के हुन् हाम्रा रीतिरिवाज र चाडपर्व ?

गणेश लम्साल /काठमाडौं । हाम्रा संस्कार,संस्कृति, परम्परा र रीतिरिवाज जीवन जिउने कला हुन् ,आधार हुन् ,नैतिकताका मार्गदर्शक हुन् ,आदर्श जीवनका स्रोत हुन् ।
मातापितालाई ईश्वरको रूप ठान्ने हामीले सम्पूर्ण मानवजातिलाई नै बन्धुत्वको व्यवहार प्रकट गर्छौं ।

माता च पार्वती देवी पिता देवो महेश्वरः।
बान्धवा मानवाः सर्वे स्वदेशो भुवनत्रयम्।।

हामी पौरस्त्य दर्शनका अनुयायी केवल मानव जातीको मात्र नभएर सम्पूर्ण प्राणीमात्रको सुख,आरोग्य र भद्रताको कामना गर्छौँ।

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु मा कश्चिद् दुःख भाग्भवेत्।

हाम्रो पौरस्त्य वाङ्मयले हामीलाई उच्च मानवता एवम् कर्तव्यपराणयताको पाठ सिकाएको छ। तर पछिल्लो समय हाम्रो समाज, हाम्रो संस्कार र संस्कृतिलाई विभिन्न विभेदका द्योतक ठहर्‍याउन तल्लीन छ। हुन त मानिसले जस्तो शिक्षा प्राप्त गर्छ,जीवनमा तदनुसार व्यवहार गर्छ। त्यसैले होला आजको संस्कार र शिक्षाले बावुआमालाई वृद्धाश्रम र पाटी पौशालामा जीवन काट्न बाध्य बनाएको छ। यसलाई आधुनिक सामाजको प्रगतिको द्योतक मान्नेले हाम्रा चाडपर्वलाई विभेदको द्योतक मान्नुलाई के नै नौलो मान्न पर्ला र ?

हाम्रो गुरुकुलीय शैक्षिक परम्परामा अध्ययनकालबाट निवृत्त हुँदा (समावर्तन संस्कारमा) अर्थात् प्राचीन दीक्षान्त समारोहमा सत्यं वद,धर्मं चर ,मातृदेवो भव ,पितृदेवो भव जस्ता जीवनोपयोगी एवम् व्यवहारोपयगी शिक्षा दिइन्छ ,जीवनलाई असल र कर्तव्यपरायण बनाउने प्रेरणा प्रदान गरिन्छ। आजको पुस्ताले यी र यस्तै आर्दशमय वचनलाई शिरोधार्य गरेर अघि बढ्न सके वृद्धाश्रममा देखिने बाबुआमालाई घरमै देख्न पाइन्थ्यो।तर आजको शिक्षा आधुनिकताको नाममा समाजलाई उराल्ने र बराल्ने खालको हुन पगेको छ।

हाम्रो पौरस्त्य शिक्षाले एक दिन हैन हरेक दिन आफ्ना अग्रजप्रति सम्मान र सद्भाव प्रकट गर्न सिकाएको छ।

अभिवादनशीलस्य नित्यं वृद्धोपसेविनः।

चत्वारि तस्य वर्धन्ते ह्यायुर्विद्या यशो बलम् ।।

हाम्रा रीतिरिवाज र चाडपर्व केवल साङ्केतिक द्योतक हुन् ।

मानवजातिलाई असल पथमा डोर्याउने प्रेरणाका स्रोत हुन्। कुशे औंशी चाडले पितृसम्मानको शिक्षा दिन्छ भने मातृ औंसीले मातृसम्मानको शिक्षा देखिन्छ। तीज र तिहारले दाजुबहिनी र दिदीभाईबीचको आत्मीयतालाई सुदृढ पार्ने शिक्षा दिन्छ। हाम्रा यस्ता अनेकौँ पर्व छन् ,जसले जीवन जिउनमा मद्दत पुर्याएका छन्।

तसर्थ हामीले यो बुझ्नुपर्छ कि , पिताको योगदानको कदर र सम्मान कुशे औँशीमा र माताको मातृ औँशीमा एक दिन सम्झेर ,मीठो खुवाएर मात्र हुने होइन।हरेक दिन आफ्ना कर्मले ,बावुआमालाई खुशी राख्न सक्नुपर्छ । आफ्ना कामले कुलको गरिमा बढाउन सके मात्र बावुआमाको सम्मान हुन्छ। तब मात्र यी दुई सूक्ति सार्थक हुन्छन् ।

मातृदेवो भव। पितृदेवो भव।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?