काठमाडौं । कृषि विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सहजता प्रदान गर्नको लागि अनलाइनबाट खाता खोल्ने प्रणाली शुरुवात गरेको छ ।
प्रविधिको विकाससँगै ग्राहकलाई प्रदान गर्ने सेवा सुविधामा सरलीकरण गर्न र बैंकले प्रदान गर्ने सेवालाई समय सापेक्ष र ग्राहक मैत्री बनाउदै बैकिङ्ग कारोवारको दायरा फराकिलो वनाउन विद्युतीय उपकरणको प्रयोग गरी अनलाइनबाट खाता खोल्ने प्रणाली सुरु गरेको हो ।
बैंकले विकास गरेको प्रविधि अन्य बैंकले प्रयोग गरेको भन्दा अत्याधुनिक र सरल रहेको एवम् खाता खोल्नको लागि बैंकको वेभसाईटमा आवश्यक लिंक तयार गरी राखिएको हुँदा उक्त लिंकमा पहुँच गरी खाता खोल्न सक्ने व्यवस्था मिलाएको बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख अजय कुमार रिमालले बताए । सरकारी बैंकहरुमा अनलाईनबाट खाता खोल्न सुविधा दिने पहिलो बैंक भएको राय समेत उनले व्यक्त गरेका छन् ।
अनलाईनबाट खाता खोल्ने प्रणालीको शुरुवात पश्चात देश विदेशमा रहेका नेपालीहरुले अनलाईनबाटै खाता खोल्ने फारम भरी आवश्यक कागजात अपलोड गरी शुन्य मौज्दातमा खाता खोल्न सक्दछन् । यसबाट स्वदेश तथा विदेशमा रहेका नागरिकहरुले आफ्नै घर/कार्यालयमा बसि बैंक खाता खोल्न सक्ने व्यवस्थाको सुरुवात गरेको बैंकले जनाएको छ ।
उक्त प्रणालीको गत असार ५ गते शुक्रवार बैंक संचालक समितिका अध्यक्ष लक्ष्मी प्रपन्न निरौला र प्रमुख कार्यकारी अधिृकत अनिल कुमार उपाध्यायले संयुक्तरुपमा उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका उप–महाप्रवन्धकहरु प्रताप सुवेदी, यज्ञ प्रकाश न्यौपाने, दीर्घ वहादुर अर्याल र धु्रवचन्द्र गौतम लगायत विभागीय प्रमुखहरु एवं बजार तथा शाखा व्यवस्थापन विभागका कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बैंकको नेतृत्व सम्हाले देखिनै आफूले प्रविधिमा जोड दिएको बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया