नेपाल-भारत सीमा क्षेत्र दार्चुला जिल्लाको व्याँस गाउँपालिका-१ छाङरु (गागा) स्थित महाकाली नदी किनारमा गस्ती गर्दै सशस्त्र प्रहरीको टोली । बुधबार स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको सीमा निगरानी चौकी (विओपी) बाट खटिएको टोलीले यहाँ बिहीबारदेखि गस्ती थालेको छ ।
काठमाडौं । सरकारले नेपाल-भारत सीमा क्षेत्र दार्चुलाको व्याँस गाउँपालिका-१ छाङरु (गागा) मा चौकी स्थापना गरेको छ । बुधबार सो चौकी स्थापना भएको थियो । तिङ्कर नदीको किनारमा घरलाई भाडामा लिएर सशस्त्र प्रहरी बल नेपालले सीमा निगरानी चौकी (विओपी) स्थापना गरेको छ ।
राज्यको कमजोर उपस्थिति रहेको दार्चुलाको विकट हिमाली क्षेत्र व्यास गाउँपालिका-१ स्थित भारतीय सीमा जोडिएको छाङरु (गागा) मा सीमा रक्षाको दृढ सङ्कल्पका साथ बुधबारदेखि सशस्त्र प्रहरीले गस्ती थालेको छ ।
मुलुकको इतिहास मै पहिलो पटक सरकारले जिल्ला सदरमुकाम खलङ्गास्थित सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मबाट बुधबार यहाँको सीमा सुरक्षाका लागि सशस्त्रको टोली पठाएको हो । आफ्नो बन्दोबस्ती र गाँस, बास, कपासको जोहो गर्ने काम पूर्ण नहुँदै सशस्त्रले सीमा गस्तीलाई उच्च प्राथमिकता दिएर गस्ती नियमित गरेको हो । केही टोली दार्चुलाबाट आउँदै गर्दा अघिल्लो दिन आइपुगेका टोली सुरक्षामा खटिएको थियो ।
प्रतिक्रिया