घोषणापत्र ()

-प्रज्वल अधिकारी कुनै दिन – म यस्तो कविता लेख्नेछु जुन कविता चराहरूले बुझ्नेछन, जनावरहरूले बुझ्नेछन प्रकृतिले बुझ्नेछ र तोडिदिनेछन नाता मान्छेसँग त्यो दिन – मान्छेको बिरुद्द हुनेछ प्रकृति चराहरूले ठुँङ्नेछन मान्छेको शिर जनावरहरू आ- आफ्ना दार्हा, नँङ्ग्रा जे जे छन लिएर आउनेछन र मान्छेको विरासतमाथि आतँक मच्चाउनेछन त्यो दिन – निस्कनेछन सर्पहरू प्वालबाट बाहिर र बस्नेछन घरका धुरीहरूमा माछाहरूले सागरमुनीबाट सुरु गर्नेछन क्रान्ति र, पल्टाइदिनेछन अहमको पानीजहाज त्यो दिन – बुझ्नेछ प्रकृतिले आफ्नो सोझो शत्रु र, हल्लाईदिनेछ मान्छेको साम्राज्य घाम उम्लेर एकैचोटि पोखिनेछ फुट्नेछन ज्वालामुखीहरू पर्नेछ चट्याङ र हुनेछन मान्छेहरू शरण बिहिन ! म मान्छे भएर मेरै बिरुद्दमा लेखेको कविता जब हावाले बुझ्नेछ आँधी भएर पस्नेछ सेता घरहरूमा जब पानीले बुझ्नेछ आतंककारी बनेर घुस्नेछ बम बारुद बन्दै गरेका फ्याक्ट्रीमा र च्वाईय्यँ बनाएर निभाईदिनेछ शक्तिको जोश ! म आह्वान गर्नेछु जूनलाई यति सुन्दर बनेर उदाईदिनु त्यो दिन कि सागरले आफ्नो छातीमा टाँसेर मानव जगत उत्तानो पारिदिओस मलाई थाह छ – चुल्होमा हुन्जेल हो आगो शान्त रहने ! मान्छे मारेर रमाउने मान्छेहरू हो ! त्यो दिन मान्छेले मान्छे मार्नेछैन न त मान्छे जोगाउन मान्छे आउनेछ बेसाहारा बनेर मान्छे मात्रै मर्ने मन गर्नेछ ! ओ मान्छेहरू ! कुनै बाँच्ने उपाय नसोच्नु र बिज्ञानलाई मजदुर पनि नबनाउनु त्यो दिन बाँच्न भन्दा मर्न सहज हुनेछ र, धेरै दिमाग पनि नलगाउनु कि तिमीहरूलाई सिध्याउन तिमीहरूले दिमाग नभएका भनेकाहरू आउनेछन ! यस्तो कविता लेख्नेछु जुन मान्छेले पटक्कै बुझ्नेछैन कि मेरो कविता मान्छे सिध्याउने घोषणापत्र हो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?