काठमाडौं । सौरमास अनुसार साउनको पहिलो सोमवार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथको मूल मन्दिरमा भक्तजनलाई प्रवेश दिइएको छैन ।
मूल मन्दिरभित्र भक्तजनलाई प्रवेश नदिइए पनि परिसरमा भौतिक दूरी कायम नहुने अवस्था आज बिहान देखिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए । उनका अनुसार धेरै भक्तजनले मास्कसमेत लगाएका थिएनन् । पशुपति क्षेत्रका अन्य शिवालयमा पूजा आराधना एवं दर्शन गर्न भक्तजन आतुर देखिन्थे । साउने झरी भए पनि बिहानै भक्तजन पशुपति क्षेत्र पुगेका थिए । मूल मन्दिर नखुले पनि बाहिरबाटै दर्शन गरेर फर्किएको ललितपुर, कुपण्डोलबाट आएका दर्शनार्थी पार्वती राउतले बताइन्। साउनमा मन्दिरभित्रै गएर दर्शन गर्न पाए हुने भन्ने चाहनाले आफू पशुपति पुगेको उनको भनाइ थियो ।
गोकर्णेश्वरमा बालयन्त्र
गोकर्णेश्वरमा साउनदेखि नै परम्परानुसार बाजासहित पूजा र आरती पुनः शुरु भएको छ । गोकर्णेश्वर महादेवको गुठीका नाममा रहेको ३९६ रोपनी गुठी जग्गा रैकर भएपछि यो परम्परा टुटेको थियो । गोकर्णेश्वर नगरपालिकाले रु ७५ लाख अक्षय कोष स्थापना गरी यो परम्परालाई पुनःस्थापना गरेको हो ।
पशुपतिनाथ र गोकर्णेश्वरमा विगतमा एकै प्रकारले पूजाराधना गर्ने गरिए पनि गुठी मासिएसँगै त्यो परम्परा हराएकाले हाल गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिले खोजबिन अघि बढाएको अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए । पशुपतिनाथमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्र पूजााराधना हुन्छ । दुवैको एकापसमा सम्बन्ध छ ।
नगरपालिका वडा नं ४ को अध्यक्षसमेत रहनुभएका गोकर्णेश्वर मन्दिर प्रबन्ध समितिका अध्यक्ष श्रेष्ठका अनुसार गुठी रैकर गर्दा पूजा चलाउन छुट्याइएको स्रोत कहाँ छ भनी गुठी संस्थान काठमाडौं शाखालाई पत्राचार गरिएको छ । जग्गा रैकर गर्दा मोहीले राखेको रकमको ७० प्रतिशत मन्दिरको परम्परा चलाउन दिनुपर्नेमा त्यस्तो हुन नसकेको उनले जानकारी दिए ।
साउने सोमवार व्रत शुरु
धेरै वैदिक सनातन धर्मावलम्बीले साउनको सोमबार व्रत बसेर देवाधिदेव महादेवको पूजाराधना गर्छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतम शिवजीले चन्द्रमालाई शिरमा धारण गरेकाले सोमवारलाई शिवजीको बारका रुपमा मानी यस दिन आराधना गर्ने गरिएको बताउँछन् ।
भोलेनाथ काँवरिया सङ्घ, बोल बम काँवरिया सङ्घलगायत संस्थाले यस वर्ष बोल बम काँवर यात्रा नगर्ने घोषणा गरिसकेका छन् । धेरै नेपालीले वर्षमा एकपटक साउनमा घरमा वैदिक रुद्राभिषेकसमेत गर्छन् । साउनमा नभ्याउनेले अनुकूलतानुसारको महिनामा गर्ने परम्परासमेत छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया