अन्जान यात्री /काठमाडौं- नेपाली समाजको धरातल पूर्वीय दर्शनबाट प्रेरित छ। यहाँको समाज पश्चिमको भन्दा बेग्लै छ, अर्को अर्थमा भन्दा हामी बीचमा छौँ। न हामी पूर्णतया पुरानो समाजमा नै फर्कन सक्छौँ । न त पश्चिमाको नसरी ठाडो रुपले एकोहोरो जाने अवस्था नै छ ।
आधुनिक प्रविधिको विकास, समयको अन्तराल र देश विदेशको उठाई बसाईले समाज आधुनिक हुँदैछ। यसका सबल दुर्बल पक्ष आफ्नो ठाउँमा होलान् तर मान्छे जता गए पनि जस्तो भए पनि उसैसँग समाहित संस्कार भने अविचलित हुन्छ। त्यो मान्छे कसरि हुर्कियो, उसको रहनसहन कस्तो थियो, शिक्षा दिक्षा कस्तो थियो त्यसले धेरै असर पार्ने गर्दछ।
मान्छे धेरै पढ्दैमा, विदेश घुम्दैमा या विशेष पेशामा विज्ञता हासिल गर्दैमा उ सुसंस्कृत छ भन्ने अर्थ लगाउन मिल्दैन। यी कुराहरु केवल तपशिलका कुरा हुन्। हाम्रो समाज अहिले उच्चतम वेगले अगाडी बढ्दैछ यहाँ बढ्दै गएको देखासिकीपनले भयावह स्थितिको ‘रातो घन्टी’ बजाउने लगभग पक्का देखिन्छ।
नैतिकतालाई तिलान्जली दिँदै अपराध गर्ने, समाजमा दुषित हावा फैलाउने अन्तत कानूनी कठघरामा उभिए पनि अनेक तिगडम गरेर उन्मुक्ति पाउने शृङ्खलाले जरा गाड्दै छ। पछिल्लो घटनाक्रम अनुसार पूर्व सभामुख कृष्ण महरालाई हेरौँ या त रञ्जन कोइरालालाई नै अपराध के र कस्तो थियो कानूनले कसरी सस्तो ब्रान्डको पानी छान्ने फिल्टरले धमिलो पानीलाई उन्मुक्ति दिए जस्तो उन्मुक्ति दियो प्रष्ट नै छ ।
यी र यस्ता घटनाले कता कता शंकाको सुई कानून निर्माता तथा त्यसका सरोकारवालामा नै तेर्सिन्छ। पछिल्लो घटना क्रमलाई हेर्दा रञ्जन कोइरालाको जेल फुकुवाबाट समाजमा गर्मागर्मी बहस बढेको छ। उनले गर्न हुने काम गरेकै होइनन्, न्याय पनि चिप्लिएको नै हो । तर रञ्जनप्रति गालि बर्सिँदा यो समाजले करिब १ दशक अघि लगभग रञ्जन काण्ड जत्तिकै पूरानो घटना जसमा एक महिलाले आफ्नै श्रीमान् लाई मारेर आधा शरीर गोबर ग्याँसको छेउमा धोक्रोले बाँधेर राखिन् र र बाँकि शरीरको भाग प्रेसर कुकरमा उसिनेर खाएकी थिईन् त्यस्तो घटना कति छिटो बिर्सियो उनि घिमिरे थर कि महिला थिईन् । अहिले नाम नतोकौँ सम्झिनेले सम्झेकै होलान् ।
घटना कहाली लाग्दो थियो । यी र यस्ता घटना किन दोहोरिरहन्छन् के कानून तगडा भएर मात्र रोकिएला त कानून भन्दा धेरै माथि संस्कार हुन्छ । धर्म हुन्छ बाबुआमाको समेत योगदान ठुलो हुन्छ।
पछिल्लो समय बढ्दै गएका गर्भपतनका घटनाहरु हेर्नुस् या अरु तथ्याङ्क यो सबै संस्कार शुन्यताले जन्माएको हो। छोरा छोरीलाई शहरमा होस्टेल राखेर ढुक्क हुने अभिभावकको कमजोरीले घटेको हो।
अब समाजमा डर त्रास कर्तव्य र नैतिकता भन्ने कुरा बाँकी रहेन। यतातिर सामाजिक विचलन अर्कोतिर त्यो विचलन लाई थाङ्ग्रो हाल्दिने कानून र न्यायमूर्ति यस्तो परम्पराले अवश्य पनि सहि समाजको निर्माण मा योगदान दिँदैन। तसर्थ यो विषयमा नैतिक शिक्षाका जननी बाबुआमाको ठूलो योगदान रहन्छ
सन्तानलाई टाउकोमा टेकाउने काम नगर्नुस । भनेको मान्दैन भने थप्पड लाउनुस् । पछि घनिभूत बिग्रनु भन्दा बरु अहिले सपारेको राम्रो। चाहिने भन्दा
बढी विश्वास नगर्नुस्। छोरीलाई दाइजो होइन संस्कार दिनुस्, छोरालाई कर्तव्य बोध गराउनुस् नभए रञ्जन र घिमिरे थर कि महिलाहरुको प्रवृति दोहोरीने छ । समाज सकिनेछ र राणा थरका न्यायमूर्तिले न्यायको धज्जी उडाउने काम चलिरहने छ। संस्कारमा बल गर्नुस् त्यो बिनाको जिन्दगि अधुरो छ।
यसका अतिरिक्त त्यो भन्दा माथिको अभिभावक राज्यले पनि अहिले फेसबुक, टिकटक, इन्स्टा आदिमा आएको विकृतिलाई नजिकबाट नियाल्न जरुरी छ। नियमन गर्न जरुरी छ । कानूनलाई फिल्टर मेशिन भन्दा माथिल्लो श्रेणीमा पुर्याउन जरुरी छ। सांस्कृतिक कुठाराघातको बेलैमा अन्त्य र कानूनको उचित ठाउँमा उचित उपयोग हुन सकेन भने जंगल राज्यको उदय हुने कुरामा दुई मत छैन। यसमा सबैको ध्यान जान जरूरी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया