काठमाडौं । बहुमूल्य पत्थर फेला पारेपछि तान्जानियाका एक व्यक्ति रातारात करोडपति बनेका छन् ।
अहिलेसम्मकै सर्वाधिक ठूलो तान्जानाइट नामक बहुमूल्य रत्न फेला पारेका तान्जानियाका एक सामान्य नागरिक रातारात करोडपति बनेका छन् ।
कुल १५ किलो तौल भएका दुईवटा पत्थर फेला पारेका सानिनिउ लाइजरले खानी मन्त्रालयबाट ४१ करोड नेपाली रुपैयाँ बराबरको रकम प्राप्त गरेका हुन् ।
भोलि ठूलो भोज हुन्छ, लाइजरले भने । तान्जानाइट पत्थर उत्तरी तान्जानियामा मात्रै पाइन्छ र यो गहना बनाउन प्रयोग हुन्छ ।
यो पृथ्वीमा पाइने दुर्लभ रत्नहरूमध्ये एक हो । एक स्थानीय भूवैज्ञानिकले यसको आपूर्ति आगामी २० वर्षभित्र समाप्त हुने अनुमान गरेका छन् ।
यो पत्थरलाई हरियो, रातो, बैजनी र नीलो रङ्गको विविधताका कारण विशेष मानिन्छ । यसको मूल्य रङ्गको दुर्लभताको आधारमा निर्धारण गरिन्छ । तर जति राम्रो रङ्ग र सफा छ, मूल्य त्यति नै बढी हुन्छ ।
लाइजरले गत साता ९.२ र ५.८ किलोग्राम वजनका दुई पत्थर खानीमा फेला पारेका थिए तर उनले बुधवार लाग्ने बजारमा त्यो बेचेका थिए । यसअघिसम्म सबैभन्दा ठूलो तान्जानाइटको तौल ३.३ किलोग्राम थियो । राष्ट्रपति जोन मागुफुलीले फोन गरेर लाइजरलाई बधाई दिए ।
यो सानो स्तरमा खानी खोज्नेहरूको फाइदा हो र यसले तान्जानिया कति धनी छ भन्ने प्रमाणित गर्छ, राष्ट्रपतिले भने । सन् २०१५ मा मागुफुली खानीमा राज्यको हितको रक्षा गर्ने र यसबाट देशको आम्दानी बढाउने नाराका साथ विजयी भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया