भारतको ४ करोड बढी लगानीमा निर्माण गरिएको क्याम्पस भवनको उद्घाटन

काठमाडौं । भारतको लगानीमा विराटनगरमा निर्माण गरिएको महेन्द्र मोरङ्ग बहुमुखी क्याम्पसको नवनिर्मित विज्ञान भवनको शुक्रवार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ ।

काठमाडौंस्थित भारतीय राजदूतावास, जिल्ला समन्वय समिति मोरङ्ग तथा क्याम्पस व्यवस्थापन समितिले संयुक्त रुपमा भिडियो कन्फरेन्समार्फत गरिएको हो । उक्त भवन ४ करोड ४३ लाख नेपाली लागतमा निर्माण गरिएको हो। भारतले लगानी गरेको उक्त परियोजनाको जिल्ला समन्वय समिति मोरङ्गले कार्यान्वयन गरेको थियो ।

नेपालभर रहेका साना विकास परियोजनालाई सुदृढ बनाउनको लागि भारतीय राजदूतावासले उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रुपमा नेपाल–भारत द्विपक्षीय प्रयास अन्तर्गत अघि सारेको थियो ।

उक्त परियोजनाले नेपालमा विशेष गरी शिक्षा, स्वास्थ्य, कनेक्टिभिटी, खानेपानी र सरसफाई, व्यवसायिक प्रशिक्षण, मेडिकल क्याम्पस आदि विविध क्षेत्रमा फाइदा पुर्‍याउँदै आएको छ ।

त्यस्तै सन् २००३ यता भारतले हालसम्म नेपालका ७७ जिल्लामा ७ अर्ब ९८ करोड ७ लाख करोड आर्थिक अनुदान सहयोगमा ४२२ वटा ‘एचआईसीडीपी’ सम्पन्न गरिसकेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त उक्त क्याम्पस सन् १९५५ मा स्थापना भएको हो । महेन्द्र बहुमुखीलाई प्रदेश नं १ मा सबैभन्दा ठूलो क्याम्पस मध्य एक मानिन्छ ।

यस नवनिर्मित दुई तल्ले भवनमा १७ वटा कक्षा कोठा, प्रयोगशाला, भण्डारण कक्ष र प्रत्येक तल्लामा छात्र र छात्राका लागि छुट्टै सरसफाईका सुविधा रहेका छन् । यस नवनिर्मित भवनको निर्माणले स्नातक र विद्यावारिधि तहका झण्डै ७००० विद्यार्थी लगायत विभिन्न सङ्कायका प्रतिनिधिहरु लाभान्वित हुने बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समेत उक्त क्याम्पसमा अध्ययन गरेकी थिइन् । उक्त क्याम्पसमा अध्ययन गरेका विद्यार्थीहरु उपप्रधानमन्त्री, मन्त्री तथा प्राविधिक विज्ञ भएका छन् ।

नवनिर्मित क्याम्पस भवनको उद्घाटनको अवसरमा बोल्दै क्याम्पस प्रमुख बाबुराम तिमिल्सिनाले क्याम्पसका सङ्काय, विद्यार्थी र आफू विश्व परिवारका विद्यार्थी रहेको र भारतीय जनताको सहयोग नेपाल र भारतले विश्वास गर्दै आएको वसुधैव कुटुम्बकम्को प्रतिबिम्बको रुपमा रहेको बताए ।

शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पुरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकारले खुसी समेत व्यक्त गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?