ऋचा शर्मा तिवारी / काठमाडौं – यो एउटा अनौठो मन्दिर हो, जहाँ रहेका देवताहरुको मुर्ती पश्चिम दिशा तर्फ फर्काएर जमीनबाट १ १/२ को उचाईमा झुण्डिएको अवस्थामा रहेको छ । त्यसैले यो मन्दिरलाई धेरै पहिला कसैकसैले झुण्डिएको देवता भनेर पनि भन्ने गरेको जनश्रुति रहेको छ र उपत्यका बाहिर यो मन्दिरलाई नेपालदेवी पनि भन्ने गरेको पाइएको छ भने जमीन छोडेर रहेकॊ भगवानका मुर्तीहरु भएकोले यसलाई आकाशे देवी पनि भनिएको पाइन्छ ।
प्यागोडा शैलीमा निर्माण भएको यो मन्दिरको वरिपरि लिच्छवीकालको शिलालेखहरु भोटिएकोले यो मन्दिर लिच्छवीकाल भन्दा अगाडि निर्माण भएको हुनसक्ने अनुमान गरिएको छ । यो मन्दिरको मुर्तीहरु पश्चिम फर्केको अवस्थामा रहेको छ जुन आश्चर्यजनक कुरा पनि हो ।
यस्तो कोणमा शायदै कुनै पनि मन्दिरको मुर्तीहरु रहेका छैन तर मुलद्धार उत्तर फर्केको छ र यी मुर्तीहरु कुनै पनि दर्शनढुगांले पनि बनेको होइन । यो एउटा अनौठो पुरात्तात्वीक पदार्थले बनेको छ । तर यसको एकीन भने हुन सकेको छैन ।
मन्दिर वरिपरि अष्टमातृका ब्रम्ह्याणी माहेश्वरी कौमारी वैष्णवी बाराही चामुण्डा महालक्ष्मी र इन्द्रायणी आदीको मुर्तीहरु देख्न पाइन्छ भने मन्दिरको प्रवेशद्धारमा गणेश र कुमारको मुर्तीहरु राखीएको छ । यो मन्दिर तन्त्र मन्त्रसँग पनि सम्बन्धित रहेको अनुमान गरीएको छ ।
यो मन्दिरलाई अहिलेसम्म दुईपटक जीर्णोद्धार गरिसकिएको छ पहिलो पटक करिब डेढ वर्ष अघि इन्द्रचोकको झा थरका मानिसले गरेका थिए भने यो कुरा सोही छानाको वरिपरि पित्तलमा कुदिएको बाट प्रष्ट हुन्छ भने दोस्रो पटक राजा महेन्द्रले २०१६ सालमा गरेको जानकारी तल्लो भागको छाना फेर्न लगाएको कुरा छानाको तल्लो भागमा कुदिएको छ ।
जिर्णोद्धार अघि यो मन्दिरको छानामा दुवै तलामा झिगंटीको प्रयोग गरिएको थियो । तर पछिल्लो समयमा आएर मन्दिरको वाहिरी चोकमा मार्वल छापेको र वरिपरि सुरक्षाका निम्ति घेर्न लगाई जीर्णोद्धार गर्ने काम स्थानीय समाजसेवी मीन बहादुर गुरुङ्गले गर्नुभएको हो ।
यो मन्दिरमा अर्को अचम्मको कुरा के देखिएको छ भने मन्दिरको माथिल्लो र तल्लो भागमा घर धन्दामा प्रयोग गरिने भाँडाकुडु किला ठोकेर वा अड्काएर राखिएको छ । यसो गर्नाको कारण के हो भने लोग्नेको मृत्युमा पत्नीले सती गएपछि पत्नीको जिम्मामा रहेको भाँडाकुडाँ देवतालाई चढाउने गरिएको कुरा जानकारीमा दिईएको छ ।
तर यहाँ ती बाहेक हातहतीयारहरु समेत चढाएको देखिन्छ । जुन कुरा स्त्रीले प्रयोग गर्दैनन् । त्यसैले यो अनौठो मानिन्छ । शायद पारिवारीक संस्कारभित्र पर्ने कुनै पनि उत्सवहरुमा यस्ता सामानहरु चढाउने गरेको हुनसक्ने सम्भावना रहेको छ ।
केटाकेटी वा ठुलामानिसलाई लागेको कुनै रोग निको होस् भन्नाको खातीर यहाँ आएर भाकल गर्ने गरेको पाइन्छ जसमा हाँसकुखुरा बोका आदी बली दिइने गरेको छ । त्यसैले यस्ता कार्य प्रयोजनका निम्ति उपत्यकाको विभिन्न स्थानहरुबाट पनि दर्शनार्थीहरु आउने गरेकाले यो मन्दिर उपत्यका वरिपरि बाहेक बाहिरी जिल्लामा पनि प्रख्यात रहेको पुष्टि हुन्छ ।
मन्दिर ज्यादै साँघुरो छ र मूल प्रवेशद्धारमा रहेको तोरणको मध्यभागमा ब्रह्मा र यसको दाँया बाँया शिव र विष्णुलाई राखिएको भेटिन्छ । कुनै जातीलाई पनि मन्दिर भित्र जानका निम्ति वर्जीत छैन । सबै जना स्वतन्त्र रुपले मन्दिर दर्शन गर्न सक्छन् ।
विशेषत देवीको मन्दिर भएकोले दशैँमा यहाँ घुईँचो लाग्ने गरेको छ भने चैत शुक्ल चर्तुदशीका दिन भाट भटेनी र गोपालजी को जात्राको बेलामा यी मुर्तीहरुलाई झुण्डाएर मुर्तीलाई ननुवाइकनै नै बाहिर राखिन्छ । त्यस दिन भरी बाहिर राखेपछि पुजारी र भाटभटेनीवासीहरु भई ती मुर्तीहरु बोकेर टुकुचा खोला तरेर किनारबाट लगिन्छ भने टुँडालदेवी नजीक भएको मसानको बाटोबाट लगेर मन्दिरको पश्चिम तर्फ रहेको पाटीको अग्रभागमा लगेर झुण्ड्याएर मध्यरातमा विशेष पुजा गरेर भोलीपल्ट टुँडालदेवीको मन्दिरमा राखिन्छ र सबैलाई दर्शन गर्न दिइन्छ । तर यो जात्राको कुनै पनि नाम दिइएको छैन ।
शनिबार र मंगलवार पनि विशेष रुपमा यहाँ दर्शनार्थीहरुको भीड लाग्ने गर्दछ । यो मन्दिरलाई विष्णु कृष्ण शिवब्रम्हा महेशदेवी आदिको अवतार को रुपमा पनि लिइएको छ ।
भाटभटेनी मन्दिर र सुप्रसिद्ध भाटभटेनी सुपरमार्केटको नाम बाट अझै यो स्थान प्रख्यात छ, भने नजिकै रेहको हाँडीगाँउ पनि प्रख्यात रहेको छ ।
विशेष गरी नित्य पुजा थकालीका सन्तानले मात्र गर्ने गरेको छ पुजा विधि बारे कुनै रहस्य बताउन नहुने जानकारी दिइएको छ । तर अहिले आएर कर्माचार्य परिवारका जेष्ठ सदस्यले विहान बेलुकी नित्य पुजा गर्ने गरेका छन् ।
नेवार समुदायका मर्हजन थरका व्यक्तिहरुले विभिन्न अवसरहरुमा र जात्राहरुमा बाजा बजाउनका लागी खल: को कजीहरुले बजाउने प्रथा रहेको छ । यो आज सम्मपनि चलि नै रहेको छ ।
यसरी यो मन्दिर आफैमा एउटा महत्वपुर्ण रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया