नमूना शहर र हरित नगरी बनाउने प्रतिबद्धता

हेटौँडा । वाग्मती प्रदेश भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले उक्त मन्त्रालयका सचिव तेजराज भट्टबीच आर्थिक वर्ष २०७७/७८ का लागि कार्यसम्पादन करारसम्बन्धी सम्झौतामा आज हस्ताक्षर गरे । मन्त्री फुयाँलले वाग्मती प्रदेशले नयाँ सोच र चिन्तनका साथ प्रदेशलाई नमूना शहर र हरित नगरी बनाउने राष्ट्रिय सरोकारका विषयमा निश्चित समयभित्र योजना कार्यान्वयन गर्ने तहमा राष्ट्रसेवक, कर्मचारीको भूमिका सकारात्मक र लगनशील हुनुपर्ने बताए ।

उनले वाग्मती प्रदेशको १३ वटै जिल्लामा खानेपानीको समूचित व्यवस्था गर्ने र गरिबीको रेखामुनि रहेका जनताको खरको छानोलाई अब यसै आर्थिक वर्षभित्र जस्ताको छानोमा परिणत गर्ने सरकारको लक्ष्यप्रति दृढ रहेको बताए । उनले पोष्टबहादुर बोगटी भीमफेदी–कुलदेखानी सुरुङमार्ग निर्माणका क्रममा केही हप्ताभित्रै अन्तरराष्ट्रियस्तरको टेन्डरको मन्त्रालयले निर्माण व्यवसायका लागि सूचना जारी गर्न लागेको पनि जानकारी दिए।

मन्त्रालयका सचिव तेजराज भट्टले चालू आव २०७७/७८ का लागि प्रदेश सरकारले गरिने आफ्नो कार्यसम्पादनलाई सहज र छिटोछरितोका साथ विनियोजित बजेटअन्तर्गत रहेका विभिन्न योजनालाई नियमित पारदर्शीका साथ कार्यसम्पादन गर्ने विश्वास व्यक्त गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?