काठमाडौं – पूर्व डिआईजी रञ्जन कोईरालाका छोरा आयुष कोईरालाले आफ्ना बुवा अपराधी नभएको र घटना हुँदा आफू सानो भएपनि अहिले आफ्नो अधिकार, कर्तव्य र अन्यायबारे बोल्न सक्ने भएकोले विभिन्न अड्कलबाजी गरेर दु:ख नदिनको लागि अनुरोध गरेका छन् ।
आफ्नै श्रीमतीको हत्या अभियोगमा जेलमा रहेका शसस्त्रका पूर्व डिआईजी रञ्जन कोईराला सर्वोच्चको आदेशमा छुटेपछि भएका प्रदर्शन र अनेकन टिकाटिप्पणीप्रति लक्षित गर्दै उनले आफूलाई एउटा अभिभावकको हत्या हुँदा र अर्को अभिभावक जेलमा जाँदा बालमस्तिष्कमा परेको असरका कारण बालापन, पढाई, स्कूल /कलेजमा अरुले हेर्ने नजर, समाजले हेर्ने नजर सबैका कारण अझ बढी पीडा र अप्ठेरो परेका कारण लामो संघर्षपछि आफ्ना बुवा छुटेकोमा उनले खुशी लागेको बताएका हुन् ।
डिल्लीबजार कारागारमा सर्वस्व सहित जन्मकैदको सजाय काटिरहेका उनी सर्वाेच्चको आदेश पछि साउन ८ गते मुक्त भएका थिए ।
पत्नी गीता ढकालको काठमाडौंमा नै हत्या गरी मकवानपुरको टिस्टुङ पालुङ एरियामा जलाएर फर्किँदै उनलाई नियन्त्रणमा लिएर जिल्ला अदालतको आदेशमा जेल हालिएको थियो ।
यो केसलाई ‘भिभिआईपी संलग्न क्राईम’ का रुपमा लिईन्छ ।
असार तेस्रो साता सर्वोच्च अदालतले प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा र न्यायधीश तेज बहादुर केसीको इजलासले सर्वस्वसहित जन्मकैदको सजाय पाएका कोइरालाको बाँकी कैद मिनाह गरेको थियो ।
अर्थात् रञ्जनले थप साढे ११ बर्ष जेल बस्नु परेन ।
त्यसैले सर्वोच्चको फैसलाको चौतर्फी आलोचना बढीरहेका बेला उनका जेठा छोरा आयुषको अभिव्यक्ति बाहिरीएको हो ।
एक सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भनेका छन्, “यो घटना कहाँ कसरी के कारण भयो भन्ने कुरा रहस्यमा नै छ । मेरो बुवा निर्दोष हुनुहुन्छ ।” साढे ८ बर्ष जेल बसेर निस्किएका बुबाप्रति सहानुभूति राख्दै अब भाई र आफ्नो जीवन परिवारका साथ बिताउन पाईने भएकोले खुशी लागेको उनको भनाई छ ।
कोईरालालाई लिन निजी गाडी लिएर उनकी प्रेमिका तारा रेग्मी पुगेकी थिईन् । त्यसपछि मास्क लगाएका रञ्जन विजय भएको भावभंगी सहित हात ठड्याउँदै बाहिरीएका थिए । ताराले कोईरालालाई गाडीमा हालेर लगेकी थिईन् । तारा रेग्मी तिनै हुन्, जो गीताको हत्यामा संलग्नता रहेको भनी एक वर्ष कैद काटेर निस्केकी थिईन् ।
यी अनौठा लाग्ने र न्यायालयको खिल्ली उडाउने किसीमका तस्वीरहरु भाईरल भईरहेका बेला सो भिडियोमा सञ्चारकर्मीले उनलाई प्रश्न सोध्छन्, “तपाई चाहिँ किन लिन जानु भएन, यति लामो समयपछि बुवा निस्कँदै हुनुहन्थ्यो, तपाईकी अर्की ममी जानुभएको थियो नि ?”
प्रश्न सुनेपछि केहीबेर रोकिएका आयु्षले लामो श्वास तानेर भन्छन्, “ठिकै छ त मुवाँ गई’सेको थियो । हामीसँग गाडी थिएन ।”
अन्तर्वार्ताभरी गम्भीर, शालिन र बेलाबेला भावुक बनेका आयुषले हरेक प्रश्नको सटिक जवाफ मात्रै दिएका छन् । जस्तो कि पत्रकार प्रश्न गर्छन् : “तपाईको पढाई ‘डिस्टर्ब’ भयो होला है ? के भयो भनिदिनुहोस् न ।”
उनी अँ भन्दै नजिकैको ग्लासमा रहेको जुस पिउँछन् । अनि थप्छन् – “भयो नि ।”
उनले आफूले भाईलाई कहिल्यै पनि अभिभावविहिनताको अनुभुति गर्न नदिएको, बरु आफ्नो पढाई र करिअरमा यसले ठूलो धक्का पुर्याएका कारण मनस्थिती खल्बलिएको उनले दोहोर्याएका थिए ।
अन्तर्वार्ताकै क्रममा उनले एउटा खुलासा पनि गरेका छन् ।
यतिबेला छोरीको हत्यारा हात हल्लाउँदै कुनै जनआन्दोलनको योद्धा जेलमुक्त भएजस्तै गरी ‘अपराधी बाहिरीएको’ घटनाले गर्दा आफ्नो छोरीले न्याय नपाएको भन्ने गीता ढकालका बुवा (आयुषका मावलका हजुरबुवा) को अभिव्यक्ति आईरहेको छ ।
उनले यो कस्तो न्याय हो ? भन्दै प्रतिप्रश्न गरिरहेका सन्दर्भलाई लिएर सोधिएको प्रश्नमा आफ्ना बुवाले यो अपराध नगरेको बरु हजुरबुवासँग १ करोड रुपैयाँ लेनदेनको कागज आफूले बुढानिलकण्ठस्थित निवासमा फेला पारेका कारण घटनाको ‘रियल’ कुरा के हो बुझ्नै नसकेको र त्यो ‘डकुमेन्ट’ आफूसँग सुरक्षित रहेको पनि उनले सो अन्तर्वार्ताको क्रममा शेयर गरेका छन् ।
के यस घटनामा बुवा रञ्जन कोईराला बाहेक अर्को कोहि ‘पात्र’ थियो वा मावलका हजुरबुवातर्फ तपाईको संकेत हो ? बारम्बार यसबारे थप जानकारी आउन अपेक्षासहित गरिएका प्रश्न सुनेपछि उनले दुई हात फैलाएर भन्छन् – ‘एक हातमा बाबा र अर्को हातमा हजुरबुवा होईसिन्छ । म केहि भन्दिन ।’
उनले घटना भएका बेला विभिन्न अखबारका पानाहरु यी खबरले भरिएको देखेको तर अहिले सामाजिक सञ्जाल आफूले पूरै ‘अभोईड’ गरेको पनि बताएका छन् ।
यतिबेला सामाजिक सञ्जालमा सर्वोच्चको फैसलाप्रति असन्तुष्टि राख्दै धेरै किसीमका टिकाटिप्पणी र बहस पैरबी भएका छन् ।
आयुषले यस सन्दर्भलाई ईङ्गित गर्दै भनेका छन्, “तपाईहरु हाम्रो पीडा बुझ्न सक्नुहुन्न । अभिभावकविना हामिले न्याय पाउँदैनौँ । त्यसैले अब आईपरेका हरेक कानूनी लडाई म लड्छु । बोल्छु ।”
यस्तै अर्को एक भिडियोमा उनले आफ्नो आमा र बुबाको झगडा परिरहने गरेको देखेको र त्यो सामान्य भएको भन्दै यसैलाई ‘ईस्यू’ बनाएर अनुमाानका भरमा आफ्ना बुवाप्रति लक्षित अनेकन समाचार आएकोमा दुख लागेको भन्दै वास्तविकता अर्कै रहेको पनि बताएका छन् ।
तपाईलाई तारा रेग्मीले कति माया गर्नुहुन्छ ? के तपाई उहाँहरुसँगै बस्नुहुन्छ ? भन्ने प्रशनको आधा मात्रै जवाफ दिँदै आयुषले भनेका छन् – ‘अँ माया गरिसिन्छ ।’
सम्पूर्ण नजिर, अहिलेको मुलुकी अपराध सहिता सम्पूर्ण आधारबाट पनि रञ्जन कोईराला यति छिटो छुट्ने अवस्थामा थिएनन् ।
श्रीमानको चित्तमा परेको यो विषयले कसरी न्याय दियो अहिले धेरैले गरेको प्रश्न हो यो ।
पैसामा बिकेर कोईरालाको सजाय घटाईएको नागरिकको बुझाई छ । यद्यपी अहिले अदालतमा पुनः महान्यायधीवक्ताको कार्यलयले यस मुद्धामा पुनरावलोकनका लागि निवेदन दिएको छ ।
यसैबीच रन्जन कोईरालाको विषयमा अदालतले त्रुटिपूर्ण फैसला गरेको अधिवक्ताहरुले बताएका छन् ।
यस्तै कोइरालाले हत्या गरेका गीता ढकालका बुवासहितका विभिन्न क्षेत्रका व्यक्तिहरु माइतीघर मण्डलमा उपस्थित भएर न्यायाधीशमाथि महाअभियोगको माग गरेका छन् ।
उता, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले शुक्रवार बिहानै सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै अन्य सन्दर्भसहित न्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया