विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित

विराटनगर । ‘प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७६’ को पहिलो संशोधनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ९३ बमोजिम आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सो प्रस्ताव आज सदनमा पेस गरेका छन् ।

उनले १० महिनाअघि बनेको यो ऐनलाई अझ समृद्ध र बलियो गर्न आवश्यक भएकाले संशोधनको प्रस्ताव गरेको बताए । जरिवाना र नवीकरणजस्ता विषयमा तत्काल संशोधन गर्न आवश्यक भएको तथा ऐनलाई जनमैत्री बनाउन संशोधन आवश्यक रहेको बताए।

प्रदेशसभाको सोही नियमावलीबमोजिम संशोधनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा सदस्य केदार कार्कीले कुनै पनि ऐन हतारमा ल्याउन नहुने भन्दै ऐनले जनतालाई सेवा र सुविधामा पहुँच पुर्याउने किसिमको हुनुपर्ने बताए । अर्का सदस्य श्रीप्रसाद मैनालीले प्रदेश सवारी तथा यातायात ऐनले प्रदेश सरकारलाई धेरै मद्दत गर्ने भएकाले यसमा मन्त्रालयले सुझबुझका साथ गर्न लागेको संशोधनप्रति धन्यवाद दिए । प्रदेशसभाको अर्को बैठक आगामी साउन २ गते दिउँसो १ बजे बस्नेछ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?