काठमाडौं । एनआईसी एशिया बैंकले असार मसान्तसम्ममा चुक्तगर्नुपर्ने सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता रकम चुक्ता गर्ने ग्राहकलाई विद्यामान ब्याजदरलाई घटाई ९ दशमलव ९९ प्रतिशत कायम गर्ने योजना ल्याएको छ ।
श्रावण एक गतेबाट लागु हुने उक्त योजनाको लाभ लिनको लागि अब आठदिन भित्र सबै चुक्तागर्नुपर्ने रकम चुक्त गरीसक्नुपर्ने बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकद्वारा बैशाख १६ गते जारी गरिएको निर्देशन अनुसार २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदर २ प्रतिशतले घटाई चालू आर्थिक वर्षको चौथो त्रैमासिकको ब्याज गणना गर्न जारी गरिएको निर्देशनको तत्काल कार्यान्वयन गर्दै सो को अलावा बैंकबाट कर्जा सुविधा लिएका सम्पूर्ण ग्राहकहरूले २०७७ आषाढ मसान्तसम्मको सम्पूर्ण साँवा तथा ब्याजको बक्यौता बुझाएमा उक्त नियम लागू गरिएको बैंकले जनाएको छ ।
अत्याधिक उत्साहजनक सहभागिता रहेको तथा कोही पनि नछुटोस् भन्ने हेतुले उक्त योजना सकिन मात्र ८ दिन बाँकी रहेको हुँदा यथासिघ्र भरपुर फाईदा उठाउन बैंक सम्पूर्ण ऋणीहरूमा आह्वान समेत गरेको छ ।
एन आई सीबाट मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरूका साथै चालूपुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि कर्जाहरू उपभोग गरेका सबै ग्राहकहरूले असार मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता तथा ब्याज रकम २०७७ असार समान्तभित्रै भुक्तानी गरेमा साउन १ पश्चात् ब्याजदर ९ दशमलव ९९ प्रतिशतमा कायम गरिने व्यवस्था रहेका बैंकले जनाएको छ ।
त्यस्तै नेपाल राष्ट्र बैंकद्वारा मिति २०७६ चैत १६ गते निर्दिष्ट गरिएअनुसार २०७६ चैत्र मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरूले चैत्र मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकमा हक छुट प्रदान गरी सम्बन्धित ग्राहकहरूको बैंक खातामा जम्मा समेत गरिएको छ ।
साथै राष्ट्र बैंकबाट २०७७ वैशाख १६ गते २०७६ चैत्र मसान्तसम्म कायम ब्याजदरमा २ प्रतिशत ब्याज सहुलियत दिन गरिएको निर्देशनको तत्काल कार्यान्वयन गर्दै उक्त २ प्रतिशत ब्याज सहुलियतको अलावा कोरोना भाइरस महामारीको अवस्थामा बैंकले ल्याएको योजना अनुसार हुन आउने १० प्रतिशत ब्याज छुटको रकम सम्बन्धित ग्राहकहरूको खातामा जम्मा समेत गरिएको बैंकले जनाएको छ ।
त्यस्तै बैंकले कर्जा सम्बन्धी सल्लाह, सुझाव तथा ग्राहकहरूको गुनासो वा जिज्ञासा आदिको उचित समयमा प्रभावकारी तवरले समाधान तथा निराकरण गर्ने हेतुले एकद्वार प्रणालीको व्यवस्था अनुरुप बैंकले ‘कर्जा सहायता केन्द्र’ को स्थापना समेत जनाएको छ ।
‘कर्जा सहायता केन्द्र’ को स्थापना पश्चात् बैंकका ग्राहकहरूले आफ्नो कर्जा सम्बन्धी जिज्ञासा तथा गुनासोहरू जस्तै कर्जाको लागि योग्यता, कर्जाको फारम, ब्याजदर, नवीकरण, नयाँ कर्जा लगायतको सम्बन्धमा सम्पूर्ण जानकारी तथा समाधानको लागि घरमै बसी सहज तरिकाले यस सुविधाको फाईदा लिन सक्ने विश्वास बैंकले लिएको छ ।
यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६४ एटिएम, १०१ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया