बोलीको ठेगान नभएका नेताहरूको राजनीति र माधवकुमार नेपाल !

काठमाडौं – सत्तारुढ नेकपाका बरिष्ठ नेता माधवकुमार नेपाल हालै नेपाल–भारत सिमानामा तार–बार लगाउनुपर्छ भनी चर्चामा आए । तारबार लगाउन के गर्नुपर्छ, कति बजेट लाग्छ, दशगजालाई कसरी व्यवस्थित गर्नुपर्छ, इन्डियाले के गर्ने हो, कति व्यहोर्ने हो यसबारे कुनै गृहकार्य छैन, न त योजनाकार, प्राविधिक र विज्ञहरूको सल्लाह, न त मार्गचित्र नै । मनमा के लहड चल्यो भनिदिए ।

यस्तै बोलीको ठेगान नभएको कारण नेपालको समकालीन राजनीतिका नेताहरूलाई नेता कम गफाडी बढी भएका मानिस भन्छन् । बोलीको वजन र ठेगान नभएकै कारणले इन्डिया र चीनले पनि यिनीहरूलाई हेप्नुसम्म हेपेको हो । त्यसो त बरिष्ठ नेता नेपाल आफ्ना अभिव्यक्तिद्वारा बेलाबखत चर्चामा आईरहने कम्युनिस्ट नेता हुन् । यस सँगसँगै उनले भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्याललाई ‘जथाभावी नबोल्न ’ सचेत गराएका थिए । मन्त्री अर्याल अर्की नालायक र विवादास्पद मन्त्री हुन् ।

संसदको राज्यव्यवस्था समितिले गत कार्तिकमै कालापानी क्षेत्र सम्मिलित नेपालको नक्शा तुरुन्त प्रकाशित गर्न निर्देशन दिएको थियो । तर त्यो निर्देशनलाई लत्याएर यिनी कानमा तेल हालेर बसिन् । संसदीय समितिले आफ्नो ‘निर्देशन किन पालन नगरेको’ भनेर सोध्यो । यिनले ‘वर्तमान परिस्थितिले गर्दा….’ भनी कोरोना महामारी र लकडाउनलाई बहाना बनाउँदै हलुका जवाफ दिईन् । भारतले कालापानी पनि आफ्नै मानचित्रमा गाभेर नयाँ नक्सा प्रकाशित गरेको ०७६ कार्तिक १६ गते । संसदको राज्यव्यवस्था समितिले मन्त्रीलाई उक्त निर्देशन दिएको कात्तिक अन्तिमतिर । चैत ११ गतेदेखि लागेको लकडाउनलाई मन्त्रीले बहाना बनाएर छल्ने सिल्ली काम गरिन् । यसैलाई माधव नेपालले कटाक्ष गरेका हुन् ।

२०७५ मध्य मंसिरमा कोरियाको संदीग्ध तथा विवादास्पद ‘युनिफिकेसन चर्च’ को खर्च र तत्वावधानमा नेपाल सरकारलाई प्रबन्धक बनाउँदै काठमाडौँमा ‘एशिया प्यासिफिक सम्मेलन’ गराएको थियो । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल त कार्यक्रम आयोजक समितिका प्रमुख नै थिए । मन्त्री, नेता, प्रदेश सरकारदेखि सबै तहका नगरपालिकाहरू ४ दिनसम्म सारा काम छोडेर यसैमा ओइरो लागे । प्रधानमन्त्री ओली पनि सम्मेलनको ४ दिन सोल्टी होटेलमै गएर बसी प्रबन्धनिर्देशक जस्तै भएर खटे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रभु येशुकी छोरी’बाट एककरोड रुपैयाँ राशी, स्वर्णपदक र सम्मानपत्रसहितको ‘सुशासन पुरस्कार’ गुड गभर्नेन्स् अवार्ड प्राप्त गरे सो वर्षको मंसिर १६ गते, अत्यन्त खर्चिलो भव्य इसाई समारोहका बीच । भ्रष्टाचार, दण्डहिनता, अराजकता, लापरवाही र कुशासनले ग्रसित नेपालमा गुड गभर्नेन्स् अवार्ड पाएका उनै ओलीको करिब दुईतिहाई बहुमतको कम्युनिस्ट सरकार आज असफलता एवं पतनको डिलमा पुगेको छ । शासकीय बिजोग भएका प्रधानमन्त्रीलाई ‘सुशासन अवार्ड’

त्यतिमात्र होइन, सम्मेलन अवधिभरका लागि मंसिर १३ गतेदेखि १६ गतेसम्म ४ दिन काठमाडौँ उपत्यकाका सडकहरू नै सुनसान बनाउने काम गरियो गाडीको नम्बर जोर बिजोरका आधारमा एकदिन बिराएर चलाउने गरी । आफूलाई माक्र्स्वादी र धर्मलाई अफिम भन्ने वर्तमान सरकारले क्रिश्चियानिटीप्रति देखाएको कुरीकुरीलाग्दो र कसैका लागि कन्पारो तात्ने घटना थियो त्यो । प्रतिनिधिसभा घोषणा २०६३ मा ‘रहस्यमय र तिलश्मी तालले ‘नेपाल धर्मनिरपेक्ष राज्य हुनेछ’ भन्ने वाक्य कसरी घुसाइयो, यसबारे सत्ता वरिपरिका कसैलाई पनि थाहा छैन ।

सो इसाई सम्मेलन ‘सम्पन्न’ गरेपछि हिन्दु धर्म र संस्कृति मास्ने नियतले ल्याईएको विवादास्पद गुठीसम्बन्धी विधेयक संसदमा प्रस्तुत गरेलगत्तै प्रधानमन्त्री केपी ओली युरोपका महत्वपूर्ण मुलुकको भ्रमणमा निस्किएको रहस्यलाई धेरैले संयोग र सतही अर्थमा मात्र बुझे । तर त्यसभित्रको रहस्य खोतल्न कोही लागेनन् । धर्मनिरपेक्षतालाई पसल बनाएर मुलुकको धर्म, संस्कृति, परम्परा र पहिचान नै बेच्न उद्यत कम्युनिस्ट सरकार धर्मनिरपेक्षताको आवरणमा इसाईकरण र विस्तारलाई युरोपबाट गरिएको लगानीको ठूलो हिस्सा धर्मनिरपेक्षताको पक्षधर झन्डै दुईतिहाई समर्थनको कम्युनिस्ट पार्टीमा नआओस् भन्ने कदापि चाहँदैन । यसका सम्पूर्ण हर्ताकर्ता र सूत्रधार माधव नेपाल नै थिए ।

लामो समयसम्म पार्टीको महासचिव २०५०–२०६५ रहँदा माधव नेपालले गरेका विरोधाभासपूर्ण राजनीतिक गतिविधि अनगिन्ती छन, नेपालका लागि अमेरिकी राजदूत मालिनोभ्स्की एमाले पार्टी कार्यालयमा पुग्दा मार्स्क, एङ्गेल्स्, लेनिन आदिका ठूला तस्बीरहरू हतारहतार भित्ताबाट हटाउनु, प्रधानमन्त्री हुन राजाकहाँ विन्तीपत्र ‘दावीपत्र’ हाल्नु, राजाका बिरूद्ध पाँच पार्टीहरूको संयुक्त आन्दोलन चलिरहँदा २०६१ जेठ २२ गतेबाट एमालेलाई सडकबाट एकाएक गायब गराउनु, प्रतिगमन आधा सच्चियो भन्दै राजाले गठन गरेको मन्त्रिमण्डलमा आफ्ना मान्छे पठाउनु, आमाको निधनका बेला प्रधानमन्त्री पद पाइने सम्भावना बढिरहेको अवस्थामा पद नउम्काउन काज किरिया नै नगर्नु, भारतले नेपाली सेनालाई दिने हतियार रोकेकोले चीनबाट ल्याएको कुरालाई नयाँदिल्लीको धर्तीमा उभिएर आफ्नो मुलुकको विरोध गर्नु, भाईहरूलाई इज्जत र आम्दानी हुने लाभका पदमा नियुक्त गर्नु, सत्तामा जानका लागि २०५१ मा अरुण–३ आयोजनमा लगानी रोक्न विश्व बैंकलाई चिठी लेखेर आयोजना नै तुहाउनु, माओवादीले कांग्रेसका कार्यकर्ता मार्दा चुप लाग्नु उल्टै ‘माओवादी र एमालेको जात एउटै हो, गोत्रमात्र फरक हो’ भनी कांग्रेसलाई ललकार्नु आदि प्रसंग कति छन् कति ?

२०५८ जेठ १९ गते दरबार हत्याकाण्ड हुँदा यिनले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई राजिनामा गरेर सत्ताबाहिर आउन भनेका थिए, तर आफू नयाँ राजा ज्ञानेन्द्रलाई राज्यारोहण गरेपछि दाम राखेर दर्शनभेट गर्न पुगेका थिए ।

उनले राजालाई असर्फी राखेर दर्शन गरेको फोटोलाई तत्कालीन एमाओवादीले २०७० को संविधानसभा निर्वाचन हराउने मसाला बनायो । त्यसैले रौतहटमा माओवादीका देवेन्द्र पटेल र काठमाडौँमा आफ्नो उम्मेद्वार झक्कुप्रसाद सुवेदीलाई जिताउने आधार माओवादीले बनाउन पायो । तर यस्ता प्रपोगण्डाले हावा खायो । आज कता छन् झक्कु र देवेन्द्र माधव नेपालले ०७४ को चुनावमा अघिल्लोपटक हारेका दुवैतिर जितेर देखाइदिए ।

२०६३ साल कार्तिक २२ गते सात राजनीतिक दल र माओवादीको शीर्ष नेताहरूको बैठकबाट केही निर्णय भएका थिए, त्यसमा एमालेको महासचिवका हैसियतले राजतन्त्र हटाउने भन्ने विषयमा भिन्नमत रेकर्ड गराएर आफ्नो आधिकारिक हैसियतका साथ हस्ताक्षर गरेका थिए, जसमा भनिएको छ,
“१ राजसंस्था राख्ने वा नराख्ने भन्ने बारेमा संविधान सभाको निर्वाचन सँग सँगै जनमत संग्रह गर्नुपर्छ भन्ने नेकपा (एमाले) को भिन्न मत रहेको छ । २। संविधानसभाको निर्वाचनको निम्ति समानुपातिक प्रणाली नै अपनाउन सबैभन्दा लोकतान्त्रिक तरिका हुन्छ भन्ने नेकपा। (एमाले) को भिन्न मत रहेको छ ।”

आलोचना र आख्यान जेसुकै भए पनि नेता नेपाल नरम, सन्तुलनवादी, लोकतन्त्रप्रति आस्थावान र सत्तारुढ नेकपाका योग्यतम नेतामध्येका एक मानिन्छ । समयको महत्व राखेर काम गर्ने, बोलाएका कार्यक्रममा दिईएको समयमै पुग्ने, राजनीतिमा व्यक्तिगत गुणात्मक चरित्रको महत्व बुझेका, सुरा–सुन्दरी–खेलवाड तमासाबाट टाढै रहेका नेपाल नेकपाभित्र ओलीपछिको ठूलो गुटका नेता हुन् । उनीसँग जेजति सहकर्मी र अनुकूलका नेताहरू छन्, ती सबै सचेत र ‘म्यान अफ इन्टिग्रिटी’ भएकाहरू नै छन् ।

आफ्ना पिता पं. मंगलकुमार उपाध्यायको ९९ वर्ष उमेरमा निधन हुँदा जेठा छोरा माधवकुमार नेपाल यसैगरी भक्कानिए ।

पिताबाट उनी र छोराछोरी सबै गौरवान्वित थिए । मृदुभाषी, सात्विक, आध्यात्मवादी पिताका कम्युनिष्ट छोराले पिताको काज किरिया चाहिँ गरेनन् ।

त्यसो त आमाको निधन हुँदा पनि यिनले काज किरिया नगरेर ‘होलि वाईन खाने यिनी क्रिश्चियन नै हुन्’ भन्नेजस्ता चर्चा र विवादका लहर फैलाएकै हुन् ।

प्रधानमन्त्री भएको ४ महिनामै महिलावादी एक राष्ट्रसंघीय सद्भावना दूत गेरी हलीवेलले उनका गालामा म्वाईँ खानका लागि कसरी अँगालो मारेकी थिइन्, हेर्नुस् त फोटो !

यो पनि चर्चाकै विषय थियो ।

अघिल्लो संविधानसभा चुनाबमा रौतहट र काठमाडौँ–२ मा दुबैतिर उठेका नेपाल पराजित भए पनि दिल्ली दाहिना भएकोले प्रधानमन्त्री बनाइदियो ।

त्यसका लागि विवादास्पद पर्यटनमन्त्री भएर ७ महिनामै विदा भएका दिपक अमात्यका पिता एमालेकै सभासद सुशीलचन्द्र अमात्यलाई श्रीलंकाको राजदूत बनाइदिने सर्तमा २०६५ सालमा राजिनामा गराइयो र नेपाल संविधानसभामा पसेर पहिले संवैधानिक समितिको अध्यक्ष र पछि प्रधानमन्त्री भएका थिए ।

भारतीय समाचार संस्था ‘प्रेस ट्रस्ट अफ इन्डिया’ (पीटीआई) ले यिनी प्रधानमन्त्री भएको बेलामा एउटा समाचार छाप्यो, जसलाई ०६६ बैशाख २९ गतेको कान्तिपुरले ‘नेपाल भारतीय मूलका ! ’ शीर्षकमा यसरी क्यारी ग-यो, ….“उक्त समाचारलाई भारतीय अन्य समाचारमाध्यमले पनि प्राथमिकता दिएका छन् । रौतहटका ५६ वर्षीय नेपालबारे इथिनिक इन्डियन माधव नेपाल मे बिकम नेक्स्ट् पीएम् शीर्षक समाचारमा उनका पुर्खा भारतबाट आएको दाबी छ, ‘भारतीय जातीय मूलका बरिष्ठ नेता नेपाल नयाँ प्रधानमन्त्री बन्न सक्छन् ।’

यिनी प्रधानमन्त्री भएका बेला माओवादी लडाकु समायोजनले एक खुड्किलो गति लियो । लडाकुहरूलाई माओवादीको नियन्त्रणबाट छुटाएर सरकारको मातहतमा ल्याइयो । संविधान दिन त परै जाओस्, मुलुकको प्रधानमन्त्री छान्न पनि नालायक भइसकेको विघटित संविधानसभाको अकर्मण्यताले गर्दा यिनले प्रधानमन्त्रीबाट त्यागपत्र दिएर पनि सात महिनासम्म कामचलाउको रुपमा आफ्नो भूमिका निर्वाह गरेका थिए । नेपालको राजनीतिक इतिहासमा राजीनामा स्वीकृत भएर पनि कामचलाउको रुपमा त्यति लामो प्रधानमन्त्री भइरहेको ब्यक्ति उनै पहिलो हुन् ।

२०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले २०१७ साल पुस १ गतेको शैलीमा सत्ता हत्याएपछि माधव नेपाल पक्राउमा परे । उनलाई कसैसँग पनि भेटघाट गर्न नदिने किसिमले ककनीस्थित सशस्त्र प्रहरीको तालिम केन्द्रमा बन्दी बनाएर राखियो । संविधानसभाको निर्वाचनपछि उनलाई राष्ट्रपति हुने अफर आयो, तर माओवादीका देव गुरूङ्जस्ता नेताहरूले उहाँ ‘समावेशी खालको हुनु भएन’ भन्ने विरोध गर्दै ‘समावेशिता’ का नाममा जनजाति अनुहार खोज्यो । यसले गर्दा उनको उम्मेद्वारी टुङ्गियो । पछि डा। रामवरण यादबले राष्ट्रपति पद पाउँदा उनले टोलमा मिठाइ नै बाँडे ।

यिनको निजी जिन्दगी सात्विक र सादगीपूर्ण छ । धूमपान, मद्यपान आदि केहीको पनि अमल यिनमा छैन । २०२६ सालमा यिनी कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन्, जुन बेला उनी ‘सुबोध’, ‘सुनील’, ‘रन्जन’, ‘बिबेक’ आदि छद्मनामबाट लेख–रचनाहरूद्वारा यिनी सार्वजनिक जीवनमा चिनिने गर्थे । बि।कम। पढेका यिनी पार्टीमा लाग्नुअघि नेपाल बैंकमा काम गर्थे ।

२०३२ सालमा विराटनगरमा भएको सम्मेलनमा उनी अखिल नेपाल कम्युनिष्ट क्रान्तिकारी समन्वय कमिटी (मार्स्कवादी–लेनिनवादी) को ब्युरो सदस्य निर्वाचित भए । २०३५ सालमा यिनी ‘नेकपा (माले) गठन हुँदा पोलिटब्युरो सदस्य भए ।

२०१० सालको फागुनमा रौतहटको गौरमा पिता स्व. मंगलप्रसाद तथा आमा दुर्गादेवीका जेठा छोरा भएर जन्मेका नेपाल २०५१ सालको नौ महिने एमाले सरकारमा उपप्रधानमन्त्री, परराष्ट्र र रक्षामन्त्री भए । झापाका आचार्यकी छोरी गायत्री यिनकी पत्नी हुन्, जो राष्ट्रिय बाणिज्य बैँकमा काम गर्थिन् । छोराछोरीहरूलाई आ–आफ्ना मानो–मेलोमा लगाइसकेका यिनलाई बाँकी जीवन राजनीतिमै बिताउनु छ र बन्नुछ नेकपाको अध्यक्ष । त्यसैले महामारी र लकडाउनको अवस्थामा यिनी ओलीको खुट्टा तानेर आफू अध्यक्ष र वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन प्रचण्डको उक्साहटमा उक्सिएकै हुन् ।

यिनी भारतको एक महत्वपूर्ण मित्रका रुपमा पनि स्थापित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?