नयाँ बसपार्क नजिकै बस्थिन् कोरोनाबाट मृतक महिला, ‘एरिया सील’ गरिँदै

काठमाडौं । सिन्धुपाल्चोक स्थायी घर भएकी कोरानाबाट मृत्यु भएकी महिला काठमाडौंस्थित डेरामा पनि केहि समय बसेको खुलासा भएको छ ।

कोरोना संक्रमण भएर ज्यान गुमाएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क नजिकै बस्दै आएको खुलेको हो ।

उनी सहित उनको परिवार गोंगबुस्थ्ति बिजी महलको अगाडि पट्टि, कुलान्त मार्गको टोखा-९ मा कोठा भाडामा बस्दै आएका थिए ।

कोरोना संक्रमणको कारण उनको मृत्यु भएको मन्त्रालयले शनिवार पुष्टि गरेसँगै उक्त क्षेत्र सील गर्न लागिएको हो । गत वैशाख २४ गते सामान्य रुपमा नै उनले बच्चा जन्माएकी थिइन् । त्यसपछि अस्पतालले २५ गते उनलाई त्यहाँबाट डिस्चार्ज गरेको थियो ।

उनी गत वैशाख २२ गते पनि आफ्नो कोठामा गएर बसेको र त्यहिँ बाट टिचिङ अस्पताल गएको कुरा श्रोतले बताएको छ । अस्पतालले डिस्चार्ज गरे पछि भने उनी गृहजिल्ला सिन्धुपोल्चोकमै गएर बसेकी थिइन् ।

साथै उनलाई कुर्ने केहि आफन्तहरु भने अझै पनि गोंगबुस्थित सोहि कोठामा बसीरहेको खुल्न आएको हो ।

अस्पताल स्रोतका अनुसार उनले साढे सात महिनामा नै बच्चालाई जन्म दिएकी थिइन्।

कोरोना संक्रमणबाट उनको मृत्यु भएको पुष्टिसँगै नेपालभर नै त्रास पैदा भएको छ । कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् ।

सिन्धुपाल्चोकस्थित उनको घर र माइती गाउँमा पनि सील गरिएको छ । साथै टिचिङ अस्पताल र उनको मृत्यु भएको धुलिखेल अस्पताल पनि शनिवार नै सील भईसकेको छ ।

यस अगाडि शनिवार उनको शव धुलिखेलबाट काठमाडौं पशुपति आर्यघाटमा ल्याई विद्युतिय शवदाहबाट अन्तिम संस्कार गरिएको थियो । र उनको भर्खर जन्मिएका ८ दिनका शिशु अस्पतारमै रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?