काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य प्रकाश पन्थले हाँच्छ्यु गरेर कोरोना निको हुने भए १० अर्ब खर्च किन गरियो भन्दै प्रश्न गरेका छन् ।
प्रधानमन्त्रीले बेला बेला भ्रामक सार्वजनिक अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै उनले हाँच्छ्यु गर्दा कोरोना निको हुने भए किन लकडाउन गरियो भन्दै प्रश्न गरेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीका सल्लाहकारहरुले उनलाई भ्रममा पारेको समेत उनले बताए । पुष्टि नै नभएका कुराहरु सल्लाहकारहरुले प्रधानमन्त्रीलाई सुनाएर संसदबाट समेत प्रधानमन्त्री ओलीले जनतालाई भ्रममा पारेको बताए । उनले भने, ‘‘कसले झुठा कुरा गरेर प्रधानमन्त्रीलाई भ्रममा पार्नुभयो ? पुष्टि नभएका खवरहरु कसले प्रधानमन्त्री ज्यूलाई सुनाउँछ ? हाच्छ्यु साच्छ्यु गरेर कोरोना जाने भए, लक डाउन किन गरिएको हो ? १० अर्ब किन खर्च गरिएको हो ?’’
स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले पनि संघ प्रदेश सरकारबाट कुनै सहयोग नपाएको गुनासो गरिरहेको उनले बताए । लामो समयदेखि आरडिटी परीक्षण बन्द गर्न सरकारलाई आग्रह गर्दा पनि नमाउनेको भन्दै उनले आरडिटी परीक्षण तत्काल रोकेर पीसीआरको दायरा बढाउनुपर्ने बताए । अत्यावश्यक स्वास्थ्य सामाग्रीको तत्काल आपूर्ति गरी, स्थानीय तहमा बनेका क्वारेन्टाइनहरुलाई मापदण्ड अनुसार व्यवस्थापन गर्न आग्रह गरे ।
सरकारले संविधानमा भएका कतिपय राजनीतिक सहमति विपरित विधेयकहरु ल्याउने गरेको भन्दै उनले राजनीतिक सहमतिहरु नतोड्न पनि आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया