काठमाडौं । युधिष्ठिरले भन्नुभयो – हे भगवान १ ज्येष्ठ कृष्णपक्षको एकादशीको के नाम हो तथा त्यसको माहात्म्य के छ त्यो कृपा गरी आज्ञा गर्नु हवस् ? भगवान श्रीकृष्णले आज्ञा गर्नुभयो हे राजन १ यो एकादशी ‘अचला’ तथा’ अपरा दुई नामबाट प्रसिद्ध छ ।
पुराण अनुसार ज्येष्ठ कृष्ण पक्षको एकादशी अपरा एकादशी हो, किनभने यसले अपार धनसंपदा प्रदान गर्दछ ।
जो मनुष्यले यस व्रतलाई नियमपूर्वक पालना गर्दछ , त्यो संसारमा प्रख्यात हुन्छ । यस दिन भगवान त्रिविक्रमको पूजा गर्ने प्रचलन छ ।
अपरा एकादशीको व्रतको प्रभावले व्रह्महत्या,भूतयोनि,परनिन्दा आदिबाट उत्पन्न भएका सबै पाप नष्ट हुन्छन् ।
यस व्रतको पालनाबाट परस्त्री गमन,झूठो बकपत्र,असत्यवादन,नक्कली विद्याध्ययन वा निर्माण, नक्कली भविष्यवाणी तथा नक्कली वैद्य हुनु आदि सबै पाप नष्ट हुन्छन् ।
जो क्षत्रिय युद्धभूमिबाट भाग्छन ती नरकगामी हुन्छन,परन्तु अपरा एकादशीको व्रत लिनाले ती पनि स्वर्ग पुग्दछन ।
जो शिष्य गुरूसित शिक्षा ग्रहण गरेर पुनःउनकै निन्दा गर्दछन ति पनि नरकगामी हुन्छन् तर अपरा एकादशीको व्रत गर्नाले ती पनि यस पापबाट मुक्त हुन पुग्छन् ।
जुन फल तीनै वटा पुष्कर तीर्थमा कार्तिक पूर्णिमाका दिन स्नान गर्नाले वा गंगा तटमा पितृहरूलाई पिण्डदान गर्नाले प्राप्त हुन्छ , त्यो फल अपरा एकादशीको व्रत गर्नाले प्राप्त हुन जान्छ ।
मकरको सूर्यमा प्रयागराजको स्नानबाट, शिवरात्रिको व्रत गर्नाले,सिंह राशिको बृहस्पतिमा गोमती नदीको स्नानबाट,कुंभमा केदारनाथको दर्शन वा बद्रीनाथको दर्शन,सूर्यग्रहणमा कुरुक्षेत्रको स्नानबाट,स्वर्णदान गर्नाले अथवा अर्द्धप्रसूता गौदानबाट जुन फल प्राप्त हुन्छ , त्यही फल अपरा एकादशीको व्रतबाट प्राप्त हुन्छ ।
यो व्रत पापरूपी वृक्षलाई काटने बन्चरो हो । पापरूपी ईन्धनलाई बाल्ने अग्नि,पापरूपी अन्धकारलाई मेटाउने सूर्य,मृगलाई मार्ने सिंह समान छ ।
अतः मनुष्यले पापसित डराउँदै यस व्रतलाई अवश्य पालना गर्नु पर्दछ । अपरा एकादशीको व्रत तथा भगवानको पूजन गर्नाले मनुष्य सबै पापबाट मुक्त भई विष्णु लोकमा पुग्दछ । यस अपरा वा अचला एकादशीको प्रचलित कथाअनुसार प्राचीन कालमा महीध्वज नामक एउटा धर्मात्मा राजा थिए ।
त्यसको कान्छो भाइ वज्रध्वज असाध्यै क्रुर,अधर्मी तथा अन्यायी थियो । ऊ आफ्ना दाजुसित द्वेषबुद्धि राख्दथ्यो । त्यस पापीले एक दिन रात्रिको समयमा आफ्ना दाजुको हत्या गरेर उनको मृत शरीरलाई जंगलमा एउटा पीपलको फेदमा गाड़यो ।
यस अकाल मृत्युबाट राजा प्रेतात्माका रूपमा त्यसै पीपलको रुखमा बस्नथाले र किसिम किसिमका उत्पात गर्न थाले । एक दिन कतै जाने उद्देश्यले धौम्य नामका ऋषिले त्यही पीपलको रुख रहेको बाटो हुँदै यात्रा गरे ।
उनले त्यस प्रेतलाई देखे र तपोबलका माध्यमले प्रेतको अतीतलाई पहिचान गरे,साथै आफ्नो तपोबलले प्रेतले उत्पात मच्चाएको पृष्ठभूमि एवं कारणसमेत थाहा पाए ।
ऋषिले प्रसन्नचित्त भई त्यस उस प्रेतलाई त्यस पीपलको रुखबाट बाहिर निकाले र परलोकगमन गर्न अलौकिक विद्याको उपदेश गरे ।
दयालु ऋषिले राजाको प्रेतयोनिबाट मुक्ति दिलाउन स्वयं आफूले अपरा (अचला) एकादशीको व्रत सम्पादन गरे र ती राजालाई अधोगतिबाट मुक्त बनाउन त्यस एकादशीको पुण्य त्यस प्रेतलाई अर्पित गरे ।
यस पुण्यको प्रभावबाट राजाको प्रेतयोनिबाट मुक्ति भयो । तिनले ऋषिलाई साधुवाद व्यक्त गर्दै दिव्य देह धारण गरी पुष्पक विमानमा बसेर स्वर्गलोक प्रस्थान गरे ।
यस एकादशीको व्रतकथालाई पढने तथा सुन्ने दुबै थरी वैकुण्ठ पुग्छन भन्ने मान्यता छ । यसलाई पढ्नाले अथवा सुन्नाले मनुष्य सबै पापबाट मुक्त हुन्छ ।
ज्यो.दुर्गा भण्डारी ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया