जनस्वास्थ्यविद् डा.पाण्डेको निस्कर्ष – नेपालका विभिन्न गाउँमा कोरोना संक्रमणको अवशेष छ ‘टास्क फोर्स’ बनाऔँ

काठमाडौं – जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले अहिलेको कोरोना संक्रमण दोस्रो वेभ हुनसक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले नेपालमा कोरोना संक्रमणको पहिलो वेब जनवरी र फेब्रुअरीमा आएको निस्कर्ष निकालेका छन् ।

उनले लेखेका छन्, ”त्यो बेला काठमाडौं लगायत देशभर निकै कडा खालको रुघाखोकी तथा ज्वरो फैलिएको थियो । उक्त समयमा उच्च ज्वरोको कारण केहि व्यक्तिको मृत्यु भएको समाचार हामीले पढेका थियौं । यसलाई पुष्टि गर्ने केहि आधार छन् ।”

सामाजिक सञ्जालमार्फत् स्वास्थ्यउपचारका टिप्स, जानकारी, कोरोना भाइरस र यसबाट बच्न उपायहरु सेयर गरिरहने जनस्वास्थ्यविद् डा. पाण्डेले नेपाल भ्रमण गरेर स्पेन फर्किएपछि एकजना स्पेनिशको फेब्रुअरी १३ मा भेलेन्सिया अस्पतालमा कोरोना संक्रमणको कारण मृत्यु हुनु, फेब्रुअरी २७ मा नेपालबाट अस्ट्रेलिया गएका एक बिद्यार्थीलाई तास्मानियामा परिक्षण गर्दा कोरोना संक्रमण पोजिटिभ देखिनु, माघ तथा फाल्गुनमा उच्च ज्वरोको कारण नेपालका विभिन्न ठाउँमा केहि मृत्यु भएका घटना, फाल्गुन तथा चैत्रमा संसारभर कोरोना संक्रमण तीव्र गतिमा फैलिँदा नेपालमा अत्यन्तै न्यून केस देखिनु लगायतका आधारहरु दिँदै ‘अहिलेको कोरोना संक्रमण दोस्रो वेभ हुनसक्ने’ बताएका हुन् ।

उनले लेखेका छन् : 

नेपालमा कोरोना संक्रमणको पहिलो वेब जनवरी र फेब्रुअरीमा आएको मेरो निस्कर्ष छ | त्यो बेला काठमाडौं लगायत देशभर निकै कडा खालको रुघाखोकी तथा ज्वरो फैलिएको थियो | उक्त समयमा उच्च ज्वरोको कारण केहि व्यक्तिको मृत्यु भएको समाचार हामीले पढेका थियौं | यसलाई पुष्टि गर्ने केहि आधार छन् |
.
१. बेलायतबाट प्रकाशित हुने डेलिमेल लगायत धेरै पत्रिकाले त्यो बेला लेखेका थिए कि नेपाल भ्रमण गरेर स्पेन फर्किएपछि एकजना स्पेनिशको फेब्रुअरी १३ मा भेलेन्सिया अस्पतालमा कोरोना संक्रमणको कारण मृत्यु भएको थियो | त्यो नै स्पेनको कोरोना संक्रमणबाट भएको पहिलो मृत्यु थियो |

२. फेब्रुअरी २७ मा नेपालबाट अस्ट्रेलिया गएका एक बिद्यार्थीलाई तास्मानियामा परिक्षण गर्दा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो |

३. माघ तथा फाल्गुनमा उच्च ज्वरोको कारण नेपालका बिभिन्न ठाउँमा केहि मृत्यु भएका थिए |

४. फाल्गुन तथा चैत्रमा संसारभर कोरोना संक्रमण तीब्र गतिमा फैलिंदा नेपालमा अत्यन्तै न्यून केस देखिएका थिए | यसबाट के अनुमान लगाउन सकिन्छ भने नेपालको केहि जनसंख्या कोरोना संक्रमण बिरुद्ध इम्युन भएको हुनसक्छ | बैशाखसम्म एकजना बिरामी पनि आइसीयु तथा भेन्टिलेटरमा बस्नु परेको थिएन | त्यस्तै कसैको पनि मृत्यु भएको थिएन |

५. नेपालका अधिकांश ठाउँमा र्यापिड टेस्ट पोजिटिभ भएका व्यक्तिलाई PCR टेस्ट गर्दा नेगेटिभ देखिएको छ | र्यापिड टेस्टमा ३० देखि ६० प्रतिशत फल्स रिपोर्ट आउँछ, १०० % फल्स रिपोर्ट आउंदैन | र्यापिड टेस्ट पोजिटिभ तथा PCR टेस्ट नेगेटिभको अर्थ के हुन्छ भने अहिले सक्रिय संक्रमण छैन तर पहिले संक्रमण भएर शरीरमा एन्टिबोडी बिकास भएको छ |

६. हालसम्म र्यापिड टेस्ट पोजिटिभ भएका व्यक्तिहरुको क्लस्टर अध्ययन गर्ने हो भने कुन कुन ठाउँमा कोरोना फैलिएको थियो भनेर अनुसन्धान गर्न सजिलो हुन्छ |

७. गुल्मीको मदाने गाउँपालिका शिक्षकलाई जन्डिस तथा निमोनियाको संकेत भनेर स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गर्दा निको भएन | उनलाई बुटवल रिफर गरियो | बुटवलको क्रिम्सन अस्पतालमा ल्याउँदा उनलाई सास फेर्न निकै गाह्रो भएको थियो | त्यसैले भेन्टिलेटरमा राखियो | उनको कोरोना टेस्ट पोजिटिभ देखियो | उनको ट्राभल हिस्ट्री छैन | गाउँमा कसैलाई कोरोना पोजिटिभ देखिएको थिएन | यो किसिमका केस अधिराज्यभर फाट्टफुट्ट देखिएका छन् | यसको अर्थ के हुन्छ भने नेपालका बिभिन्न गाउँमा कोरोना संक्रमणको अवशेष अहिले पनि छ |

यी केसको आधारमा के भन्न सकिन्छ भने नेपालमा जनवरी र फेब्रुअरीमा कोरोना संक्रमणको पहिलो वेभ आएको थियो |

कोरोना संक्रमणको दोस्रो वेभ :
अप्रिल र मे मा नेपालमा कोरोना संक्रमणको दोस्रो वेभ आएको छ | यो वेभ खास गरेर भारतबाट आएका नेपाली र उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुमा ब्यापक मात्रामा देखिएको छ | परिक्षणको दायरा निकै साँगुरो भएकोले यो वेभको क्षेत्रफल अध्ययन हुन सकेको छैन | अहिले भारतसंग जोडिएका सिमाना, त्यहाँबाट बिभिन्न गाउँ तथा सहरमा पुगेका व्यक्ति र उनीहरुको सम्पर्कमा आएका व्यक्ति, क्वारेन्टाइनमा बसेका व्यक्तिमा धरै देखिएको छ | संक्रमण फैलिएको इन्डिकेटर बताउने समुह जस्तै डाक्टर, नर्स, सुरक्षाकर्मी, सफाइकर्मी, संचारकर्मी, बालबालिका तथा सक्रिय उमेरका व्यक्तिमा बिभिन्न ठाउँमा छरिएर देखिएको छ | यो वेभ साउनसम्म तीब्र गतिमा फैलिने देखिन्छ | रोकथामका उपायलाई गम्भीर रुपमा परिचालन नगर्ने हो भने साउन मसान्तसम्म नेपालमा २४ हजार व्यक्ति संक्रमित हुने मेरो निस्कर्ष छ | यसको १५ % अर्थात ३६०० जनालाई अस्पतालको सेवा आबश्यक पर्न सक्छ भने १२०० जनालाई आइसीयु / भेन्टिलेटर आबश्यक हुनसक्छ | गुणस्तरीय उपचार र तयारी नभएमा करिब ६०० जनाको मृत्यु हुनसक्छ | यो ग्यारेन्टी होइन, मेरो अध्ययन र विश्लेषण हो | राज्यले न्युनतम यो संख्याको उपचारको लागि र मृत्युदर घटाउन गम्भीर तयारी गर्नुपर्ने देखिन्छ |

तेस्रो वेभ :
विश्वका बिभिन्न देशमा भएको अध्ययन अनुसार नोभेम्बरदेखि तेस्रो वेभ सुरु हुनेछ | नेपालको सन्दर्भ हेर्ने हो भने तेस्रो वेभ मंसिर, पुस र माघसम्म रहने देखिन्छ | यो वेभ दोस्रो वेभभन्दा कमजोर हुने प्रक्षेपण गर्न सकिन्छ | यो वेभ आउने बेलासम्म कोभिड १९ को औषधि तथा खोपमा धेरै प्रगति हुने अनुमान गर्न सकिन्छ | राज्यले बिज्ञहरुको टास्क फोर्स बनाएर यो अवस्था नियन्त्रण गर्न आबश्यक पहल गर्नु जरुरी छ |

यो पनि पढ्नुहोस् : 

लकडाउन खुल्यो भने नागरिकको पूर्वतयारी के हुनुपर्दछ ? डा. रवीन्द्र पाण्डेका यस्ता सुझाव

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?