काठमाडौं । चालू आर्थिक वर्ष २०७६/७७ को आज आर्थिक सर्वेक्षण हुने भएको छ ।
मंगलवार अर्थमन्त्री डा युवराज खतिवडाले चालू आवको बजेट कार्यान्वयन, खर्च र राजस्व असुलीसहितको आर्थिक सर्वेक्षण आज प्रस्तुत गर्ने भएका हुन् ।
आज संसदमा बोलाइएको बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक हुने भएको हो ।
चालू आर्थिक वर्षमा कुल बजेटको ५१.५९ प्रतिशत मात्रै खर्च भएको छ। १५ खर्ब ३२ अर्बको चालु वर्षको बजेट आर्थिक वर्ष सकिन ५० दिनमात्रै बाँकी रहँदा ७ खर्ब ९० अर्ब ७८ करोड ५३ लाख खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले देखाएको छ।
त्यस्तै यता राजस्व तर्फ भने ६ खर्ब ६७ अर्ब ७५ करोड असुल भएको तथ्यांकले देखाएको छ। सरकारले यो आवमा ११ खर्ब ७० अर्ब राजस्वको लक्ष्य राखेको थियो । जून असुल गरिएको ५७.७ प्रतिशत मात्र हुन आउँछ। चालु वर्षमा ८ खर्ब ६० अर्ब राजस्व संकलन गर्न संशोधित अनुमान गरेको मन्त्रालयले जनाएको छ ।
साथै बजेटको अर्धवार्षिक समीक्षाबाट अर्थमन्त्री खतिवडाले कुल लक्ष्यमा ५ प्रतिशत कम राजस्व संकलन हुने संशोधित अनुमान प्रस्तुत गरेका थिए। जसअनुसार ११ खर्ब १२ अर्ब राजस्व संकलन हुनुपर्ने हो, तर लकडाउन सुरु भएयता करिब २ खर्ब राजस्व गुमाएको मन्त्रालयले अनुमान गरेको छ।
चालु आर्थिक वर्ष २०७६ ७७ को सुरुवात देखिनै राजस्व असुली तथा खर्च निराशाजनक अवस्थामा रहेको थियो । त्यसमाथि कोरोना संक्रमणले प्रत्यक्ष रुपमा थप संकटमा पारेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया