खोटाङका दशवटै स्थानीय तहका नीति तथा कार्यक्रम प्रस्तुत, कहाँ कति ?

काठमाडौं – खोटाङ जिल्लाका दशवटै स्थानीय तहले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन् । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाले आ–आफ्नै प्रकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि  ७६ करोड ९० लाख २७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । हलेसी तुवाचुङ नगरपालिकाले ५२ करोड ७८ लाख १४ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ ।

यस्तै, साकेला गाउँपालिकाले रु ३० करोड ७७ लाख ४४ हजार, दिप्रुङ चुईचुम्मा गाउँपालिकाले ५१ करोड ४२ लाख रुपैयाँ सात हजार, जन्तेढुङ्गा गाउँपालिकाले ३३ करोड ३० लाख २७ हजार रुपैयाँ  र ऐसेलुखर्क गाउँपालिकाले ४० करोड ८४ लाख ५२ हजार रुपैयाँ बराबरको बजेट पेश गरेको छ ।

बराहपोखरी गाउँपालिकाले २८ करोड ३५ लाख ६९ हजार रुपैयाँ , केपिलासगढी गाउँपालिकाले ३३ करोड ८५ लाख ३४ हजार रुपैयाँ , रावाबेँसी गाउँपालिकाले २९ करोड ७७ लाख ९५ हजार रुपैयाँ र खोटेहाङ गाउँपालिकाले ४८ करोड १८ लाख ५९ हजार रुपैयाँ बजेट ल्याएको छ ।

जिल्लाका नौ स्थानीय तहले बुधबार तथा खोटेहाङ गाउँपालिकाले बिहीबार नीति, कार्यक्रम तथा बजेट ल्याएको हो ।

भगवती दिनानाथ माविका सहायक प्रधानाध्यापक एवं नेपाल शिक्षक महासङ्घ खोटेहाङ गाउँपालिकाका अध्यक्ष सन्तोष ढकालको निधन भएपछि खोटेहाङ गाउँपालिकाले गाउँसभा एक दिनपछि सारेको हो ।

जिल्लाका अधिकांश स्थानीय तहले यस वर्ष पनि भौतिक पूर्वाधार विकासका लागि बजेट विनियोजन गरेका छन् । मध्यपहाडी लोकमार्गबाहेक अन्य सबै सडक कच्ची अवस्थामा सञ्चालन हुँदै आएकाले अधिकांश स्थानीय तहले आ–आफ्नो क्षेत्रका सडक स्तरोन्नतिका लागि बजेट विनियोजन गरेको छ ।

जिल्लाको सबैभन्दा सानो (पाँच वडा रहेको) स्थानीय तह साकेला गाउँपालिकाले भने, आर्थिक तथा सामाजिक विकासलाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । उक्त गाउँपालिकाका अधिकांश भौतिक पूर्वाधार विकासमा सङ्घ तथा प्रदेश सरकारको लगानी रहेकाले पालिकामा आएको रकम आर्थिक तथा सामाजिक विकासमा लगानी गरेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?