सन २०१९ को मध्य डिसेम्बरमा चीनको वुहानबाट शुरु भएर सन २०२० को अन्त्तिम अप्रिलसम्म आइपुग्दा पुर्ण रुपमा बिश्वव्यापी रुपमा भैसकेको कोभिड १९ ले यो आलेख तयार पार्दासम्म विश्वभर करिव ३ लाख ४० हजार भन्दा बढिको ज्यान लिइसकेको छ।
विभिन्न कालखण्डमा महामारी नआएको होइन तर इतिहासमै यसरी मानव शंवेदनशीलता एउटै भावना र एकतामा जुटेको सायदै पहिलो हुनुपर्छ । जसको प्रभावलाई न्यून गर्न बिश्व नै लकडाउनमा छ। यो संकटको घडीमा जोखिमबाट बच्नका लागि भ्रम, आवेश, अहंकार र आवरणमा होइन उच्च आत्माविश्वास, विवेक र बुद्धिमता ढंगले प्रस्तुत हुनुपर्ने देखिन्छ। चाहे व्यक्ति, समाज होस या सरकार।
तर बिडम्बना यो परिस्थितिमा सरकारलाई जनता जनार्दनले न देख्न पाएका छन, न छाम्न, न सुन्ननै जसका कारण आज हरेक नेपालीको आँखामा मृत्युको भय र त्रास बाहेक केही छैन । एकातिर प्रवाशमा विभिन्न कारण र बाध्यताले गएका दिदिबहिनी तथा दाजुभाइको रोदन, क्रन्दन र बिन्ती यहि छ की हामी एक छाक खान्छौ स्वदेश फिर्ता हुन पाउ। तर आर्कातिर हाम्रो देशका प्रधानमन्त्री चहराई रहेको घाउमा मलम लगाउनुको सट्टा विदेशबाट ह्वार ह्वारति मान्छे ल्याएर कोरोना फैलाएर देश सोत्तर पार्ने भनेर उल्टै घाउमा नुनचुक छर्किनु भएको संसदमा संम्बोधन मै बताउँनुभयो ।
सरकारी आँकलन अनुसार श्रमिकहरुको मुख्य गन्तव्य साउदी, कतार, युएई, बहराइन,ओमन,कुवेत, मलेसिया लगायत मुलुकबाट भिषा म्याद सकिएका आम माफिका कारण तत्काल अनुमति पाएका र रोजगार गुमाएर नेपाल फर्कने को संख्या ५ लाख भन्दा माथि छ । यता भारतमा लाखौं नेपाली अलपत्र छन्। पछिल्लो समय गन्तव्य बनेका मुलुकमा रोजगारी, अध्ययन, व्यवसाय, भ्रमण ,उपचार ,भेटघाट र कार्यक्रमका लागि गएका जमात घर फर्कने समयको पर्खाइमा छन्। यसरी नेपालको अर्थतन्त्रमा मुल खम्बा भएर साथ पुर्याई रहेको हाम्रो आधार स्तम्भ, होनहार जनशक्ति बिदेशी भुमिमा अप्ठ्यारो र पिडामा छन भने यता भारतीय सिमानामा रोकिएर बसेकाहरुको पीडा झनै बिकराल छ। उनीहरुको मर्मलाई बेलैमा नबुझ्ने र जन्मभुमी आउने बाताबरण तयार नगर्ने हो भने कयौ नेपालीहरु डिप्रेसन र अन्य भयाबह स्थितिको सिकार बन्न सक्ने खतरा छ। यस्तो हुन दिनु भनेको मानव संवेदना माथी नै प्रश्न चिन्ह खडा हुनु हो ।
झन्डै ५० लाख नेपाली विभिन्न शिलशिलामा विदेशमा रहेको देखिन्छ। करिव २६ लाख नेपाली मध्य पूर्व, दक्षिण कोरिया र मलेसियामा कार्यरत छ्न । नेपालको अर्थतन्त्रमा वैदेशिक रोजगारमा जानेहरुले महत्त्वपूर्ण योगदान पुर्याएको कुरामा हामी जानकार छौ। विश्व बैंकको एक अध्ययन अनुसार धेरै रेमिट्यान्स भित्र्याउने मुलुकको सूचीमा नेपाल विश्वमा तेस्रो स्थानमा रहेको थियो। आर्थिक बर्ष २०७५/०७६ मा ८७९ अर्ब २७ करोड विप्रेषण नेपाल भित्रिएको थियो। सो रकम कुल ग्राहस्थ उत्पादन (जिडपी)को २५ दशमलव ४ प्रतिशत बराबर हो। तर कोभिड( १९ को कारण विश्व अर्थतन्त्रमा सृजना भएको आर्थिक मन्दीका कारण विदेशमा कार्यरत नेपालीहरुको बेरोजगारी बढ्ने र आम्दानी घट्ने हुँदा नेपालले प्राप्त गर्ने विप्रेषण आयमा कमि हुँदै छ। जसका कारण नेपालको अर्थतन्त्र आर्थिक मन्दीको दोहोरो मारमा गुज्रदैछ।
नेपालबाट बाहिर गएका अधिकांश श्रमिकले सामान्य आवस्थामा समेत आप्रवासन चक्रमा कुनै न कुनै समस्या, शोषण र ज्याजती भोग्नु परेको दृष्टान्त हाम्रो सामु छ।राष्ट्र मानव अधिकार आयोगको एक अनुसन्धानले ७६ दशमलव ७४ प्रतिशत श्रमिकले समस्या भोग्नु परेको देखाएको थियो। भने कोरोनाको महामारीबाट लाखौं नेपालीले भोग्नु परेको थप समस्या हामिले कल्पनासम्म पनि गर्न सक्दैनौं। रोजगारदाताले समेत स्वदेश फिर्ताका लागि प्रेरित गरि रहेको अबस्था छ ।
सम्मानित सर्बोच्च अदालतले पनि आदेश दिई सकेको छ। संसदीय समितिले ध्यानाकर्षण र निर्देशन गरेको छ भने ढिलाइ किन ? तसर्थ अविलम्ब श्रम तथा रोजगार मन्त्रालयको नेतृत्वमा वैदेशिक रोजगारसँग सम्बन्धित निकायहरु,कुटनैतिक निकाय,गैर आवासीय संघसँग समन्वय गरि विभिन्न देशमा रहेका नेपालीको तथ्यांक संकलन गरी स्वदेश फिर्ता हुन चाहने नागरिकलाई सुरक्षाको मापदण्ड पालना गरि स्वास्थ्य परिक्षण,क्वारेन्टाइन, आइसोलेसन को उचित व्यवस्था गरि सुरक्षित रुपमा घर फर्कने प्रबन्ध जति सक्दो चाडो मिलाउन अपरिहार्य छ। यो कार्य सरकारको मानवीय, प्रशासकीय, कानुनी र संबैधानिक दायित्व र जिम्मेवारी हो ।
आवश्यक पर्ने सेन्टरहरु तयारीको लागि प्रदेशदेखि स्थानीय तहमा रहेका क्वारेन्टाइन, खाली रहेका सरकारी वा सार्वजनिक भवन, होटल( रिसोर्ट, विश्वविध्यालय, अन्य शैक्षिक संस्था पार्टी प्यालेस, कतिपय व्यक्तिको घरमा व्यवस्था मिलाउन सकिन्छ । यी सबै विकल्प र सुविधा हुँदाहुँदै पनि सरकार चुप बस्नु भनेको गैरजिम्मेवारी पन र अमानवीयताको सिमा नाघ्नु हो। त्यसैले राज्यलाई हाम्रो आग्रह बिदेशबाट आउने नेपाली नागरिकलाई बोझ होइन वरदान ठाँनौ, उनीहरुको सीप र सृजना देशका निम्ति सुनमा सुगन्ध हुनेछ। त्यो अमुल्य शक्तिलाई सहि ठाउँमा सदुपयोग गर्न सके नेपालको समृद्धि टाढा छैन् ।
अध्ययनले सार्वजनिक गरे अनुसार ती देशका रोजगार दाताले बिना जानकारी कामबाट निकाल्ने, पारिश्रमिक नदिने जस्ता कारण आफू सङ्ग भएको रकम सकिएर भोक भोकै रहेका घट्ना सार्वजनिक भएका छन। यो बिकराल अबस्थामा अन्य रास्ट्रहरुले आफ्नो नागरिकलाई स्वदेश फिर्ताको लागि तयारी गरि सक्दापनि, बिडम्बना कुवेतमा खुलेको आम माफी पश्चात् घर फिर्ताको लागी नाम दर्ता मुलुकका नागरिकलाई ती देशले घर फिर्ता लागि सक्दा पनि यति सम्मकी कुवेत सरकारले चार्टर फ्लाइटको व्यवस्था गरिने भनिएको स्थितिमा पनि हाम्रा नागरिक सेल्टरमै दिनहरु बिताउन बाध्य छन् । माल्दिभ्समा रहेका नेपाली श्रमिकले आफ्नै खर्चमा आउँछौ केबल अनुमती दिनुस भानेर अनुरोध गर्दा पनि सरकार कानमा तेल हालेरा बस्छ भने यो विवेकहिनताको पराकाष्ठा होइन ?
अन्य देशको उदाहरणलाई हेर्ने हो भनेपनी यो बेला सरकारलाई ढिलासुस्ती र बहानाबाजी गर्ने सुविधा छैन। हो प्रवासमा रहेका सबैलाई एकैपटक फर्काउन सकिँदैन। तर जो सर्वाधिक संकटको अवस्थामा छन उनिहरुको समस्या, स्थिति, अप्ठ्यारोको प्रकृति र स्थानका आधारमा ल्याउने प्राथमिकता तय गर्नु पर्दछ। यसका लागि चाहिने सुविधामा सरकाले चौतर्फी साथ पाएको छ। आर्थिक रुपमा पनि कमजोर छैन। सरकारले कोभिड- १९ को लागि जम्मा गरेको कोष,वैदेशिक रोजगार ऎनमा व्यवस्था भए बमोजिम बनेको कल्याणकारी कोष,वैदेशिक रोजगार र व्यवसायी र एनआरएनए समुदायहरुलाई परिचालन गर्न सक्छ भने कतिपयलाई कम्पनीले व्यवस्था गर्ने स्थिति पनि छ, केही आफ्नै खर्चमा पनि आउन सक्छन। यसरी सबैतिरबाट सहयोग र साथ पाँउदा पाउँदै पनि सरकारले देखाएको कमजोर चासोका कारण देशको स्वाभिमान र सम्मानमा नै चोट पुगेको छ। यो प्रयास पर्याप्त छैन यसले माखो पनि मर्दैन सरकार । नेपाल फर्कन पाउनु हरेक नेपालीको न्युनतम हक हो । के यसरी राज्य गैरजिम्मेवारी बन्न मिल्छ?
प्रधानमन्त्री ज्यु, ‘राष्ट्रियता भनेको भुगोल मात्र होइन जनता पनि हुनू प्रतिकुलतालाई अनुकूलतामा बदल्न नेतृत्वको कौशलतामा भर पर्दछ। प्रत्येक समस्याको सहि बिकल्प र समाधान दिनसक्ने नेतृत्व मात्र राजनेता कहलिन्छ्न। उडन्ते कुराले मात्र भात पाक्दैन यसका लागि प्रयत्न गरिनुपर्छ। यसकारण संकटलाई शक्तिमा बदल्ने नीति यथासक्य चाँडो अगाडी बढाउनुहोस ताकी प्रवासबाट स्वदेश फर्कन चाहने नेपालीको लागि उपयुक्त वाताबरण तयार होस र सबै नेपालीको अनुहारमा उज्यालो छाओस ।
( लेखक बिजुला बर्मा राणा बाग्मती प्रदेश सभा सदस्य हुन् )
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया