काठमाडौं । केहिबेरमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा विहान १० बजेको लागि बैठक डाकेका हुन् ।
कोरोना महामारीबाट बच्न सावधानीस्वरुप सरकारले लकडाउन नीति लिएको आज ६० औँ दिन पुगिसकेको छ ।
पछिल्लो एक सातामा मात्रै संक्रमित ह्वात्तै बढेका छन् । लकडाउनको समयावधि अझै लामो समय लम्बिने निश्चितप्राय छ । त्यसैले लकडाउनको मोडालिटी कस्तो बनाउने भन्ने विषयमा पनि आजको मन्त्रिपरिषद् बैठकमा छलफल हुने बताइएको छ ।
त्यस्तै रोजगारी वा अध्ययनको सिलसिलामा विदेशमा भएका र महामारीको अति जोखिममा परेका नेपालीलाई नेपाल फर्काउने सवालमा पनि बैठकमा छलफल गरिने बताइएको छ ।
केही दिनअघि बसेको कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकमा विदेशमा रहेका नेपाली फर्काउने विषयमा छलफल भएको थियो ।
कोरोनाको भयावह अवस्थापछि कार्यरत कम्पनी बन्द भएको, पैसा नभएको र विदेशमा अलपत्र परेको भन्दै धेरै नेपालीले गुनासो गरिरहेका छन् । भारतसहित विभिन्न तेस्रो मुलुकमा रहेका र अलपत्र हालतमा रहेका तत्काल उद्धार गर्नुपर्ने नेपालीलाई ल्याउने विषयमा सरकारले कार्यविधि तयार पारेको स्रोतले बतायो। यी विषय आजको बैठकका मूख्य एजेण्डा रहेको स्रोतले बतायो ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको टोली कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टर लाई देशभर रहेका क्वारेन्टाइन भरपर्दो नरहेको पाइएकोले सोको व्यवस्थापन र विश्व स्वास्थ्य संगठन को मापदण्ड अनुरुप तय गर्न र त्यसपछि मात्रै अति समस्यामा परेका नेपालीलाई पहिलो चरणमा उद्धार गर्ने तयारी गर्न निर्देशन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया