‘उत्तर कोरियालाई दबाब दिनेबारे दक्षिणसँग मतभेद छैन’

वासिंगटन, २८ माघ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाको आणविक कार्यक्रम नियन्त्रणका लागि उसलाई दवाब दिइरहनुपर्ने आवश्यकताबारे दक्षिण कोरियासँग कुनै विवाद नरहेको बताएका छन् दक्षिण कोरियाको प्योङचाङमा शीतकालीन ओलिम्पिकको उद्घाटन समारोहमा सहभागी भएर स्वदेश फर्कने क्रममा बोल्दै मतभेद नरहेको बताएका हुन । लामो समयको तनावपछि उत्तर र दक्षिण कोरियाबीच देखिएको सम्बन्धमा न्यानोपनाको संकेतकाबीच उनको यस्तो भनाई बाहिर आएको हो शनिवार उत्तर कोरियाली नेता किम जोङ–उनले दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनलाई भ्रमणका लागि निम्तो दिएका थिए । भेट भएमा त्यो दुई कोरियाली नेताहरूबीच एक दशकभन्दा पनि लामो समयपछिको शिखरवार्ता हुनेछ मूनले कोरियाली जनताले त्यसलाई सफल पार्न लगाउनुपर्ने बताउँदै अमेरिकासँगको वार्तामा फर्कन उत्तर कोरियालाई आग्रह गरेका थिए अमेरिकाले उत्तर कोरियामाथि प्रतिबन्ध लगाउँनुका साथै कडा प्रतिक्रिया सार्वजनिक गर्दै आएको छ । उपराष्ट्रपति पेन्सले भने, ‘उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रम नत्यागेसम्म उसलाई आर्थिक र कूटनीतिक रूपमा अलग्याउनुपर्ने आवश्यकताबारे अमेरिका, दक्षिण कोरिया र जापानबीच कुनै मतभेद छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?