काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लडन सरकारले ३ अर्ब ४२ करोड रुपैयाँ बराबरको बजेट रकमान्तर गरी खर्च गरेको छ ।
सरकारले स्वास्थ्य सामग्री खरिद र स्वास्थ्य जनशक्ति परिचालनमा उक्त रकम खर्च गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य जोखिमलाई न्यूनिकरण गर्न चाहिने स्वास्थ्य सामग्री खरिद र जनशक्ति परिचालनका लागि स्वास्थ्य मन्त्रालयलाई १ अर्ब ८ करोड रुपैयाँ र रक्षा मन्त्रालयलाई २ अर्ब ३४ करोड रुपैयाँ रकमान्तर गरी निकासा गरिएको बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको सोमबारको बैठकमा बोल्दै अर्थमन्त्री खतिवडाले कोरोना विरुद्धको लडाईमा बजेट अभाव हुन नदिएको बताए ।
मन्त्री खतिवडाले सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम कोषमा अहिले सम्म २ अर्ब २० करोड रुपैयाँ जम्मा भएको र उक्त रकम कार्य योजना बनाई राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजनमा सिफारिस भए अनुसार उद्धार र स्वास्थ्य उपचारसँग सम्बन्धित क्षेत्रमा खर्च गर्न प्रयोग गरिएको बताए ।
कोरोना भाइरसको रोकथामका लागि देशभर लकडाउन गरिएको र सीमा नाकाहरु पूर्ण रुपमा बन्द भएकोले राजश्वमा चाप परेको समेत मन्त्री खतिवडाले बतए । भन्सार नाकाबाट मासिक लक्ष्यको एक चौथाई मात्र राजस्व संकलन भएको र भन्सार, मूल्यवृद्धि कर, अन्तशुल्क असुलि सबैमा कमि आउँदा राजस्व संकलनमा चाप परेको उनले बताए । सरकारले कोरोना भाइरसको रोकथामका लागि खर्च गर्ने सम्बन्धमा आवस्यक रकम जुटाउन अन्तर्राष्ट्रिय सहायता परिचालनमा करिब डेढ खर्ब रुपैयाँ प्रतिवद्धता पाएको समेत बताए ।
यस्तो रकम स्वास्थ्य सेवा तथा स्वास्थ्य क्षेत्रमा खर्च गरिने बताए । लकडाउन लम्बिदै जाँदा सबै क्षेत्रका काम ठप्प भएकाले सरकारको खर्चमा समेत प्रभाव परेको उनले बताए । चैत मसान्त सम्म कुल चालु तर्फको खर्च वार्षिक लक्ष्यमा करिब ५१ प्रतिशत अर्थात ४ खर्ब ८८ करोड खर्च भएको छ । यस्तै पूँजीगत तर्फ वार्षिक लक्ष्यको करिब २६ प्रतिशत अर्थात १ खर्ब ५ अर्ब रुपैयाँ र वित्तीय व्यवस्थापन तर्फ ५० प्रतिशत अर्थात ८४ अर्ब खर्च भएको मन्त्री खतिवडाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया