हिंसापीडित महिला राख्न ‘सेफहाउस’ माग

लम्की । घरेलु हिंसामा परेका महिलालाई ‘सेफहाउस’ आवश्यक रहेको कैलालीको टीकापुरका महिलाले माग गरेका छन् ।

टीकापुरमा भएको एक कार्यक्रममा अगुवा महिलाले हिंसामा परेका महिलालाई सुरक्षित राख्न धनगढी वा महेन्द्रनगर पठाउनुपरेकाले स्थानीय तहले सेफहाउस निर्माण गर्नुपर्ने माग गरेका हुन् ।

नारी विकास समाजका अध्यक्ष कल्पना उपाध्यायले बर्सेनि करोडौँ खर्च गर्ने पालिकाले महिलाका लागि सुरक्षित घर निर्माणमा समेत ध्यान दिनुपर्ने माग गरिन् ।

उनले व्यवस्थित प्रसूतिगृह र महिलाको सीप विकास गर्न व्यावसायिक तालिमको व्यवस्था गर्न नगरपालिकासँग माग गरिन् ।

नगरपालिकाले सञ्चालन गरेको ‘हाम्री छोरी प्यारी छोरी’ कार्यक्रम, लैङ्गिक समानता तालिम, सासूबुहारी तालिम, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानलगायतका कार्यक्रम राम्रा रहे पनि महिलाका लागि भएका केही तालिममा दोहोरोपना भएको, तालिम लिएका महिलाले जानेको सीप प्रयोग नगरेको गुनासो अगुवा महिलाकै छ ।

यसअघिको स्थानीय तहको निर्वाचनमा उपप्रमुखका प्रत्याशी आशा चौधरीले बालविवाह, घरेलु हिंसा, बलात्कारका घटना भइरहेकामा चिन्ता व्यक्त गर्दै यस्ता घटनामा परेका महिलालाई राख्न सुरक्षित आवासगृहको व्यवस्था गर्नुपर्ने बताइन्।

अर्का प्रत्याशी कमला केसीले टीकापुर नगरपालिकाले र अन्य गैरसरकारी संस्थाले दिएको तालिममा करोडौँ खर्च भए पनि बालुवामा पानी हालेजस्तो भएको गुनासो गरिन् । “अब महिलाका नाममा स–साना बजेट नछरी एकमुष्ट लगानी गर्नुपर्छ”, केसीले भनिन्, “महिलाका लागि औद्योगिक रोजगारी खुल्ने, आत्मनिर्भर हुने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।”

अर्का उम्मेदवार सुदेश्नी चौधरीले विपन्न बस्तीका महिलालाई रोजगारी र बालबालिकालाई शैक्षिक छात्रवृत्तिका साथै खाना र लुगाको समेत व्यवस्था हुनुपर्ने माग गरिन् ।

नगर उपप्रमुख केशरी रावल विष्टले गर्भवती महिलालाई स्वास्थ्य संस्थामै सुत्केरी गराउन निःशुल्क एम्बुलेन्स सेवा दिइरहेको, वडामा हुने तालिम वडा समितिकै छनोट र सिफारिसमा हुने गरेको जानकारी दिँदै सीपमूलक तालिम लिएका ग्रामीण क्षेत्रका महिलाले तरकारी खेती, च्याउखेती, सिलाइ व्यवसाय चलाइरहेको बताइन्।

नगरप्रमुख तपेन्द्रबहादुर रावलले केही तालिमले महिलालाई स्वरोजगार बनाइरहेको देखिए पनि सबै तालिम लिनेको तथ्याङ्क र उपलब्धि मापन गरिने बताइन् । उनले बालबालिकालाई लागुऔषध र मोबाइलको कुलतबाट जोगाउन पनि पहल गरिने बताइन् ।

प्रमुख रावलले टीकापुर नगरपालिका महिला स्वास्थ्यका विषयमा सचेत भएर नै अस्पतालमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ चिकित्सक राखेको जानकारी दिँदै टीकापुरमा सेफहाउस बनाउन र व्यवस्थित प्रसूतिगृह बनाउन पहल गर्ने बताइन् ।

नगरपालिकाको महिला बालबालिका तथा समाज कल्याण उपशाखाले यस वर्ष १९ वटा कार्यक्रम रहेकामा सहकारी तालिम, महिला–पुरुष समान हकका लागि जेसी तालिम, सासू–बुहारी अन्तक्र्रिया, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान, ३४८ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरेको महिला निरीक्षक सङ्गीता शाहले जानकारी दिइन् ।

उजले लकडाउनका कारण बालविवाह, छाउपडी कुप्रथा न्यूनीकरण, बालक्लब अनुशिक्षण, ज्येष्ठ नागरिक सेवा केन्द्र सञ्चालनका काम हुननसकेको जानकारी दिइन् । कार्यक्रममा नगर बाल संरक्षण समितिका सदस्य शिक्षक काशीराम ढुङ्गानाले विद्यालयका अतिरिक्त क्रियाकलाप गर्ने र उनीहरुको नगरस्तरसम्म प्रतिस्पर्धा गराउने व्यवस्था मिलाउन सुझाव दिए ।

वृद्ध सेवा समिति टीकापुरका उपाध्यक्ष कण्ठराज गिरीले ज्येष्ठ नागरिकलाई दिवासेवा र कम्बल वितरणमा १ नं वडा कार्यालयबाट सहयोग भए पनि नगरपालिकाबाट सहयोग नपाइएको गुनासो गरे । “वृद्धभत्ता पाउने ज्येष्ठ नागरिकले बैंकमा लाइन लाग्दा साह्रै कष्ट भएको छ । अरु बैंकलाई पनि थप गरी सहज बनाउन अनुरोध छ”, गिरीले भने, “ज्येष्ठ नागरिकले पाएको भत्ता संरक्षकले लुट्ने गरेका छन् तर ज्येष्ठ नागरिकको सेवा गरेको देखिँदैन ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?