आज भाद्र कृष्ण औँसी, अर्थात् बुवाको मुख हेर्ने दिन !

काठमाडौं । आज भाद्रकृष्ण औँसी अर्थात बुवाको मुख हेर्ने दिन । आजकै दिन हिन्दू संस्कार अनुसार आफ्नो जन्म दिने बुवालाई विशेष सम्मान गर्ने, स्वास्थ अनुकूलको मिठाइ, फलाहार, वस्त्र तथा सक्नेले मणि माणिक्य प्रदान गरेर बावुको अनुहार हेर्ने गरिन्छ ।

मातृ देवो भव ।
पितृ देवो भव ।।
गुरू देवो भव ।।।
आमा, बुवा, गुरु सबै भगवान हुन् ।

पितृदेवो भव अर्थात् जन्म दिने बावुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।

दिवङ्गत पिताप्रति पनि यसै दिन उत्तरवाहिनी गोकर्णेश्वरमा श्राद्ध तर्पण दान आदि गरेर बावुको योगदानको स्मृति गर्ने प्रचलन छ । गोकर्णेश्वरमा जान नसक्नेले नजिकको तीर्थमा गएर श्राद्ध, तर्पण, दान गर्ने परम्परा छ । आज गोकर्णेश्वर पुगेर दिएको तर्पण पितृले प्राप्त गर्छन् र तृप्त हुन्छन् भन्ने हिन्दुहरुको मान्यता छ ।

त्यस्तै देवघाट, स्वर्गद्धारी, विन्ध्यवासिनी, रुरु क्षेत्र लगायतका तीर्थस्थल गएर अर्थात आफूलाई पायक पर्ने देवस्थल, त्रिवेणी, दोभान र पवित्र घाटमा पितृप्रति पिण्डदान गर्ने प्रचलन छ । यसै दिन पशुपतिस्थित राजराजेश्वरीघाटमा रहेको बिराटेश्वरमा दर्शन गर्ने चलन छ ।

तरपनि विश्वव्यापी रुपमा फैलिरहेको कोभिड १९(नोबेल कोराना भाईरस)ले नेपाललाई पनि आक्रान्त पारेको बेलामा हामीले मनाउने चाडपर्वलाई प्रवावित पारेको छ । व्यक्तिगत जीवनमा अर्थात देशमा संकट परेको बेलामा कुनै पनि चाड मनाउनु हुँदैन भन्ने शास्त्रीय मान्यता रहेको छ ।

आजकै दिन वर्षभर देवकार्य, पितृकार्यलगायत धार्मिक कर्म गर्नका लागि आवश्यक पर्ने कुश उखेलिन्छ । आजका दिन वैदिक मन्त्रोच्चारण पूर्वक उखेलिएको कुश वर्ष भरिनै धार्मिक कार्यमा प्रयोग गरिन्छ ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?