषद्को गत बैशाख १४ गतेको बैठकले शर्मालाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । बलाध्यक्ष रथी गौरब तण्डुलले १९ वैशाखमा अनिवार्य अवकाश पाएपछि शर्माको बढुवा भएको थियो । मन्त्रिपरिषद् बैठकले पद रिक्त भएपछि बढुवा हुनेगरि १४ बैशाखमा निर्णय गरेको हो ।

हाल सम्भाररथीको भूमिकामा रहेका शर्माले अब भने बलाध्यक्षको जिम्मेवारी पाएका छन् ।

रथी दर्जाको दर्ज्यानी चिन्ह ग्रहण गरेसँगै शर्मा ९६ हजार फौज रहेको सैनिक संगठनका तेस्रो ठूलो शक्तिशाली सैनिक अधिकृत भएका छन् । अर्का रथी शरद गिरीले असार पहिलो साता उमेर हदका कारण अवकाश पाउँदैछन् । त्यसपछि प्रधानसेनापति थापामुनिको वरियतामा शर्मा रहनेछन् । उनलाई भावी प्रधानसेनापतिको रुपमा हेरिएको छ । शर्माको रथीको कार्यकाल दुई वर्षसम्म रहनेछ ।

त्यस अवधिमा सैनिक ऐन अनुसार वर्तमान सेनापतिको तीन वर्षे कार्यकाल २०७८ भदौं २४ मा सकिने भएका कारण त्यस बेलासम्म हालको ऐन संशोधन भएर नयाँ व्यवस्था नभए वा अन्य फेरबदल नभएमा वरियताका आधारमा शर्मा प्रधानसेनापति बन्नेछन् ।रथीमा पदोन्‍नती भएका उपरथी प्रभुराम शर्मालाई दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा । तस्बिरः नेपाली सेना ।

शर्मा अहिले नेपालको सबैभन्दा महत्वपूर्ण र शक्तिशाली सम्भाररथी विभागमा छन् । उनले यस अघि युद्धकार्य महानिर्देशकको विभाग पनि सम्हालिसकेका छन् ।

सेनाका जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्रधानसेनापति थापाले शर्मासँगै उपरथी दर्जामा पदोन्नती भएका सहायकरथी आनन्द कुमार अधिकारी र सहायकरथी संजय थापालाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

उपरथीमा पदोन्नती भएका सहायक रथी आनन्द कुमार अधिकारीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा । तस्बिरः नेपाली सेना 

उपरथीमा पदोन्नती भएका सहायक रथी संजय थापालाई दर्ज्यानी चिन्ह प्रदान गर्दै प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा । तस्बिरः नेपाली सेना ।

अधिकारीलाई उपत्यका पृतनाका पृतनापति र थापालाई मध्य पृतनाका पृतनापतिको जिम्मेवारी दिइएको छ । यसअघिका पृतनापति उपरथी निरञ्जन श्रेष्ठको तालिम महानिर्देशनालयमा सरुवा भएको छ ।

यसअघि लोकपथ डटकममा प्रकाशित यो समाचार छुटाउनुभएको थियो की ?

भावी प्रधानसेनापति उपरथी प्रभुराम शर्मा रथीमा बढुवा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?