बनेपा, ४ फागुन – काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका तथा गाउँपालिकामा वर्षौदेखि जीर्ण अवस्थामा रहेका काठको विद्युतीय पोल विस्थापन भएका छन् जिल्लाको नमोबुद्ध नगरपालिका, मण्डनदेउपुर नगरपालिका, बेथानचोक गाउँपालिका, भुम्लु गाउँपालिका, धुलिखेल नगरपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिकालगायतका स्थानमा विद्युत् चुहावट रोक्नाका साथै दिगो र सुरक्षित बनाउन विद्युत्को फलामे पोल खडा गरिएको नेपाल विद्युत् प्राधिकरण, काभ्रे वितरण केन्द्रका प्रमुख रवीन्द्रकुमार यादवले जानकारी दिए अहिलेसम्म करिब तीन हजार २०० नयाँ फलामे पोल खडा गरिएको छ । अझै पनि दुर्गम क्षेत्रमा मागअनुसार पोल उपलब्ध गराउन नसकेको यादवको भनाइ छ । जीर्ण अवस्थामा रहेका काठका पोलले विद्युत् लाइन पनि नियमित नभएको र विभिन्न दुर्घटनाको सम्भावना रहेकाले ग्रामीण क्षेत्रका सबै जीर्ण विद्युतीय पोल हटाइने उनले बताए यसैबीच मण्डनदेउपुर नगरपालिकाले पुस मसान्तसम्मको विद्युत्को बक्यौता रकम भुक्तानी नगरे वा हुक लगाई विद्युत् चोरी गरे कानून बमोजिम कारबाही गर्नाका साथै नगरपालिका र वडाबाट प्राप्त हुने सेवा तथा सुविधामा रोक लगाइने भएको छ । नगरपालिकाका कार्यकारी अधिकृत भीमकान्त शर्माले वडा कार्यालयलाई जानकारीपत्र पठाउँदै विद्युत् लाइन नियमित गर्न सुधार गर्नुपर्ने काम गर्ने, नयाँ ट्रान्सफर्मर राख्नेलगायतका काम गर्नसमेत अनुरोध गरिएको छ वितरण केन्द्रका प्रमुख यादवले अन्य विभिन्न नगरपालिका तथा गाउँपालिकाले पनि विद्युत् चुहावट रोक्न नगरपालिकाबाट नागरिकले पाउने सुविधा कटौती गर्न सम्बन्धित वडा कार्यालयमा पत्राचार गरिएको बताए । उनले भने, “जनचेतनाको कमीले अपराध गरेको देखियो, यसको अन्त्य जरुरी छ र यसबाट सरकारलाई राजश्वमा घाटा लागेको छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया