घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

काठमाडौं । कोरोना भाइरसको जोखिम फैलनसक्ने भन्दै मुस्लिम आयोगले घरमै बसेर नमाज पढी इल उल अज्हा (इद) मनाउन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेकाले आफ्नै घर तथा आवासमा बसेर इद मनाउन आग्रह गरेका छन् । मुस्लिम समुदायले शनिबार उक्त पर्व मनाउँदैछन् ।

इद संयमता, धैर्यता, विश्वशान्ति र भाइचाराको सन्देश दिने चाड भएको उल्लेख गर्दै आयोगले विश्वभर रहेका मुस्लिम समुदायले मनाउने यस पर्व यसपटक सुरक्षित भएर घरमै बसेर मनाउन अनुरोध गरिएको हो ।

कोरोनाका कारण लामो समयदेखि सामाजिक दूरी कायम गरी साविकदेखि नै दैनिक रुपमा मस्जिदमा पाँच जनाले मात्रै नमाज पढ्दै आएका छन् । इद उल अज्हाको नमाज पनि पाँच जनासम्मले मस्जिदमा पढ्न पाउने व्यवस्था गरिएको छ । आयोगले कोरोना भाइरस नियन्त्रणका लागि मुस्लिम समुदायले देखाएको सद्भाव र सहयोगप्रति कृतज्ञता प्रकट गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?