काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मदन भण्डारी तथा जीवराज आश्रितको रहस्यमयी मृत्युको सत्य तथ्य पत्ता लगाउने संकल्प गरेका छन् ।
२७औँ मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा आज वक्तव्य जारी गर्दै अध्यक्षद्वय ओली प्रचण्डले त्यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।
विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गमा जिप दुर्घटनामा परी तत्कालीन नेकपा (एमाले) का महासचिव जननेता मदन भण्डारी र तत्कालीन सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो ।
उक्त घटनाको रहस्य अझै उद्घाटित हुननसकेको र आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटना मान्न तयार नरहेको भन्दै विज्ञप्तिमा नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरुद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिने गरेको जनाइएको छ ।
मदन–आश्रित स्मृति दिवसकै ऐतिहासिक सन्दर्भ पारेर ठीक दुई वर्ष अगाडि विसं २०७५ जेठ ३ गते नेपाल कम्युनिस्ट पार्टीको एकीकरण भएको थियो । दिवङ्गत भण्डारीले नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर समकालीन कम्युनिस्ट आन्दोलनमा विशिष्ट योगदान पुर्याएको उल्लेख गर्दै वक्तव्यमा लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतालाई आत्मसात गर्दै कम्युनिस्ट पार्टीलाई नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रूपमा स्थापित गर्न, नेपालको विशिष्ट परिस्थितिअनुसार क्रान्तिको मौलिक बाटो र सिद्धान्तको विकास गर्न एवं प्रगतिशील राष्ट्रवादका आधारमा राष्ट्रिय हितको दृढ पक्षपोषण एवं राष्ट्रियताका पक्षमा अथक सङ्घर्ष गर्न जननेता मदन भण्डारीको देन विशिष्ट महत्वको रहेको स्मरण गरेका छन् ।
जनादेशबमोजिम मुलुकको मुहार बदल्न जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ सङ्कल्पित रहेको जनाए ।
उनीहरुले सरकार गठनका दुई वर्ष र पार्टी एकतापछिका अवस्थाहरुको विश्लेषण गर्दै वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अथक प्रयास गरेको उल्लेख गरेका छन् ।
“थुप्रै कठिनाइ र सीमाका बाबजुद यस क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल भएका छन् । प्राप्त यस ऐतिहासिक एवं दुर्लभ अवसरलाई जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ सङ्कल्पित रहेको छ”, वक्तव्यमा भनिएको छ ।
“मार्स्कवाद–लेनिनवादको मार्गदर्शन, नेपालको विशिष्ट परिस्थितिमा त्यसको सिर्जनात्मक प्रयोग र विकास, रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद र तात्कालिक कार्यक्रम जनताको जनवादजस्ता विषयले पार्टी एकताको वैचारिक, राजनीतिक जग निर्माण गरेका छन् । स्थापनाकालदेखि नै राष्ट्रियता, लोकतन्त्र, जनजीविका र सामाजिक–आर्थिक रूपान्तरणका लागि भएका सङ्घर्षहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यो पार्टी आज जनादेश प्राप्त गरेर राज्य सञ्चालनको केन्द्रीय भूमिकामा स्थापित भएको छ”, विज्ञप्तिमा भनिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया