उदाहरणीय काम: समाजसेवी पशुपती गुरुङले आमाको किरिया खर्च बापतको ५ लाख समाजसेवामा दिने

काठमाडौं । समाजसेवी पशुपति गुरुङले स्व. आमा चिसकुमारी गुरुङको मृत्युपछि गरिने काजकिरिया खर्च नगद ५ लाख रुपैयाँ समाजसेवाका लागि प्रदान गरेकी छिन् ।

आमाको अन्तिम संस्कार आजको परिस्थितिले गर्दा ईच्छा अनुसार गर्न नसक्दा त्यसमा लाग्ने रकम समाजसेवाका लागि प्रदान गरेको गुरुङले बताइन् । गुरुङले आफ्ना माता र पिताको समाजसेवाप्रतिको भावनाको कदर गर्दै आमाको सम्झनामा नगद ५ लाख आइतबार आफ्नै निवासमा आमाको पुण्य तिथीको अवसर पारेर संस्कार समाज नेपाललाई प्रदान गरेकी हुन् ।

संस्कार समाज नेपाललाई अक्षयकोष स्थापनाका लागि प्रदान गरिएको उक्त रकमबाट वार्षिक आउने व्याजको रकम समाजसेवामा खर्च गरिने छ । साथै उक्त रकमबाट सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरु मध्येबाट एक जनालाई हरेक वर्ष प्रोत्साहत स्वरुप पुरस्कार प्रदान गरिनेछ ।

संस्कार समाज नेपालका अध्यक्ष समेत रहेकी समाजसेवी गुरुङसँग यस सम्बन्धमा जिज्ञासा गर्दा आफ्नो पारिवारिक पृष्ठभूमि समाजसेवी भएको बताइन् । २००७ साल अघि नै कास्कीको घान्द्रुकमा सर्वसाधरणहरुले पढ्ने विद्यालय पुर्‍याउनका लागि पशुपति गुरुङका हजुरवुवाले ठूलो भूमिका निर्वाह गरेको बताइन् । हजुरबुबाले स्थापना गरेको हालको श्री मेश्रम वराह उ।च्च माध्यामिक विद्यायलमा आफ्ना बुबाहरुले मिलेर विपन्न परिवारका लागि ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको बताउँदै गुरुङले गत वर्ष आफूले पनि ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिदिएको बताइन् ।

यसरी समाजसेवामा हजुरबुबाकै समयदेखि क्रियाशील परिवारमा हुर्किएकी गुरुङ विगत तीन वर्षदेखि सक्रिय रुपमा समाजसेवामा लागी गरेकी छिन् । संस्कार समाज नेपाल मार्फत ‘आचरण सुधारौं’ महाअभियान लिएर हिडेकी गुरुङ छोटो समयमा अभियानलाई देशव्यापी बनाउन सफलसमेत रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?