कोरोना संक्रमित भागे गोली हान्न पर्सा प्रशासनको आदेश

काठमाडौं । कोरोना संक्रमितहरु अस्पतालबाट भाग्ने क्रम बढेपछि पर्सा प्रशासनले ‘बोल्ड’ निर्णय लिएको छ । अब उप्रान्त संक्रमितहरु भागे वा फरार भएमा सुरक्षाकर्मीले बल प्रयोग गर्न वा गोली चलाउन समेत सक्नेछन् ।

पर्सा प्रशासनले एक निर्देशन जारी गर्दै अब उप्रान्त कोरोना संक्रमित उपचारत अस्पतालबाट भागेमा उनीहरुलाई नियन्त्रणमा लिन बल प्रयोग गर्न वा आवश्यक परेमा गोली हान्न समेत निर्देशन दिइएको हो ।

बिहिवार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले संक्रमित कोहि पनि अस्पतालबाट भागेमा निज (कोरोना संक्रमित)लाई गोली हान्ने अधिकार सुरक्षाकर्मीहरूलाई दिएको हो।

यस अगाडि (बुधवार) वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए।

प्रहरीले उनीहरूमध्ये एकलाई सोही दिन र अर्का फरार संक्रमितलाई भागेर मामाघर पुगेको अवस्थामा भोलिपल्ट पक्राउ गरेको हो ।

त्यस भन्दा अगाडि काठमाडौंको शुक्रराज ट्रपिकलमा उपचाररत एकजना संक्रमित पनि फरार भएर पछि पक्राउ गरिएको थियो ।

कोरोना भाइरसको प्रकृति निकै आक्रामक भएको र सहजै एकबाट अर्काेमा सर्दछ ।

त्यसैले यो महामारीबाट विश्वभर ३ लाख भन्दा धेरै मानिसले ज्यान गुमाईसक्दा नेपालमा केहि दिन अगाडि मात्रै परिक्षणको दायरा बढेकोले धमाधम संक्रमित थपिरहेको छन् ।

महामारीबाट बच्न सावधानी स्वरुप प्रशासनले यस्तो बोल्ड निर्णय लिएको हो । प्रशासनको यो निर्णय पछि संक्रमित भाग्दैनन् भन्ने अपेक्षा गरिएको छ ।

यदि संक्रमित अटेर गरि भागेमा सुरक्षाकर्मीले बल प्रयोग गरि नियन्त्रणमा लिन सक्ने प्रशासनले जनाएको छ ।

यस्तै बैठकले आवश्यक आइसोलेसन बेड माग गर्ने सम्बन्धमा पनि निर्णय गरेको छ । संक्रमित धमाधम बढ्दै जाँदा आफूसँग भएको श्रोत साधन अपर्याप्त हुने भन्दै थप माग गर्ने निर्णय गरेको हो ।

यस्तै पर्सा जिल्लामा लागू गरिएको निषेधाज्ञा (कर्फ्यू) अझ थप प्रभावकारी बनाउने निर्णय पनि गरेको छ ।

बैठकले विभिन्न मितिबाट जारी गरिएको सबै प्रकारका ई पास खारेज गर्ने, शंकास्पद, सम्भावित संक्रमितलाई क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउने, वीरगञ्ज रक्सौल सीमानाका, आईसीपी, सुक्खा बन्दरगाह सोही जिल्लामा रहेको भन्दै भारतबाट प्रवश गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमानाकामा थप कडाई गर्ने समेतको निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?