३४ औं पटक ला लिगा उपाधि रियलको पेल्टामा

काठमाडौं । रियल मड्रिडले यस सिजनको स्पेनिस ला लिगा फुटबलको उपाधि हात पारेको छ । बिहीबार राति भएको खेलमा भिल्ला रियललाई २-१ गोल अन्तरले पराजित गर्दै रियलले एक खेल अगाबै लिगको उपाधि हात पारेको हो ।

यससँगै रियलले ३४ औं पटक ला लिगाको उपाधि जितेको छ । यस्तै रियलले तीन वर्षपछि ला लिगाको उपाधि जितेको हो । यस अघि सन् २०१६ र १७ को सिजन रियलले उपाधि जितेको थियो ।

अस्थाई घरेलु मैदान अल्फ्रेडो डि स्टेफानोमा रियललाई जित दिलाउन करिम बेन्जिमाले दुई गोल गरे । भिल्लाका भिसेन्ट इबोर्राले एक गोल फर्काए । पहिलो हाफको २९ औं मिनेटमा बेन्जिमाले गोल गर्दै रियललाई अग्रता दिलाए । उनले लुका मोड्रिचको पासलाई सदुपयोग गरे ।

खेलको ७७ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई २-० को अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा भिल्लाका इबोर्राले एक गोल फर्काएपनि रियल २-१ ले विजयी भयो ।

यस्तै, खेलको इन्जुरी समयमा रियलका मार्कुस एसेन्सियोले गोल गरेका थिए । तर, भीएआरको सहायताले उनको गोललाई रेफ्रीले मान्यता दिएन । भिल्लामाथिको जितसँगै रियलले दोस्रो स्थानको बार्सिलोनालाई ७ अंकले पछि पार्दै उपाधि चुमेको हो ।

रियलले ३७ खेलमा ८६ अंक जोडेको छ । बार्सिलोनाको ७९ अंक रहेको छ । ७५ अंक जोडेको भिल्ला पाँचौं स्थानमा रहेको छ ।

बार्सिलोना बिहीबार राति नै ओसासुनासँग २-१ ले पराजित भएको छ ।

उपाधिसहित शीर्ष चार र रेलिगेसन क्षेत्रमा रहेका टोलीको खेल फरक समयमा हुँदा नतिजा प्रभावित हुन सक्ने भएको कारण अन्तिम दुई चरणको खेल एकै समयमा हुने गर्दछ । जस अन्तर्गत ला लिगामा बिहीबार १० खेल एकै समयमा भएको थियो ।

यौसँगै रियल मड्रिडले आफ्नो ३४ औं ला लिगा फुटबलको उपाधि चुमेको हो ।

यस अघि रियलले सन् १९३१-३२, १९३२-३३, १९५३-५४, १९५४-५५, १९५६-५७, १९५७-५८, १९६०-६१, १९६१-६२, १९६२-६३, १९६३-६४, १९६५-६६, १९६६-६७, १९६७-६८, १९६८-६९, १९७१-७२, १९७४-७५, १९७५-७६, १९७७-७८, १९७८-७९, १९७९-८०, १९८५-८६, १९८६-८७, १९८७-८८, १९८८-८९, १९८९-९०, १९४-९५, १९९६-९७, २०००-०१, २००२-०३, २००६-०७, २००७-०८, २०११-१२,0. २००१६-१७ मा ला लिगा फुटबलको उपाधि चुमेको थियो ।

त्यस्तै, रियलले १३ पटक युरोपियन च्याम्पियन्स लिग हात पारी सकेको छ ।

रियल मड्रिडको इतिहास :

रियल म्याड्रिड फुटबल क्लबलाई इतिहासको सबैभन्दा सफल फुटबल क्लब मानिन्छ । रियल म्याड्रिड (रियल म्याड्रिड क्लब डे फुटबल म्याड्रिड), स्पेनको राजधानी म्याड्रिडमा रहेको फुटबल क्लब हो । रियल म्याड्रिडको स्थापना १९०२ मार्च ६ मा म्याड्रिड फुटबल क्लब नाममा भएको थियो । स्थापनाकालदेखि नै सेतो जर्सी लगाउने यस क्लबलाई लस ब्लान्कस(द ह्वाइट्स) पनि भनिन्छ । स्पेनिस भाषामा रियलको अर्थ रोयल हुन्छ, स्पेनका तत्कालिन राजाले सन १९२० मा म्याड्रिड फुटबल क्लब लाई रोयल उपाधी र निशानी (चिन्ह) प्रदान गरेका थिए ।

रियल म्याड्रिड विश्वमा सबैभन्दा धेरै समर्थक भएका खेलका टिमहरु मध्ये एक हो। रियल म्याड्रिड ला लिगाको तीन संस्थापक क्लबहरुमध्ये एक हो । ला लिगामा रियल म्याड्रिड कहिल्यै पनि पहिलो श्रेणीबाट घटेको छैन । फुटबलमा रियल म्याड्रिड क्लबको केही प्रतिस्पर्धाहरु लामो समयदेखि कायम छन । जस्तै, एल क्लासिको ९रियल म्याड्रिड विरुद्ध बार्सिलोना) र म्याड्रिड डर्बी (एत्लेटिको म्याड्रिड विरुद्ध रियल म्याड्रिड) जुन खेल निक्कै चर्चित छन ।

स्पेन र युरोपमा रियल म्याड्रिड महारथी फुटबल क्लबको रुपमा स्थापित छ । म्याड्रिडले सन १९५० को दशकमा लगातार ५ पटक युरोपियन कप र ७ वर्षमा ५ पटक लिग जितेको थियो ।

स्पेनमा रियल म्याड्रिडले ६४ उपाधीहरु जितेको छ, जसमा किर्तिमानी ला लिगा ३४ पटक , कोपा डेल रे १९ पटक , १० स्पेनिस सुपरकोपा सहित अन्य रहेका छन ।

त्यस्तै, म्याड्रिडले १३ युरोपियन च्याम्पियन्स लिग, २ युइएफए कप, ४ युइएफए सुपर कप, ३ इन्टरकन्टिनेन्टल कप र ४ फिफा क्लब वर्ल्डकप सहित किर्तिमानी २६ उपाधीहरु आफ्ना पोल्टामा पारी सकेको छ ।

सन २००० मा फिफाले रियल म्याड्रिडलाई २० औँ शताब्दीको सर्बोत्कृष्ट फुटबल क्लब घोषणा गरेको थियो । सन २०१७ मा रियल म्याड्रिड लगातार ३ सिजन च्याम्पियन्स लिग जित्ने पहिलो क्लब बन्न सफल भएको थियो ।

साथै, स्पेनिस क्लब रियल मड्रिड सामाजिक संजालमा सर्वाधिक धेरै समर्थक रहेको क्लब बनेको थियो । स्पोर्टिङ इन्टेलीजेन्सले गरेको सर्वेक्षण अनुसार रियल फेसबुक, ट्वीटर र इन्स्टाग्राममा सर्वाधिक फलोवर्स भएको क्लब बनेको हो । फेसबुक, ट्वीटर र इन्स्टाग्राममा गरी रियलको २ सय २३ मिलियन फलोवर्स रहेको छ ।

यस्तै स्पेनिस क्लब बार्सिलोना दोस्रो नम्बरमा रहेको छ । बार्सिलोनाको फलोवर्स २ सय १३.६ मिलियन रहेको छ ।

रियल मड्रिडको प्रतिद्वन्दी बार्सिलोनाले २६ पटक ला लिगा उपाधि हात पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?