कुमार बस्नेतः गीत गाउँदा राजारानी नाचेका थिए

अनिल थापा

काठमाडौं, ५ फागुन – द्वीअर्थी गीत गाइने प्रवृत्ति नेपाली लोकगीत क्षेत्रमा पनि नौलो होइन, जबदेखि लोकगीत गाइन थाले, त्यतिबेलादेखि नै द्वीअर्थी लाग्ने गीत पनि गाइन थालेको पाइन्छ । लोकशैलीका पुराना गीत सुन्दै जाने हो भने घुमाउरो बिम्ब भएका यस्ता कैयन् गीत सर्वाधिक रुचाइएका छन् । केही उत्ताउला लाग्ने तर अर्थपूर्ण त्यस्तै गीत गाउनेमा वरिष्ठ गायक कुमार बस्नेत पनि सँगसँगै जोडिएर आउँछन् लप्सीको गेडो चुसेर, उनकै छोरी तरुनी, लैबरी लै, छोरीभन्दा आमा तरुनी, रौसी खान जाम् जस्ता अजम्बरी गीतका गायक कुमार बस्नेतलाई नयाँ पुस्ताले कमै सुन्ला । तर उनका यी गीत कतै न कतै सुनेकै हुन्छन् संगीतप्रेमी अहिलेका पुस्ताले । ‘फोक किङ’ भनेर चिनिने कुमार बस्नेत नेपाली लोक संगीतको बाटो फराकिलो बनाउनेमध्येका एक खम्बा हुन् कुनै जमानामा व्यस्त गायक बस्नेत आजभोलि आरामको जीवन बिताइरहेका छन् काठमाडौंस्थित आफ्नै घरमा । बस्नेतले ‘फोक किङ’ का रुपमा मात्र होइन, ‘स्टेज किङ’ का रुपमा समेत चिनारी दिए आफूलाई । नेपालमा मात्र नभएर दार्जिलिङका नेपालीबीच पनि चर्चा बटुलेका बस्नेत गीतकै सिलसिलामा विदेशका धेरै स्टेजमा गीत गाएर आइसकेका छन् गाउन, बजाउन र नाच्नमा उत्तिकै खप्पिस बस्नेतका धेरै गीत उत्ताउला लाग्दा छन् । तर यस्ता गीत समाजका आफ्नै सिर्जना भएको बस्नेतले बताए । ‘हामी गाउँतिर गएर भाकाहरु खोज्ने गथ्र्यौं, तिनै गीत रेकर्ड गथ्र्यौं, जस्तो सुन्यो, त्यस्तै गीत ल्याएर गाउँथ्यौं’, कुमारले भने, ‘यी गीत समाजका आफ्नै गीत हुन्, सिर्जना हुन्, गाउँतिर तरुनी, लप्सी, रौसीजस्ता शब्दहरु धेरै प्रयोग हुन्थे ।’आफूले उत्ताउला गीत नगाएको बरु गाउँमा सुनिने शब्दलाई जस्ताको तस्तै गाएको बस्नेतले बताए राजाका पालामा अर्थात् तीस/चालिस दशक अघिको समयतिर अहिलेजस्तो धेरै कलाकारको भीड पनि थिएन । कला र संस्कृतिको जर्गेना गर्ने कलाकारलाई सरकारले पनि उत्तिकै सम्मान गथ्र्यो । अहिलेजस्तो भद्रगोल अवस्था उतिबेला थिएन । लोकगीतको सम्मान गाउँ गाउँमा मात्र थिएन, राजपरिवारमा पनि थियो ‘राजालाई आफ्नो देश र संस्कृतिप्रति खुबै माया थियो, कलाकारले पनि राजारानीबाट उत्तिकै माया पाउँथे’, कुमारले आफ्नो युवावस्था सम्झँदै अगाडि थपे, ‘अहिले त विदेशी संगीतले नेपाली संस्कृतिलाई थिचेको छ, संस्कृतिको जोगाउनेमा कसैलाई मतलब छैन ।’कलाकारलाई राजासँग नजिक बनाउने माध्यम पनि थियो संगीत । गीत गाएर चर्चित भएका बस्नेतले आफू नाचगानबाटै राजा महेन्द्र र वीरेन्द्रको पाला गुजारेको बताए । त्यसो त राजासँग नजिक बन्नुको कुनै ठूलो अर्थ त नहुन सक्छ तर त्यतिबेला राजा सबथोक थिए । सबैका राजा थिए । जोकोहीले भेट्ने कुरा पनि भएन बस्नेतले राजा महेन्द्रसँगको एउटा संयोग सुनाए । ‘एकपटक राजा महेन्द्रसँग भारतको दिल्लीमा हुने कार्यक्रममा जाने मौका पाइयो, म नर्तकका रुपमा छनोट भएको थिएँ, टिममा अरु पनि थिए’, उनले अगाडि थपे, ‘हाम्रो टोलीकै एकजनाले राजाकै अगाडि ‘यसले गीत पनि गाउँछ’ भनिदिए, त्यसपछि राजा महेन्द्रकै सामुन्ने तीन गीत गाएँ ।’त्यतिबेला उनले नेपालको राष्ट्रिय गीत पनि गाएका थिए । कार्यक्रम सकिएपछि राजा महेन्द्रले ‘स्यावास्’ भन्दै धाप मारेको बस्नेतलाई अझै पनि उत्तिकै सम्झना छ राजा महेन्द्रका पालामा मात्र होइन, वीरेन्द्रका पालामा पनि लोकगीतको माहोल गज्जबको थियो । दरबारमा लोकगीत गाइन्थे । बस्नेत थपे, ‘राजा वीरेन्द्र र ऐश्वर्या पनि लोकगीतलाई सम्मान गर्थे, लोकगीतमा नाच्थे, उनीहरुलाई यो देश र संस्कृतिको माया थियो’, बस्नेतले सुनाए, ‘हामीलाई राजाले देशका लागि गीत गायौ भनेर धाप मार्थे, पैसा पाउने त हैन, तर स्यावासी पाउँदा पनि हामीले ठूलो काम ग–यौं भन्ने लाग्थ्यो ।’‘एकपटक मैले गीत गाउँदा वीरेन्द्र र ऐश्वर्या नाचेका छन्, त्यतिबेला नाच्ने राजारानी मात्र थिएनन् नि ।’, उनले थपे त्यो समयलाई आधार मान्ने हो भने अहिले समयले पूरै कोल्टे फेरेको छ । बस्नेतको बुझाइमा हामी अहिले विश्वव्यापीकरणको भुमरीमा रुमलिएका छौं, आफ्नोपन बिर्सेर अरुको जीवनशैली अपनाएर त्यसमा ‘आफू’ खोजिरहेका छौं । उनले भने, ‘समाज कहाँबाट कहाँ पुगिसक्यो ।’एकथरीको त लोकगीत सुन्नेलाई हेर्ने दृष्टिकोण नै फरक भएको बस्नेतले बताए नेपालमा मात्र होइन, विदेशमा पनि हामीले नेपाली संस्कृतिलाई एक आपसमा नमिलेरै संस्कृति जोगाउन खोजेझैं गरेको उनले बताए । ‘अमेरिकाको मेरिल्याण्डमा जातकै आधारमा लगभग २ सय जति संघ खोलेको देख्दा म चकित भएको थिएँ’, उनले थपे, ‘अहिले जहाँ पनि राजनीतिकरण भयो, जातमा पनि राजनीतिकरण थपियो, एउटै जातमा पनि हाँगा खोज्न थालियो ।’तर आफूलाई भने जातले कहिल्यै प्रभाव नपारेको बस्नेतले बताए । ‘गाउँ डुल्थ्यौं, जसको घरमा पनि खान्थ्यौं, कलाकारको कुनै जात हुन्छ र?’, उनले प्रतिप्रश्न गरे अहिले गीतको बजार पूरै फेरिएको कुमारले बताए । पहिले कुनै नयाँ गीत गाउँदा सबैबाट स्यावासी पाइने तर अहिले यही क्षेत्रका कलाकारले नै खुट्टा तान्ने प्रवृत्ति हाबी भएको उनले बताए । ‘मिडियाले पनि हाम्रा गीत बजाउन छोड्यो, चारसय हाराहारीमा भएका एफएमले पनि हाम्रा गीत बजाउँदैनन्’, ‘अहिले प्रतिस्पर्धा त छ तर राम्रा गीत बजारमा आउन छोडे, विकृति बढ्यो ।’भौगोलिकता र संस्कृतिको हिसाबले नेपाली गीत संगीतमा फरक आयाम र सम्भावना भएपनि हामीले विदेशी संस्कृतिको अनुशरण गर्न खोज्ने र आफ्नो संस्कृतिमा एकले अर्काको खुट्टा तान्न खोजेकाले गर्दा हामी अगाडि बढ्न नसकेको बताए ‘विश्वव्यापीकरणको बहानामा हाम्रो संस्कृति लोप हुन लागिसकेको छ, हामीले आफ्नोपन जोगाउन सकेका छैनौं’, उनले आफ्नो कुरामा जोड दिँदै फेरि थपे, ‘विश्वव्यापीकरण भएको हैन, बरु अमेरिकाले आफ्नो संस्कृति विश्वभर फैलाएको हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?