काठमाडौं । सरकारका आँखाले नदेखेका नाका :
सरकारी निकायले काठमाडौँ उपत्यका छिर्ने नाका जम्मा छ वटा मात्र देखेछ । तर हाम्रो दृष्टिमा त्योभन्दा धेरै नाकाहरू छन् । नुवाकोटमा ककनीको पाँचमाने, तीनपिप्ले÷मुड्खुभन्ज्याङ्, थानसिं, गुरुङ्गाउँ, धादिङका भीमढुङ्गा र नागढुङ्गा, मकवानपुरका मार्खु, मातातीर्थ, कुलेखानी, त्रिखण्डी, काठमाडौँका दक्षिणकाली, फर्पिङ, छैमले, रामचे, कोटडाँडा, बेतिनी, गिम्दी, काभ्रेको विमिरेचौर, लामीडाँडा, पनौती, खोपासी, लाँकुरीभन्ज्याङ, सिन्धुपाल्चोकको पाटीभन्ज्याङ, मूलखर्क, सुन्दरीजल÷जर्सिङ्पौवा, चिसापानी, सिन्धुपाल्चोकको भोटेचौर हुँदै नाङ्लेभारे, साँखु, मूलपानी हुन् ।
उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयले बैशाख २३ का दिन राजधानी प्रवेश गर्ने सबै नाका सिल गर्नुपर्ने विषयमा कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणसम्बन्धी सुरक्षा कार्ययोजना तयार पार्दै ६ वटा नाका– बालाजुमाथिको तीनपिप्ले/मुड्खुभन्ज्याङ, सिन्धपाल्चोकसँगको जरसिंङपौवा, काभ्रेको कात्तिके, साँगा/जगाती, धादिङबाट थानकोट र मकवानपुरबाट फर्पिङमात्र उल्लेख गरेको पाईयो ।
‘ठूला घरको ठूलै चाला’ :
सत्तारुढ पार्टी (नेकपा) का मूर्धन्य नेताहरूलाई यतिबेला युद्धस्तरीय चटारो छ । खाने, सुत्ने वा सास फेर्ने फुर्सद समेत छैनजस्तो लाग्छ । तर यो चटारो, मुलुकमा महामारीले ल्याएको विश्वस्तरीय संकट सत्तारुढ पार्टीको नाताले कसरी समाधान गर्ने भन्ने सवालबाट उठेको होईन । न त आगामी बजेट कस्तो हुनुपर्छ भन्ने चिन्तन बैठक नै हो । यस्ता सवालबारे यी भेट र लामालामा बैठकमा चाईंचुईं नै हुँदोरहेनछ । बरू यो संकटको मौकामा आफ्नो हैसियत कसरी मजबुत र निर्णायक बनाउने भन्ने तँछाड–मछाड चलिरहेको जगजाहेरै छ । सत्ताधारी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक संजालमार्फत् सचिवालय बैठकपछि पनि नेकपाभित्र चलखेल र अविश्वासको वातावरण कायमै रहेको लगातार स्पष्ट सन्देश दिएपछि त्यसलाई होइन भनेर कसरी खण्डन गर्ने ! २० बैशाखमा बसेको सत्तारुढ नेकपा सचिवालयको बैठकले पार्टी एकतालाई रक्षा गर्ने र त्यसलाई सुदृढ बनाउने तथा एकता कमजोर पार्ने, पार्टीलाई फुटउन्मूख गर्ने कुनै पनि क्रियाकलापमा सामेल नहुन सम्पूर्ण पार्टीपंक्तिलाई निर्देशन दिएको थियो । तर, आफैँले जारी गरेको निर्देशन सचिवालयका नेताहरूको इमानदारीपूर्ण वाचा हुनसकेन र आफ्ना वाचामा एकहप्ता पनि टिक्न नसके/ नचाहेपछि बैठक सकिएदेखि नै सबभन्दा जिम्मेवार हुनुपर्ने नेताहरू आफ्ना निर्देशनलाई गुटबाजी गरेर आफैंले लत्याईरहेका छन् । समाजको प्रत्येक चेतनशील सदस्य यसो नगर्न र कोरोना महामारी तथा राष्ट्रिय संकटमा तल्लो तहका जनताले नारकीय कष्ट पाईरहेकोमा ध्यान दिन सचेत गराईरहेको छ । तर जनताको आवाज झुलभित्र सुतेको मान्छेका लागि झुलबाहिर कराएको लामखुट्टेको भुन्भुन जति पनि भईरहेको छैन ।
सचिवालयले जेसुकै निर्णय गरेको होस् वा निर्देशन जारी गरेको होस्, नेकपाको स्थायी कमिटीमा बलियो बहुमत भएको भनिएका प्रचड र माधव नेपाल गुट कोरोना–सोरोना भाँडमै जाओस्, तर प्रधानमन्त्री ओलीमाथि दबाब बनाउने र आफ्ना एजेन्डा पास गराउने तयारीमा छ । निर्लज्ज रुपमा भईरहेको यो लज्जास्पद दौडधूपलाई ‘बडा घरको बडै चाला’ भनेर वाकवाकीलाई सान्त्वना दिनुबाहेक अरू के नै गर्न सकिन्छ र !
बढ्दो अपराध र कम प्रहरी :
महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदनअनुसार २०७५/७६ को अवधिमा देशभरि ३२ हजार ८ सय ५३ मुद्दा न्यायालयमा दर्ता भएका रहेछन् । ती मुद्दामा ज्यान मारेको, बलात्कार, लागुऔषध, चोरी, बैंकिङ् कसुर, शान्तिसुरक्षामा खलल पु-याएको जस्ता मूख्य छन् । यीमध्ये धेरैजसो फौज्दारी मुद्दा भएको र सरकार वादी हुने मुद्दा हुन् । बलात्कार, घरेलु हिंसा, ठगी, बैंकिङ् कसुर जस्ता अपराधको संख्या बढिरेको देखिन्छ । विकसित मुलुकमा जस्तो अपराध रोकथाम वा पूर्वनियन्त्रण र अपराध भईसकेको अवस्थामा कानुनी कारवाही अगाडि बढाउन चाहिने दक्ष अनुसन्धानको लागि तालिम प्राप्त ‘जुडिसियल पुलिस’को आवश्यकता वर्षेनी बढ्दो सरकारवादी मुद्दाले अनुभव गराएको छ । हाल नेपाल प्रहरीसँग ७० हजारको संख्यामा मानव शक्ति छ । यसलाई बढाएर एक लाख पु¥याउनु जरुरी हुन्छ ।
धेरै मुद्दाहरू दक्ष जनशक्तिको अभावका कारण अनुसन्धान र प्रमाण कमजोर हुन गई प्रतिवेदनले समेटेको अवधिमा फौज्दारी मुद्दामा सरकारको असफलता र अभियुक्तले सफाई पाएको करिब ३४ प्रतिशतले बढेको देखिन्छ । उक्त अवधिमा वादी भएको सरकार १४ हजार ५४० मुद्दामा पराजित भएको देखिन्छ । प्रतिवेदनले समेटेको अवधिमा फौज्दारी मुद्दाको संख्या अघिल्लो सोही अवधिको तुलनामा करिब १३ प्रतिशतले बढेको तर सरकार पराजित भएको करिब ३४ प्रतिशतको तथ्याङ्कले अपराध नियन्त्रणमा कानुनी राज सफल भएको संकेत गर्दैन ।
मार्क्सको श्राद्ध :
नेपालका मार्क्सवादीहरूले यस वर्ष पनि ५ मई (२३ बैशाख) का दिन कार्ल मार्क्सको २०२ औँ जन्मजयन्ती मनाए । त्यस अवसरमा उनलाई श्रद्धाञ्जली दिनुका साथै मार्क्सवादलाई आजको युग र नेपाली परिवेशमा कसरी जनउपयोगी तथा फलदायी बनाउन सकिन्छ भन्ने विचारभन्दा पनि बिरालो बाँधेर श्राद्ध गर्ने मानसिकताका नेपाली मार्क्सवादीहरूले उनको पुरोहितवादी कर्मकाण्डी श्राद्ध गरेर आफ्नो धर्म पूरा भएको ठाने भन्नु अत्युक्ति नहोला कि ! वेदमा पनि ‘साम्यवाद’ को उल्लेख छ । ‘कम्युनिज्म्’ को अनुवाद भारतीयहरूले गर्दा हालिदिएछन् सो वैदिक शब्द । वास्तबमा ’कम्युनिज्म’ को ठीक अनुवाद ‘साम्यवाद’ हुन सक्दैन, ‘कम्युन’ शब्द ल्याटिन भाषाबाट आयो, जसको अर्थ ‘सर्वसाधारण’ वा ‘सर्वसामान्य’ ‘समुदाय’ भन्ने हुन्छ । त्यसैले कम्युनिज्म्को शब्दार्थ ‘समुदायवाद’ र कम्युनिस्टको शब्दार्थ समुदायवादी भन्नेगरेको भए पो उचित हुन्थ्यो होला ! कतै कमरेडहरू यही वैदिक साम्यवादको कुरा पो गर्दैछन् कि ? कम्युनिज्मको शब्द र भाव बुझेका जोसुकैले साम्यवाद होइन कम्युनिज्म नै भन्न रुचाउने कारण त्यही हो । पार्टी एकीकरणबाट ‘समाजवादतिरको यात्रा साम्यवादमा पुगेर टुङ्गिन्छ’ भन्ने कमरेडहरूले वैदिक युगमा नपुर्याउन् ।
समसामयिक आर्थिक, राजनैतिक, पर्यावरण र विश्व परिवेश लगायतका विषयमा निरन्तर कलम चलाउँदै आउनुभएका लेखक गौतमद्वारा विभिन्न समयमा लिखित र यसअघि लोकपथमा प्रकाशित यी आलेख, विचार र विश्लेषण छुटाउनुभएको थियो की ? पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् ।
यस्तो हाम्रो मनोवृत्ति कहिले सच्चिने
महामानव गौतम बुद्धलाई यसरी चिनौँ
बढ्दै चिनियाँ चासो : नेपाल–चीन सम्बन्धका आयाम
उत्तर कोरियामा पश्चिमले देखेको रमिता
के कांग्रेसले दिशा गुमाएकै हो ?
नेपाली महिला, सम्पत्तीमा स्वामित्व र अपराध
निर्जीव हुँदै संविधानका काला अक्षर, कसले भर्ने प्राण ?
सत्यकथा : भारतमा यसरी बिलय भयो सिक्किम
सोझो र निष्ठावान शहीद र धुर्त मन्त्री !
खतरामा लोकतन्त्र : भ्रष्टाचारीको यस्तोसम्म दाउ, मलाई पनि देउ तिमीपनि खाउ !
पार्टीका आन्तरिक कलह र कोतपर्वको प्रेत !
पृथ्वीनारायण शाह , बीपी र गान्धीबारे जान्नैपर्ने कुरा
महत्वपूर्ण परिचय : को हुन् ‘अन्य’ वा ‘खस–आर्य’ ?
भारतीय रक्षामन्त्रीको नेपाल भ्रमण किन ?
नेपालले सिक्नुपर्ने पाठ : सिरियाली गृहयुद्ध र संकट !
इतिहास र वर्तमानमा वैशाख १ गतेका घटना
सिंहदरवार लक्षित ‘मधेसवादी पार्टी’ र ‘मधेसवादी राजनीति’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया