नेपालमा चिनियाँहरूको आपराधिक क्रियाकलाप – यस्तो छ नालिबेली

काठमाडौँ । नेपालमा चिनियाँ नागरिकहरूको आगमन र उपस्थितिमा उल्लेखनीय बृद्धि भए सँगसँगै गैरकानुनी र आपराधिक गतिविधिमा पनि त्यही मात्रामा बृद्धि हुँदै गएको देखिन्छ । गत शुक्रबार, बैशाख २६ मा नेपालमा रहेका करिब ४५ जना चिनिया नागरिकहरू सिंहदरबार अगाडिको जुलूस प्रदर्शन गर्न निषेधित क्षेत्रमा प्लेकार्डसहित धर्ना दिँदै आफूहरू स्वदेश फर्किन चाहेको र फर्काईदिने व्यवस्था गर्न नेपाल सरकारसँग माग गरेको विषयले आखिर प्रहरीबिरुद्ध ढुङ्गामुढा र हातपातको आपराधिक हर्कतमा उत्रिएपछि प्रहरीले सामान्य बल प्रयोग गरी उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

त्यसअघि उनीहरूले बालुवाटारस्थित चिनिया दूतावास अगाडि यस्तै प्रदर्शन गर्न लाग्दा प्रहरीले तितरबितर बनाएको थियो ।

चनियाँ दूतावासका प्रवक्ता लुअन सीउतानले घटना भएको (शुक्रबार) राती नै आफ्नो पक्षको भनाइलाई सार्वजनिक गर्दै नेपालस्थित चिनियाँ दूतावासले “नेपाल प्रहरीले घटनालाई उचित रुपमा सम्बोधन गरेको” प्रतिक्रिया दिनुको साथै, नेपालमा रहे–बसेका आफ्ना नागरिकहरुलाई यहाँको कानुन र नियम अनिवार्यताका साथ पालना गर्न निर्देशन दिँदै कानुन र तर्कसंगत तरिकाले आफ्ना कुरा व्यक्त गर्न निर्देशन दिएको छ ।

नेपाल आएका अधिकांश चिनियाँहरू छाडा, अशिष्ट र झगडालु स्वभावको भएको आम जनसमुदायमा छाप परिरहेको छ । नेपालमा चिनियाहरूको गुण्डागर्दी, आपराधिक हर्कत र आपराधिक धन्धाका घटना योमात्र होइन, लामो श्रृङ्खलाको पछिल्लो निरन्तरता हो ।

पुस ९ गते ०७६ मा काठमाडौँका विभिन्न स्थानबाट १२२ जना चिनिया संदीग्ध नागरिकहरूलाई पक्राउ गरिएको थियो ।

प्रहरीका छसय जवानलाई (हालसम्म सबभन्दा धेरै संख्यामा) परिचालन गरी ४ वटा घरबाट पक्राउ गरिएका ती चिनियाहरूलाई सामुहिक रुपमा पुस २३ गते नेपालले चिनियाँ सरकारसमक्ष बुझाएको थियो ।

यस्ता छ सय अपराधी चिनियाँहरूको सूचि लिएर चिनिया अधिकारीहरूको एउटा टोली काठमाडौँ आएको थियो ।उनीहरूलाई लागेको जनही रू एक हजार जरिवानाको रकम चीन सरकारले बुझाएको थियो ।

‘अपराधी’ को दण्ड जरिवाना तिरिदिन चीन सरकारलाई कसरी जरुरी भयो ? त्यतिबेला नै यो आश्चर्यको विषय भएको हो ।

१२ मंसिर ०७६ मा हङकङबाट नेपालमा सुन तस्करी गर्न लागेका तीन चिनियाँ नागरिकहरू ८ किलोग्राम सूनसहित त्रिभुवन विमानस्थलमा पक्राउ परे । सोही वर्षको साउन २० मा हङकङबाट कपडाको बेल्टमा लुकाएर ल्याएको ४ किलो तस्करीको सूनसहित एक चिनिया एयरपोर्टमै पक्राउ परे ।

२७ चैत ०७५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन चिनिया नागरिकहरूले मलद्वारमा लुकाएर तस्करी गर्न लागेको साडेतीन किलोग्राम सून बरामद गरिएको थियो ।

सोही वर्ष कात्तिक १२ मा १ लाख २२ हजार चारसय डलर अवैध रुपमा साटेर नेपालबाट तस्करी गरी लैजाने पछिल्लो खेपका एक चिनियाँ डलरसहित पक्राउ भए । त्यस्तै सोही वर्ष भदौ ४ गते राजधानीको ठमेलबाट ‘होटेल काठमाण्डू वान’ का मालिक चेन कयाङ् सोही होटलबाट प्रतिबन्धित तीनसय ग्राम समुद्र्री घोडा (सी हर्स् फिस), करिब सात किलोग्राम अनेक जडिबुटी, साडेतीनसय ग्राम सुनाखरी, यार्चागुम्बा लगायतका सामग्री बरामदसहित पक्राउ भए ।

सोही वर्षको २३ बैशाखमा तीन किलोग्राम सूनसहित एक महिला पक्राउ परिन् । त्यसैबेला डेडकिलोग्राम तस्करीको सूनसहित ६ चिनियाँ नागरिक पक्राउ भए ।

१५ माघ ०७४ मा दुई चिनियाँ नागरिकहरू अफ्रिकी मुलुक कंगोबाट तस्करीद्वारा २ चिनियाँले नेपाल ल्याएको विश्वास गरिएको ६२ किलोग्राम सालकको खपटासहित विमानस्थलबाट पक्राउ गरिएको थियो ।

सो वर्ष पुस ८ गते एक चिनिया महिलाले जुत्ताभित्र लुकाएर ल्याएको करिब २ किलोग्राम सूनसहित विमानस्थलमा पक्राउ परिन् ।

सोही वर्ष असोज १३ मा नेपालबाट भूटान जान लागेकी अर्की चिनियाँ महिलाको साथबाट साडे ४६ हजार डलरसहित पक्राउ भईन् । सो वर्ष असोज ४ गते रसुवा नाकाबाट प्रहरीले ५० हजार डलरसहित एक चिनिया नागरिकलाई पक्राउ ग-यो । अझ अघि भदौ १८ गते ठमेलबाट चिनिया नागरिकले तस्करीका लागि ल्याएको ८८ किलोग्राम सून प्रहरीले जफत ग-यो ।

७ माघ ०७३ मा रसुवा (टिमुरे) बाट साडे १८ हजार डलरसहित एक चिनियाँ पक्राउ भए । त्यसको सात दिन अघिमात्र १ माघमा तिन चिनियाँ गाडीबाट रसुवातर्फ जाँदै गर्दा काठमाडौँको नागढुङ्गा प्रहरीले उनीहरूको साथबाट २ लाख ६० हजार डलर, साडे १८ हजार युरो तथा अस्ट्रेलियन डलरसहित पक्राउ गरेको थियो । सोही वर्षको जेठ १५ गते ३ किलोग्राम कोकिनसहित एक चिनियाँ पक्राउ परे ।

३२ जेठ ०७२ मा एक चिनियाँ महिला साडे ९८ हजार डलरसहित एयरपोर्टमा पक्राउ परिन् । सोही वर्ष भदौ १० मा २ करोड २५ लाख बराबरको विदेशी मुद्रा (७४ हजार डलर, ७६ हजार युरो, ४८ हजार स्वीस फ्य्राङ्क) सहित एक चिनिया पक्राउ परे ।
पुस ०६८ मा तातोपानीबाट भित्राईएको ९७ हजार २ सय डलरसहित केही चिनियाँ भक्तपुरको जगातीबाट पक्राउ परे ।
१८ असोज ०६७ मा एक चिनिया ४० हजार डलरसहित भक्तपुरमा पक्राउ परेका थिए ।

सो वर्षको त्यसै महिनामा तीनलाख अमेरिकी डलरसहित तीन चिनिया काठमाडौँको स्वयम्भुमा पक्राउ परेका थिए । सो वर्षको जेठ ८ गते ४६ किलोग्राम सालकको खपटासहित चिनिया तस्कर ग्रुप नै पक्राउ परेको थियो । अर्को एक १९ वर्षे चिनिया युवक बाघको हड्डीसहित पक्राउ परेको थियो ।

२०५७ सालदेखि नै चिनियाँहरू विभिन्न तस्करी र अवैध कारोबारमा संलग्न भएको प्रमाण प्रहरीसँग देखिन्छ । २०६७ सालमा तातोपानी नाका चिनिया तस्करहरूको नेपाल छिर्ने र माल छिराउने गोल्डेन गेट भएको थियो ।

त्यसताका प्रायः दिनहुँ तस्करीका सामग्री जफत भईरहेका समाचार आउने गथ्र्यो ।

वन्यजन्तुका अङ्ग, लागुऔषध, डलर, सून, रक्तचन्दन जस्ता वस्तु तस्करी गर्ने, साईबर कानुन उल्लङ्घन गर्ने, विद्युतीय नेटवर्क प्रणाली तोड्ने, अनलाईन जुवा खेलाउने, मुद्रा निर्मलीकरण, वेश्यावृत्ति गराउने, जस्ता गतिविधिमा चिनियाहरू लागेको स्थानीय जनतामा जानकारी छ ।

उनीहरू यार्चागुम्बा, रुद्राक्ष जस्ता वस्तु किन्न पनि नेपाल आईरहन्छन् । र्याफ्टिङ, ग्लाईडिङ जस्ता खेलहरूमा पनि उनीहरू संलग्न हुन्छन् ।

यो पनि पढ्नुहोस् :

चिनियाँ नागरिक र प्रहरीबीच सिंहदरवार गेटमा झडप

नेपालमा रहेका चिनियाँ नागरिकले नेपालको कानून मान्नुपर्छ : चिनियाँ दूतावास

प्रहरीमाथि अभद्र व्यवहार गर्ने चार जना चिनियाँ नागरिक थुनामा, ४३ जना छुटे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?