चितवन । चितवनका पत्रकार विनोदबाबु रिजालले लेखेको पुस्तक ‘एकान्तवास’ बजारमा आएको छ । कोभिड–१९ महामारीको कारण गरिएको विश्वव्यापी लकडाउनका बेला भोगेका, देखेका र सुनेका विविध सन्दर्भ समेटेर लेखिएको डायरी एकान्तवास हो । यसलाई ‘लकडाउन डायरी’ पनि भनिएको छ ।
“मेरो मात्रै होइन, हामी सबैका अनुभूतिको प्रतिविम्ब समेटेको छु”, लेखक रिजालले भने, “कोरोना भाइरस र यसले निम्त्याएको लकडाउन हाम्रो जीवनकालमा भोगेका सबैभन्दा अविष्मरणीय घटना हो, यसलाई कसैले पनि भुल्न सक्दैन ।” कितावमा २०७६ चैत ११ देखि २०७७ जेठ ३२ सम्म गरिएको कठिन लकडाउनका सन्दर्भ समेटिएको साहित्यकार बालकृष्ण थपलियाले बताए । हरेक दिनका घटना र गतिविधिका टिपोटलाई उनले निबन्धात्मक रूप दिएका छन् । हरेक सन्दर्भलाई उनले व्याख्या गरी यसका कारण र परिणामको चर्चा गरेको थपलियाले बताए। लकडाउनको तत्कालीन समयका आर्थिक, राजनीतिक, सामाजिक विषयवस्तुलाई समेत उल्लेख गर्दै आफ्ना अनुभूति दैनिकीमा समेटिएको थपलियाको भनाइ छ ।
विसं २०६१ बाट पत्रकारिता थालेका रिजाल कायाकैरन दैनिकमा सम्पादक छन् । स्थानीय रेडियो, टेलिभिजनमा पनि समाचार प्रमुख भएर काम गरेका उनले राष्ट्रिय मिडियामा पनि लामो समय काम गरिसकेका छन् । युरेका पब्लिकेसनले प्रकाशन गरेको पुस्तक नारायणगढको सम्पूर्ण किताबले बजारमा उपलब्ध गराइरहेको छ ।
तीन सय पृष्ठको किताबको मूल्य ३७५ रुपैयाँ राखिएको युरेका पब्लिकेसन तथा सम्पूर्ण किताबका लेखराम सापकोटाले बताए । पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारलाई लेखन क्षेत्रमा प्रोत्साहित गर्नुपर्ने भन्दै आफूले पुस्तक छापिनुअघिनै किताबको मूल्य भुक्तानी गरेर अग्रिम बुकिङ गरेको बताए । उनले भने “किताब किनेर पढीदिन सबैमा अनुरोध गर्छु ।” रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया