चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।
अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाका अनुसार उच्च रक्तचाप र बच्चा ठूलो भएका कारण हेटौँडा अस्पतालबाट उपचारका लागि आइतबार साँझ चितवन मेडिकल कलेज पठाइएको थियो । लोप्चनले आज बिहान ९ बजे छोरी जन्माएकी हुन् । आमा ११२ किलो भएका कारणसमेत शल्यक्रियामा समस्या आउनसक्ने भएकाले लोप्चनलाई चितवन पठाइएको उनले बताए ।
भरतपुर अस्पतालका स्त्री रोग विशेषज्ञ डा रामप्रसाद सापकोटाले सामान्यतया बच्चाको तौल दुई किलो ५०० ग्रामदेखि तीन किलो ५०० ग्रामसम्म हुने बताउनुभयो । चार किलोभन्दा माथि तौल भएमा आमामा केही समस्या हुनसक्ने उनको भनाइ छ । लोप्चनको डा बन्दना खनाल, डा प्रेक्षा सिंह, डा वसन्त शर्मा, डा इन्द्रनारायण श्रेष्ठ, डा मेनुका ताम्राकारसहितको टोलीले शल्यक्रियामार्फत बच्चा निकालेको हो । अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको कलेजले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया