लकडाउनको बेला कुनैपनि तहको भर्ना तथा शुल्क नलिनु: शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लकडाउनको बेला कुनैपनि तहको भर्ना नगर्न नगराउन निर्देशन दिएको छ । हाल कोरोनाको कारण शैक्षिक संस्था तथा पठनपाठन बन्द रहेको छ । यस अवस्थामा भर्नाका नाममा कुनैपनि किसिमको शुल्क लिने वा बैंक खातामा रकम जम्मा सम्बन्धी कार्यहरु नगर्न तथा नगराउनको लागि मन्त्रालयले सुचित गरेको छ ।

मन्त्रालयले सोमवार एक विज्ञप्ती जारी गर्दै संस्थागत विद्यालयहरुले माध्यामिक तहसम्मको एक महिनाको शुल्क मध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारको शुल्क छुट दिनको लागि समेत आह्वान गरेको छ । विज्ञप्तीमा भनिएको छ, “संस्थागत विद्यालयहरुको माध्यामिक तहसम्मको एक महिनाको शुल्क मध्ये आवास शुल्क बाहेक अन्य सबै प्रकारको शुल्क छुट दिने भनि नेपाल सरकारले गरेको निर्णय कार्यान्वय गरि अभिभावक तथा स्थानीय तहलाई आवस्यक जानकारी दिनुहुन सूचित गरिन्छ ।”

त्यस्तै कक्षा १० को अन्तिम परीक्षा अर्थात एसईई तथा कक्षा ११ र १२ का परीक्षाहरु स्थगित रहेको छ । मन्त्रालयले परीक्षाको सन्दर्भमा सुक्ष्म अध्ययन तथा परामर्श गरिरहेकोले त्यस सन्दर्भमा कुनैपनि विषयमा निर्णय नभएको समेत जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?